प्रकाशित : २७ बैशाख २०७६, शुक्रबार १५:५१


विराटनगर, २७ वैशाख । मुसा मार्न भनेर राखिएको विषादी खाँदा मोरङको लेटाङ नगरपालिका–९ मा १९ महिने नाबालकको मृत्यु भएको छ ।
स्थानीय दिलु बरालका नाबालक छोरा राजले मुसा मार्न पानीमा घोलेर थालमा राखेको विष अन्जानमा सेवन गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक योगराज खतिवडाका अनुसार विषादी घोलेर थालमा राखिएको पानी छोराले खाँदै गरेको अवस्थामा गत बुधबार दिउँसो १ बजेतिर आमा दिलुले देखेकी थिइन् । पानी खाएको केही बेरमै बिरामी परेपछि नाबालकलाई उपचारका लागि धरान लगिएको थियो ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो ।
उपचारका क्रममा गयराति नाबालकको मृत्यु भएको प्रहरीले जनाएको छ । कोसी अस्पताल विराटनगरमा शव पोस्टमार्टम गरेर आज दिउँसो परिवारको जिम्मा लगाइएको छ ।