Breaking News

विप्लवलाई मुल धारमा ल्याउने तयारी भइरहेको छ : गृहमन्त्री

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार १८:५९

विराटनगर, १२ बैशाख । गृह मन्त्री रामबहादुर थापाले सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपालाई मुल धारको राजनीतिमा ल्याउने तयारी भइरहेको जानकारी दिनु भएको छ ।

विराटनगरमा आज आयोजित प्रदेश १ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै थापाले विखण्डनकारी गतिविधी गर्ने सीके राउतको समूहलाई मुलधारमा ल्याइसकेको बताउँदै ढिलो चाँडो विप्लव समूहलाई पनि मुलधारको राजनीतिमा ल्याइने बताउनु भयो ।

त्यही अनुसारको तयारी सरकारले गरेको उहाँको भनाइ छ । ‘सीके राउतलाई मुल धारमा ल्याइयो,’ उहाँले भन्नु भयो , ‘अब सरकार प्रतिबन्धित विप्लव समूहमा केन्द्रीत भएको छ ।’ सरकारले प्रतिबन्ध लगाएपछि विप्लव समूहको गतिविधी पनि रोकिएको थापाको दावी छ ।

सरकारले वार्ताको बाटो पनि खुल्ला राखेका कारण विप्लव समूहको समाधानको एउटा मात्रै कडी वार्ता र सम्वाद नै भएको उहाँको भनाइ थियो ।

सामाजिक लगायत सबै खाले अपराध नियन्त्रण गर्न सरकारले अभियान चलाउने तयारी गरिरहेको जानकारी उहाँले दिनु भयो । हिसात्मक अपराध नियन्त्रण गर्न सरकारले सफलता प्राप्त गरिरहेको र अब सामाजिक अपराध नियन्त्रणमा पनि विशेष अभियान चलाउने गृह मन्त्री थापाको भनाइ छ ।

भूमिगत राजनीतिक गतिविधिको आवरणमा हुँदै आएका अपराधिक गतिविधिहरु नियन्त्रण गर्न सरकार सफल भएको दावी उहाँको छ । थापाले भन्नु भयो, ‘सरकारले अब घरेलु हिंसालगायतका सामाजिक अपराध नियन्त्रण गर्न विशेष कार्यक्रमहरू संचालन गर्ने छ ।’

संघीय सरकारले एक वर्षमा विकास र समृद्धिका लागि नीति बनाएर आधार तयार गरिसकेका कारण यही सरकारका पालामा दोहोरो अंकको आर्थिक वृद्धि हाँसिल हुने उहाँको दावी छ ।

बैठकमा गृह सचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्रका महानिरीक्षक शैलेन्द्र खनाल, प्रदेश १ का १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख लगायतका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३