प्रकाशित : ८ जेष्ठ २०७६, बुधबार १८:३८

विराटनगर, ८ जेठ । मस्तिष्कघातका कारण निधन भएका पूर्वकै लोकप्रिय बाल रोग विशेषज्ञ डा. विमल अग्रवालको विराटनगर–८ स्थित विश्रान्ती घाटमा आज दिउँसो अन्त्येष्टी गरिएको छ ।

दाहसंस्कारमा जनलहर उर्लियो । बरिष्ठ डाक्टरहरु, विराटनगर महानगरका मेयर, राजनैतिक दलका नेता, शैक्षिक क्षेत्रका व्यक्तित्व, आफन्त र शुभचिन्तकको बाक्लो उपस्थिति थियो । त्यस अघि उहाँको शवलाई श्रद्धाञ्जलीका लागि विराटनगर–९ स्थित घरमा राखिएको थियो । डा. अग्रवालको निधनमा विराटनगर स्तब्ध बनेको छ ।

परिवारका सदस्य, आफन्त, स्वास्थ्यकर्मी, चिकित्सक र शुभचिन्तक शोकमा डुबेका छन् । डा. अग्रवालको निधनसँगै विराटनगरको कोसी अस्पतालले तीन साताको अवधिमा दुई विशेषज्ञ चिकित्सक गुमाएको छ ।

यस अघि गत वैशाख १८ गते कोसी अस्पतालकै बरिष्ठ हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. मुकुन्द दाहालको निधन भएको थियो । त्यसको तीन सातामै अस्पतालले बरिष्ठ बाल रोग विशेषज्ञ डा. अग्रवाललाई पनि गुमाएको हो । मस्तिष्कघात भएपछि वैशाख २४ गतेदेखि नोबेल शिक्षण अस्पतालको भेन्टिलेटरमा राखेर अग्रवालको उपचार सुरु गरिएको थियो ।

उपचारमा संलग्न बरिष्ठ मुटु रोग विशेषज्ञ एवं नोबेलका निर्देशक डा. राजेश नेपालले धेरै प्रयास गर्दा पनि अग्रवाललाई बचाउन नसकिएको जानकारी दिनु भयो ।

नोबेल अस्पतालले गयराति १०ः५८ बजे डा. अग्रवालको निधन भएको जनाएको छ । उहाँ छात्तीमा समस्या आएपछि आफै कार हाँकेर उपचारका लागि नोबेल पुग्नु भएको थियो ।

तर उपचार सुरु गर्दा उहाँको ब्रेड डेड भइसकेको चिकित्सकले बताएका छन् । अग्रवालको उपचारमा डा. नेपाल, बरिष्ठ न्युरो फिजिसियन डा. डिल्लीराम काफ्ले, न्युरो सर्जन डा. प्रकाश काफ्ले लगायतका विशेषज्ञ चिकित्सक टोली खटिएका थिए । अग्रवाल ६ वर्षदेखि कोसी अस्पतालमा कार्यरत हुनु हुन्थ्यो ।

मिजासिला स्वभावका डा. अग्रवाल सबैसँग चाँडै घुलमिल हुने, दुःख परेकाहरुलाई सहयोग गर्ने र गरिबका छोरा छोरीको निःशुल्क उपचार गर्ने विशेषज्ञ चिकित्सकका रुपमा परिचित हुनुहुन्छ ।

उहाँको आवद्धता सामाजिक क्षेत्रमा पनि थियो । कोसी अस्पतालका बरिष्ठ हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. यज्ञराज खरेलले अग्रवालको निधनले स्वास्थ्य तथा सामाजिक क्षेत्रमा अपुरणिय क्षति पुगेको बताउनु भयो ।

अग्रवालकी पत्नी डा. कोपिला अग्रवाल विराट टिचिङ अस्पतालमा कार्यरत हुनु हुन्छ । अग्रवाल दम्पतिका १४ वर्षीय एक छोरी छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३