प्रकाशित : २४ बैशाख २०७६, मंगलवार १५:०८

विराटनगर । सखुवासभाको छुङसुर–घङगोप्पाको १४ किलोमिटर क्षेत्रमा ट्रायाक खोल्न साथ मुलुकको दक्षिण पूर्वी नाका जोगवनी र पूर्वोत्तर नाका किमाथाङकालाई सडक मार्गले सिधा जोड्ने छ । “जोगवनी” नेपाल– भारत बीचको प्रमुख नाका हो भने “किमाथाङ्का” नेपाल–चीन–बीचको महत्वपूर्ण नाका हो ।

मुलुकै बहुप्रतिक्षित परियोजनाका रुपमा रहेको जोगवनी–किमाथाङ्का सडक मार्ग नेपालको उत्तर–दक्षिणको लाईफ लाईनको आधार मात्र नभएर विश्वकै ठूला अर्थतन्त्र भएका दुई ठूला मुलुक चीन–भारत व्यापारको छोटो सडक मार्ग समेत हुने छ । दक्षिणी सीमावर्ती बजार विराटनगर रानी (जोगवनी) देखि किमाथाङ्का सम्मको दुरी ३४० किलोमिटर मात्र रहेको यो मार्ग दुई ठूला छिमेकी मुलुक चीन र भारत जोड्ने महत्वपूर्ण सेतु बन्ने कुरा धेरैको बुझाई छ ।

प्रदेश नं १ को मात्र होइन, मुलुककै समृद्धिमा महत्त्वपूर्ण मानिएको योजना हो– “रानी –किमाथाङका” मार्ग । चीन,नेपल र भारत बीचको त्रिदेशीय व्यापारिक महत्त्वको यो सडक मोरङको रानीबाट सुरु भई सुनसरी, धनकुटा, तेह्रथुमका महत्वपूर्ण बजार र पर्यटकीय क्षेत्रहरु पार गर्दै संखुवासभाको किमाथाङ्कासम्म पुग्छ ।

कोसी अञ्चलका पाँच जिल्लाका थुप्रै बजार, बस्ति, र भीरपाखा पार गर्दै दक्षिण र उत्तरी नाका जोड्ने यो मार्गले आन्तरिक आवागमनलाई सहज तुल्याउनुका साथै नेपाल, चीन, भारत, भूटान र बग्लादेशको आपसी व्यापारको ढोका खोली प्रदेश नं १ लाई व्यापारिक हब बनाउन सहयोग पुर्याउने कुरा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेको बुझाई छ ।
यस क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि, प्रदेश नं १ को सरकार र संघीय सरकारले समेत उच्च महत्त्व दिएको यो सडक बनेपछि यस क्षेत्रको आर्थिक गतिविधि तीव्र रूपमा बढ्ने सरोकारवालाको बुझाइ छ ।

दुई छिमेकी मुलुक जोडिने यो सडकको मुख्य काम यसै आर्थिक वर्ष भित्र सक्ने घोषणा बजेट भाषाण मार्फत संघीय सरकारले गरेको थियो । तर छुङसुर–घङगोप्पाको १४ किलोमिटर क्षेत्रमा पर्ने चट्टानी पहाड फोड्न समस्या भएका कारण पुरै सडकको ट्रयाक खोल्ने काम अधुरै रहेको छ ।

उत्तर–दक्षिण कोसी सडक योजना खाँदबारीका प्रमुख गौतम कुमार श्रेष्ठका अनुसार ट्रयाक खोल्न बाँकी स्थानमा चट्टान पहाड र पहरा भएकाले विस्फोटक पदार्थ प्रयोग गनुपर्ने अवस्था छ । भोटखोला गाउँपालिको छुमसुर–घोङगोप्पा खण्डको १४ किलोमिटर क्षेत्रमा विस्फोटक पदार्थ प्रयोग गरी ट्रायक खोल्न साथ रानीदेखि किमाथाङ्का सडक मार्गबाट जोडिन्छ ।

“त्यसका लागि भारतबाट विस्फोटक पदार्थ खरिद गर्न प्रक्रिया अघि बढिसकेको छ । विस्फोटक पदार्थ खरिद गर्न भारतीय राजदुतावासबाट नो अब्जेक्सन लेटर समेत प्राप्त भईसकेको छ “योजना प्रमुख श्रेष्ठले भन्नुभयो– ‘सकेसम्म चाँडो काम सक्ने लक्ष्य छ ।” पहिले नेपाली सेना मार्फत विस्फोटक पदार्थ ल्याउने तयारी रहेपनि पछि सेनाले उपलब्ध गाराउन नसक्ने भएपछि ठेक्दार कम्पनी आफैले ल्यानुपर्ने अवस्था सिर्जना भएको हो । त्यसका लागि सडक निर्माणको ठेक्क पाएको निर्माण कम्पनीले गृहमन्त्रालयको स्वीकृति लिएर काम अगाडि बढाई सकेको पनि परियोजन प्रमुख श्रेष्ठले बताउनु हुन्छ । उक्त सडक निर्माणका लागि कञ्चजन जँग्गा, गजुरमुखी, मोतीदाना, शर्मा एपेक्स र कान्छाराम कन्स्ट्रक्सन कमम्पनीले काम गरिरहेका छन् ।

ट्रयाक खोल्न आवश्यक पर्ने विष्फोटक पदार्थ भण्डारणका लागि चेन्ताङमा जग्गा प्राप्त गरी बङ्कर निर्माणको प्रक्रिया अगाडि बढिसकेको छ । उक्त बंकरमा राखिएको विस्फोटक पदार्थको सुरक्षा नेपाली सेनाको एउटा टुकडीले गर्ने छ र त्यसका लागि रक्षामन्त्रालयले समेत निर्णय गरिसकेको छ ।

चेन्ताङमा बंकर निर्माण नहुञ्जेल खाँदबारीमै विस्फोटक पदार्थ भण्डारण गरेर आवश्यकता अनुसार लैजाने व्यवस्था मिलाइएको छ । तर खाँदबारीबाट छुङसुङ सम्म विस्फोटक पदार्थ लैजान सडकको समस्या रहेको छ । खाँदबारी देखि बरुणसम्मको ८० कि मी क्षेत्रमा गाडी आवत जावत गरेपनि त्यहाँबाट भने टयाक्टरमा लैजानुपर्ने भएकाले जटिल अवस्था रहेको परियोजना प्रमुख श्रेष्ठ बताउनु हुन्छ ।

दुई छिमेकी मुलुकको व्यापारिक नाकालाई जोड्ने यो मार्गको विराटनरको रानी देखि संखुवासभाको सदरमुकाम खाँदबारीसम्म कालोपत्रे भइसकेको छ । बीचका केही स्थानमा सडक बिग्रिए पनि त्यसलाई व्यवस्थित पार्ने काम भइरहेको उत्तर– दक्षिण कोसी योजना डिभिजन कार्यालय धनकुटाका प्रमुख दानकुमार शाक्य बताउनु हुन्छ ।

खाँदबारी देखि फाक्सिन्दा दोभावन सम्मको ४५ किलो मिटर सडक ग्रावेल भएको छ भने फाक्सिन्दा दोभान देखि बरुणसम्मको २७ किलोमिर सडक अपग्रेडिङ(स्तरन्नोती) का लागि ठेक्का लागि सकेको छ । घङगोप्पा देखि किमाथाङक सम्मको १४ किलोमिर क्षेत्रमा पनि ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । अब बीचको १४ किलोमिटरको ट्रयाक खुल्न साथ यो किमाथाङ्का जोडिने परियोजना कार्यालय खाँदबारीले जनाएको छ ।

यस मार्गको विराटनगर रानी देखि धरानसम्मको भाग ६ लेण्डको रुपमा विस्तार भईरहेको छ । धरान देखि हिलेसम्मको सडकको भाग भने केही साँगुरो रहेकाले भविश्यमा यसको विकल्प चतरा–बरहाक्षेत्र हुँदै अरुण नदीको किनारै किनार टुमलिङसम्मको सडक मार्गका लागि सर्वे भईरहको डिभिजन कार्यालय धनकुटाका प्रमुख शाक्य बताउनु हुन्छ । धरानको जिरोप्वाईन्ट देखि धनकुटासम्मको सडक बेलायत सरकारको सहयोगमा ३५ बर्ष अगाडि नै निर्माण भई पीच गर्ने कार्य सम्पन्न भएको हो । बाँकी सडक खण्ड भने नेपालको आफ्नै लगानीमा निर्माण भईरहेको छ ।

यस मार्गको खाँदबारी देखि बरुणसम्मको भागमा नौ वटा पुल निर्माण गर्नुपर्ने छ । जसमध्ये फाक्सिन्दो दोभानको पुल निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढिसकेको छ भने अरुण नदीमा निर्माण गरिने पुल डिजाइनको फ्रेजमा रहेको छ । बरुण देखि होङबुङसम्मको भागमा चारवट पुलको सर्वे डिजाईन भएको छ । अरुण नदीको किनारैकिनार चीनको तिब्बती सहर रियुमा जोडिने उत्तर–दक्षिण मार्ग बनिसकेपछि चीन र भारतको व्यापारिक ‘ट्रान्जिट’ बन्नेछ –नेपाल । सडक निर्माणले नेपालको व्यापार विस्तार मात्र हुनेछैन, उत्तर तथा दक्षिण सीमाबाट चीन र भारतका प्रमुख व्यापारिक सहर पनि छोटो दूरीबाट जोडिनेछन ।

किमाथाङकाबाट तिब्बती सहर ल्हासा र ठूलो व्यापारिक सहर सिगात्से पनि छोटो दूरीमा पर्ने भएकाले व्यापार विस्तारमा ठूलो सहयोग पुग्ने उद्योगीले बताउँदै आएका छन । किमाथङंका नाकाबाट चीनको व्यापारिक सहर सिगात्से करिब ३ सय किलोमिटर दूरीमा छ ।

किमाथाङका सडकका कारण नेपालबाहेक अरू चार मुलुकसमेत प्रत्यक्ष र अप्रत्यक्ष जोडिन सक्नेछन । अर्थशास्त्री डा. अर्जनु बराल किमाथांका सडक बनेपछि विराटनगरसँग चीन, भारत, भुटान र बंगलादेशबीचको व्यापार प्रत्यक्षरुपमा जोडिन सक्ने सम्भावना औंल्याउनु हुन्छ । “सरकारले राम्रो योजना बनाए काम गर्न सके प्रदेश नं १ चीनसँगको व्यापारमा सिधा जोडिन्छ ।

त्यसका लागि सडक निर्माणसँगै स्थानीय उत्पादनमा जोड दिनुपर्छ । उत्पादन बढाउन नसके यसले बढ्दो व्यापार घाटालाई थप सहयोग पुर्याउँछ ”– डा बराल भन्नुभयो ।

यो मार्गको दक्षिणी सीमा विराटनगरबाट भारतको कोलकाता नजिक पर्ने भएकाले पनि व्यापारिक महत्त्व बढ्नेछ । किमाथङ्का सडक निर्माणमालाई यस क्षेत्रका उद्योगी व्यवसायीले जोड दिँदै आएका छन् । उनिहरुले विभिन्न मञ्चहरुबाट यसको निर्माणमा सरकारलाई घचघच्याईरहेका छन् ।

‘नाका खुलेपछि प्रदेश १ को मात्र होइन, सिंगो मुलुककै लागि यो सडक कोसेढुंगा बन्ने मोरङ व्यापार संघका अध्यक्ष पवन सारडा बताउनु हुन्छ ।

उक्त नाकाबाट ठूला उद्योगका लागि कच्चापदार्थ ल्याउन सकिने र जडीबुटीलगायत स्थानीय वस्तु निर्यात गर्न सकिने सारडाको भनाइ छ । “ट्रयाक खुलेपछि साना सवारीसाधन सञ्चालन भएर दुई देशका नागरिकबीचको सम्बन्ध प्रगाढ हुनेछ,” दुबै देशका पर्यटकको आवगमन बृद्धि हुने र यसले होटल व्यावासायलाई समेत प्रवद्र्धन गरी नयाँ रोजगारीको ढोका खोल्छ”–अध्यक्ष सारडाले भन्नुभयो । यो दुई देशलाई जोड्ने छोटो दुरीको मार्ग हुने भएकाले दुबै देशका व्यावसायीहरु पानी जहाज र लामो दुरीको झन्जटिलो समस्याबाट मुक्त हुने उहाँको दाबी छ । “सिगापुर र हङकङ युरोप र एशियाको व्यापार गरेर सम्पन्न भएका हुने ।

हामी यो नाका खुले पछि चीन र भारत बीचको व्यापार गरेर समृद्ध बन्न सक्छौ ”– उहाँले भन्नुभयो ।

दुई धनी र विकसित मुलुक यो सडकमार्गबाट जोडिने भएकाले नेपालले पनि यसबाट फाइदा लिन सक्ने धेरै सम्भावना रहेको उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेको बुझाई छ । “ठूलो र शक्तिशाली दुई छिमेकी मुलकका बीचमा आपसी दरार पैदा हु्ँदा पनि यो नाकाले दुई ठूला देशको व्यापार सञ्चलनमा सहज हुुन्छ ।

अहिले भारत र चीनको व्यापार नाथुला नकाबाट भईरहेपनि त्यसले सिक्किमा चीनको गतिविधि बढ्ने हो कि भन्ने भय भारतलाई छ । तर नेपालको यो मार्ग बन्नसाथ भारतले चीनसँगको व्यापारका लागि यही नाकालाई महत्व दिन्छ ”– घिमिरले भन्नुभयो ।

परियोजना कार्यालय खाँदबारीका अनुसार सडक बनिसकेकाले हिँउदमा खाँदबारीबाट हटियासम्म यातायातका साधन चल्न सक्छन । बीचबीचमा रेखांकन विवाद, मकालु बरुण राष्ट्रिय निकुञ्ज र धार्मिकस्थल भएकाले विवाद देखिए पनि योजनाका तर्फबाट त्यसलाई समाधान गरी निर्माणको काम अघि बढाइएको परियोजना कार्यालय खाँदबारीका प्रमुख श्रेष्ठ बताउनु हुन्छ । यो मार्गको १६२ किलोमिर क्षेत्रमा मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्दछ ।

यो यस्तो मार्ग हो, जसले बाह्रै महिना सञ्चालनमा आउने चीनसँगको नकालाई जोड्ने छ । चीनसँग सीमा जोडिएका अधिकांश नाका हिउँ पर्ने सिजनमा सञ्चालनमा आउँदैनन् । तर, यो सबैभन्दा छोटो बाह्रै महिना सञ्चालन हुने सडक मार्ग हो ।

मुलुककै समृद्धिमा महत्वपूर्ण मानिएको यो मार्गको निर्माणलाई उद्योगी, व्यवसायी, राजनीतिक नेतृत्व र सर्वसाधारणले समेत उत्तिकै महत्व दिएर हेरिरहेका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३