Breaking News

विराटनगर, ८ जेठ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ मा भएको कारुणिक नरसंहारबाट आफ्नो ज्यान जोगाउन सफल १२ वर्षीय बालिका सीता खजुमको झापाको दमकमा उपचार भइरहेको छ ।

ज्यान जोगाउन भाग्ने क्रममा ठोक्किएर दाहिने हात भाँचिएपछि उनको लाइफलाइन अस्पतालमा उपचार भइरहेको हो । उनको सबै उपचार खर्च प्रदेश १ सरकारले बेहोर्ने भएको छ ।

दुई परिवारका नौ जनाको हत्या भएको घटनामा भागेर बाँचे पनि घाइते अवस्थामा रहेकी सीताको उपचार सरकारले गर्ने र उपचारमा कुनै कमी हुन नदिइने प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । क्रुर र बर्बरतापूर्वक घटना एवं अपराधिक, अमानविय तथा निन्दनीय हत्याले सबैलाई स्तब्ध बनाएको विज्ञप्तिमा उल्लेख छ ।

घटनामा संलग्न जो कोही अपराधीलाई कानुनको दायरामा ल्याएर कारवाही गर्ने प्रतिवद्धता पनि प्रदेश सरकारले जनाएको छ । घटनाको प्रभावकारी अनुसन्धानका लागि प्रहरीलाई आवश्यक निर्देशन दिइसकिएको मन्त्री कार्कीले बताउनु भयो ।

यही सोमबार राति बमबहादुर फियाक र धनराज शेर्माको परिवारका ९ जनाको हत्या गरिएको थियो । धनराज बमबहादुरका ज्वाई हुन् । बमबहादुरसहित पत्नी फुर्चीमाया फियाक, कान्छी छोरी मनकुमारी फियाक र नातिनी आसिका खजुमको हत्या भएको थियो । धनराजसहित पत्नी जस्मिता फियाक (शेर्मा), छोरीहरु युहाना शेर्मा, मुना शेर्मा तथा भतिजी इक्सा शेर्माको हत्या भएको थियो ।

भागेर ज्यान बचाएकी सीता बमबहादुरकी नातिनी हुन् । हात भाँचिएको र शरीरका अरु कुनै अंगमा चोट नरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

मानसिक रुपमा विक्षिप्त रहेकी बालिकाको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गएको अस्पतालले जनाएको छ । सीताले नकाव लगाएर आएका व्यक्तिले एकाएक खुकुरी प्रहार गर्न थालेपछि आफू भने भागेर बाँचेको बताएकी छन् ।

उपचाररत उनीसँग प्रहरीले घटनाका बारेमा सोधपुछ गर्ने र वयान लिने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३