प्रकाशित : २० बैशाख २०७६, शुक्रबार १८:५६


विराटनगर, २० वैशाख । सत्तारुढ नेकपाको विराटनगरमा आज सम्पन्न बैठकले प्रदेश १ को राजधानी विराटनगर राख्ने तय गरेको छ । नेकपा हाइकमाण्डको बैठकले राजधानी विराटनगर राख्ने तय गरेको छ ।
नाम भने अर्को अधिवेशनले टुङ्गो लगाउने सहमति जुटेको बताइएको छ । बैठकपछि नेताहरूले लिखित रूपमा सहमतिपत्र तयार पार्दैछन् । जसमा राजधानी वृहत विराट क्षेत्रको विराटनगरमा हुनेछ ।
राजधानीको संरचना विराटनगर, इटहरी र गोठगाउँमा रहनेछ । राजधानीको संरचनामा कार्यपालिका र व्यवस्थापिका रहनेछ । तीन दिनदेखि प्रदेश एक संसदमा सहभागी दलका प्रतिनिधि र विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने नेकपा सांसदसँगको रायका आधारमा दलले अन्तिम निर्णय लिएको हो ।
नामका बारेमा भने पुनः विस्तृत छलफल गरेर सबैलाई मान्य हुने निर्णय आउने बताइएको छ । नेकपा संसदीय दलको बैठक भने आइतबार १ बजेलाई बोलाइएको छ ।