Breaking News

तीन दिनभित्र दोषी पत्ता लगाउने सहमतिमा पथरी आन्दोलन स्थगित

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलवार १९:०२

विराटनगर, १० बैशाख । मोरङको पथरीमा भएको रिना बस्नेतको मृत्यु प्रकरणको ३ दिनभित्र सत्यतथ्य पत्ता लगाउने शर्तमा तत्कालका लागी आन्दोलन स्थगित भएको छ ।

आज बेलुका प्रशासन र संघर्ष समितिबीच भएको छलफलमा सो सहमति भएपछि तत्कालका लागी आन्दोलन फिर्ता भएको र सडकको अवरोध हटेको पथरीशनिश्चरे नगरपालिकाकी उपमेयर यमुना बिष्ट बाँस्तोलाले जानकारी दिनु भयो । घटनामा संलग्न भएको आरोपमा रिनाका प्रेमी भनिएका कमल नेपाल हिजो साँझ नै पक्राउ परिसकेका छन ।

प्रहरी र स्थानीय बासिन्दा बीच आज दिउँसो भएको झडपमा ५ जना स्थानीय घाइते भएका छन । सोही घटनामा टाउकोमा चोट लागी गम्भिर घाईते भएका स्थानीय गोपाल विक र सुदीप राई लाई उपचारका लागि विराटनगर लगिएको छ भने मन्जु पौडेल, जीतबहादुर लावती र ज्ञानेन्द्र विष्टको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय पथरी घेराउ गर्न गएको स्थानीयको भीडलाई तितरबितर पार्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन २० सेल भन्दा बढी अश्रु ग्यास प्रहार गर्नु परेको प्रहरीले जनाएको छ ।

नगरपालिकामा तालाबन्दी र घेराउपछि इलाका प्रहरी कार्यालय अघि रिना बस्नेतको हत्यारा सार्वजनिक गर्न माग गर्दै नारावाजी गर्ने क्रममा प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो । हिजोबाट सुरु भएको आन्दोलन आज भने थप अराजक बनेको हो । स्थानीय बासिन्दाले नगरपालिकाको गेट तोडफोड गरेका छन् ।

प्रहरी कार्यालयमा ढुंगामुडा पनि गरे । पूर्वपश्चिम राजमार्ग अवरुद्ध पार्दै यातायात सञ्चालन हुन दिएनन् । आफन्त र स्थानीय बासिन्दा कविता पराजुलीको संयोजकत्वमा संघर्ष समिति गठन गर्दै आन्दोलित बनेका हुन् ।

घटनाको गम्भीर रुपमा अनुसन्धान गरेर तीन दिनभित्र सत्यतथ्य पत्ता लगाउने सहमति भएको छ । पथरीशनिश्चरे १ मा बस्दै आएकी २९ वर्षीय रुपा भनिने रिना बस्नेतको शव डेरा बसेको घर मुनी गत शनिबार विहान निर्वस्त्र अवस्थामा फेला परेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले तीन तलामाथिबाट खसेका कारण उनको मृत्यु भएको निस्कर्ष निकालिरहेका बेला आफन्त र स्थानीय बासिन्दाले भने हत्या भएको दावीसहित आन्दोलन गरिरहेका हुन् ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३