प्रकाशित : २४ बैशाख २०७६, मंगलवार ०७:०३

विराटनगर २४ वैशाख । प्रदेश १ ले स्थायी राजधानीका रुपमा विराटनगर पाएको छ । प्रदेशसभाले मतदानमार्फत राजधानी टुंगो लागे पनि नामको विषय भने अन्योल नै रहयो ।

विराटनगरको पक्षमा परेको प्रस्तावलाई सोमबारको प्रदेशसभा बैठकले पारित गर्दै स्थायी राजधानी घोषणा गरेको हो । साँझ अवेर सम्पन्न मतदानमा सत्तारुढ नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले दर्ता गराएको विराटनगरको पक्षमा दुई तिहाई मत खसेको थियो ।
राजधानी विराटनगरको पक्षमा ८६ मत खसेको थियो ।

नेकपाको प्रस्तावको विपक्षमा मत खसेन । प्रदेश १ संसदमा ९३ सदस्य रहेका छन् । प्रदेशसभा सदस्यहरु कंग्रेसबाट ज्योति सुब्बा, प्रतापप्रकाश हाङगाम, अगमलाल चौधरी, नेकपाबाट गणेश काङमाङ, संघीय समाजवादी फोरमबाट रामचन्द्र लिम्बू र राधा थापा मतदानमा अनउपस्थित रहे ।

विराट बृहत क्षेत्र अन्तर्गतको विराटनगर, इटहरी र सुन्दरहरैँचामा कार्यालय रहेनछ भन्ने प्रस्ताव पनि दुई तिहाईबाट हुबहु पारित भयो । संसदमा दुईतिहाई रहेको नेकपाले दर्ता गराएको प्रस्तावमा ‘प्रदेश १ को राजधानी विराटनगर रहने छ’ भन्ने उल्लेख छ ।

त्यसको कैफियतमा ‘कार्यपालिका, व्यवस्थापिकालगायतका संरचनाहरु वृहत विराट क्षेत्र अन्तर्गत विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपासमा रहनेछ’ भन्ने उल्लेख गरेका कारण यसले भविष्यमा जुनसुकै बेला विवाद निम्त्याउन सक्ने सम्भावना छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगर राजधानी बनाउनुपर्छ भन्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको बताउनुभयो ।

‘राजधानीको टुंगो लागेको छ,’ उनले भने, ‘संरचनाका विषयमा अगामी दिनमा थप गृहकार्य र छलफल गरेर अघि बढ्ने छौं ।’ मन्त्री घिमिरेले सदनमा समेत राजधानीलाई केन्द्रीकृत गर्नु पर्ने, सदनसँगै कार्यपालिका, व्यवस्थापिका रहनुपर्ने आवाज आएकोले सरकार त्यसतर्फ गम्भीर रहेको र अन्य दलसँगकै सहमतिमा अघि बढ्ने बताउनुभयो । उहाँले पारित भएको प्रस्तावले भविष्यमा कुनै पनि विवाद ननित्याउने दाबी गर्नुभयोे ।

कांगे्रेस प्रदेशसभा सचेतक सुयर्माराज राईले सत्तारुढ नेकपासग भद्र सहमति भएपछि कांग्रेसले मतदानमा सहभागिता जनाएको बताउनुभयो ।

‘राजधानीसँगै संरचनाहरु पनि राखिनु पर्छ भन्ने हाम्रो माग थियो,’ उहाँले भन्नुभयोे, ‘नेकपासँग यस विषयमा भएको भद्र सहमति कायय हुन्छ भन्ने विश्वास छ ।’ राईले नेकपासँगको छलफल र सहमतिले दलहरुबीचमा थप विश्वासको वातावरण बनेको बताउनुभयो । आइतबार प्रदेशसभामा राजधानी तोक्न माग गर्दै विराटनगरको पक्षमा दुई र धनकुटाको पक्षमा दुईवटा प्रस्ताव दर्ता गरिएको थियो ।

आधिकारिक रुपमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसले विराटनगरको पक्षमा प्रस्ताव दर्ता गराएका थिए । नेकपाको तर्फबाट प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले दर्ता गराएको प्रस्तावको समर्थकमा सांसदहरु लिलम बस्नेत, राजकुमार ओझा, यशोदा अधिकारी, विजयकुमार विश्वास लगायत थिए ।

राजधानी विराटनगर र संरचना भने अन्यत्र लैजाने प्रस्ताव नेकपाले दर्ता गराएको भन्दै कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले विराटनगर स्थायी राजधानी हुनु पर्ने अर्को प्रस्ताव दर्ता गराएका थिए । कार्कीले संघीय समाजवादी फोरमका जयराम यादव र कांग्रेसका शिवनारायण गन्गाईको समर्थनमा प्रस्ताव दर्ता गराएका थिए ।

धनकुटा राजधानी प्रस्ताव गर्दै कांग्रेसकी लीला सुब्बाले दर्ता गराएको प्रस्तावको समर्थकमा कांग्रेसका प्रकाशप्रताप हाङ्गाम र रामचन्द्र लिम्बू समर्थक थिए । नेकपाकै निरन राईले दर्ता गरेको धनकुटा राजधानीको प्रस्तावमा नेकपाका इन्द्रमणि पराजुली र कुसुमकुमारी श्रेष्ठ समर्थक थिए । नेकपाले आधिकारिक रुपमा दर्ता गरेको बाहेक सबै प्रस्ताव सोमबार बसेको प्रदेशसभा बैठकमा फिर्ता भएका थिए ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३