प्रकाशित : ११ जेष्ठ २०७६, शनिबार १७:३८


विराटनगर, ११ जेठ । मोरंगको बेलबारी नगरपालिकालाई सिमसारको नगरपालिका बनाउनका लागि विज्ञहरुले सुझाव दिएका छन् ।
सिमसार क्षेत्रको गुरुयोजना निर्माण गरेर नगरपालिकालाई बुझाउनु अगाडि जनप्रतिनिधिहरु गरिएको सुझाव संकलन कार्यक्रममा विज्ञहरुले बेलबारीमा रहेका सिमसारहरु छुटै प्रकृतिको रहेकोले सिमसार सुहाउदो वृक्षरोपण गर्नु पर्ने समेत जनाएका छन् ।
प्रा.डा. दामोदर थापा क्षेत्री, प्रा. डा. सोमप्रसाद खतिवडा, डा. भविन्द्र निरौला, डा. अर्जुन बराल, बरिष्ठ इन्जिनियर उमेश ओझा, रामचन्द्र अधिकारी, इ.उज्जल देव लगायतका बिज्ञहरुले बेलबारीको पर्यटनमा सिमसारको सम्भावना रहेको समेत बताएका छन ।
बेलबारीको पहिचानसँग जोडिएकाले सिमसार क्षेत्रमा बेलका विरुवा रोप्नु पर्ने सुझाव दिईएको कार्यदल सदस्य रामचन्द्र अधिकारीले बताउनुभयो । सिमसार तथा पार्क समेत एकै स्थान नराख्न बिज्ञको टोलिले सुझाव दिएका छन् ।
विज्ञहरुले दिएको सुझावका आधारमा नगरपालिकाले सिमसारको संरक्षण तथा पूर्वाधार निर्माण गर्ने नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनुभयो । वेलबारीका सिमसारलाई नगरले फरक पहिचानको बनाउन खोजेकाले सोही अनुसार गुरुयोजनामा समेट्न नगर उपप्रमुख ढाकाकुमारी पराजुलीले सुझाव दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहले सिमसार निर्माण गर्दा जिवजन्तुको संरक्षण हुनेखालेको गुरुयोजना बन्नुपर्ने बताउनुभयो । बेलबारीमा २१ वटा सिमसार रहेका छन् ।