प्रकाशित : २० बैशाख २०७६, शुक्रबार १८:५२

विराटनगर, २० बैशाख । कोशी अञ्चल अस्पताल भित्र छुट्टै बर्थिङ सेन्टर निर्माण हुने भएको छ । अमेरिकी दुताबास अमेरिकी सेना लगायतको आर्थिक सहयोगमा बर्थिङ सेन्टर १ बर्ष भित्र सक्ने गरी निर्माण सुरु भएको हो ।

१२ करोडको लागतमा ३ कठ्ठा जमिनमा १ सय बेडको दुईतले बर्थिङ सेन्टर निर्माण सुरु भएको अस्पतालका मेसु डाक्टर रोशन पोखरेलले बताउनु भयो । सम्पूर्ण सुविधा सहितको बर्थिङ सेन्टर विराटनगरबासीलाई मात्र नभई पूर्व क्षेत्रका गरीब विपन्न वर्गका लागि सहज हुने अस्पतालले जनाएको छ ।

बर्थिङ सेन्टरको शिलान्यास गर्दे स्वास्थ्य मन्त्री उपेन्द्र यादवले नेपाल सरकारले स्वास्थ्य नीति पारित गरी सकेको जानकारी दिदै कोशी अस्पतालको सेवा सुविधा विस्तार गर्न संघीय सरकार लागि परेको बताउनु भयो । उहाँले अन्य कार्डियो लगायतका सेवाको बिस्तारका लागि महानगरपालिका र प्रदेश सरकारलाई जग्गा उपलब्ध गराउन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगर स्वास्थ्य क्षेत्रको हब बन्दै गएको बताउनु भयो । उहाँले कोशी अञ्चल अस्पताल जिर्ण भएको भन्दै यसको विकास र विस्तारमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

गरीब र विपन्न वर्गको अस्पताल भनेर चिनिएको कोशी अस्पताललाई टिचिङ अस्पतालको रुपमा विकास गर्नुपर्ने बताउदै स्थानीय सरकारको हैसियतले महानगरपालिका पनि सहयोग गर्न तयार रहेको कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताउनु भयो ।

पूर्व क्षेत्रको सबैभन्दा पूरानो कोशी अञ्चल अस्पतालमा दिनदिनै बिरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ ।

चालिस वर्षअघि निर्माण भएको सो अस्पताल तत्कालीन आवश्यकतालाई पूरा गर्न बनाइएको थियो भने अहिले जनसंख्या वृद्धिका कारण पूरानो भौतिक संरचनाले आवश्यकता पूरा गर्न कठिनाइ भइरहेको जनाएको छ ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३