प्रकाशित : २३ बैशाख २०७६, सोमबार १८:५०

विराटनगर, २३ बैशाख । प्रदेश १ को स्थायी राजधानीको संरचना विवाद छलफल र संवादका माध्यमबाट टुंगो लगाउने सहमति बनेपछि आज आब्हान गरिएको विराटनगर बन्द साँझबाट फिर्ता भएको छ ।

विराटनगरलाई एकीकृत रुपमा राजधानी बनाउनु पर्ने माग राखेर अर्थसास्त्री डा. भेषप्रसाद धमलाको संयोजकत्वमा दबाब समिति गठन गरेर अनिश्चितकालिन बन्दको आब्हान गरिएको थियो । दबाब समितिका सह–संयोजक एवं नेकपा केन्द्रीय सदस्य महेश रेग्मीले बन्द फिर्ता लिइएको जानकारी दिनु भयो ।

बन्द फिर्ता भएसँगै बजार र पसलहरु खुलेका छन् । यातायातका साधन सञ्चालन हुन थालेका छन् । बन्द र हड्तालका कारण कारण दिनभर बजार, पसल, कलकारखाना, शिक्षण संस्था, यातायात ठप्प रहेका थिए ।

प्रदेश १ को स्थायी राजधानी विराटनगर बनाइने र कार्यपालिका तथा व्यवस्थापिकालगायत अन्य संरचना बृहत् विराट क्षेत्र अन्तर्गत विराटनगर, इटहरी र सुन्दरहरैँचा आसपासमा निर्माण गर्ने प्रस्ताव नेकपाले प्रदेश सभामा हिजो दर्ता गरेपछि त्यसको विरोधमा आन्दोलन सुरु भएको थियो । प्रस्तावमाथि छलफल गर्न विराटनगरमा प्रदेशसभा बैठक जारी छ ।

राजधानीसँगै कार्यपालिका तथा व्यवस्थापिकालगायत अन्य संरचना विराटनगरमै हुनु पर्ने माग दबाब समितिको रहेको छ । समितिमा नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल, उद्योगी व्यवसायी, यातायात व्यवसायी, नागरिक समाज, विराटनगर महानगरपालिका, एन प्याब्सन, प्याब्सन लगायतका पदाधिकारी सदस्य रहेका छन् ।

समितिमा सत्तारुढ नेकपाका नेताहरु पनि रहेका थिए । यस विषयमा दिउँसो विराटनगरमा आन्दोलनरत पक्ष, प्रदेश सरकारका मुख्य मन्त्री तथा अन्य मन्त्रीहरु, नेकपाको प्रदेश कमिटीका नेता, अन्य दल, उद्योगी व्यवासायी, महानगरपालिकाका जनप्रतिनिधि र सरोकारवालाबीच सर्वपक्षिय र सर्वदलिय छलफल भएको थियो ।

छलफलका क्रममा मुख्य मन्त्री शेरधन राईले प्रदेशको राजधानी विराटनगर नै बनाउने र संरचना व्यवस्थित गर्ने कुरा छलफल र संवादमार्फत सहमतिका आधारमा टुंगो लगाउने आश्वासन दिएको रेग्मीले बताउनु भयो ।

राजधानीको विषयलाई लिएर अनेक आशंका र अन्यौलता पैदा भएका कारण आन्दोलन र छलफलका माध्यमबाट त्यसलाई चिर्ने प्रयास भएको उहाँको दाबी छ । यसैबीच विराटनरबाट संरचना अन्यत्र लैजान नहुने माग गर्दै प्रदेशसभा भवन अगाडि पनि प्रदर्शन गरियो ।

प्रदर्शन र नाराजुलुसमा विराटनगर महानगरपालिकाकी उपमेयर ईन्दिरा कार्की लगायत सहभागी थिए । नेता रेग्मीले विराटनगरको पक्षमा माहोल बनेपछि आन्दोलन फिर्ता गरेर दिपावली मनाउने तयारी गरिएको जानकारी दिनु भयो । उहाँले भन्नु भयो, ‘दिनभरको आन्दोलनलाई साँझ विजय उत्सवमा परिणत गर्ने तयारी भइरहेको छ ।’

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३