Breaking News

निरन्तरको अभियानले बाल विवाह नियन्त्रण हुँदै

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलवार १४:१६

विराटनगर । मोरङ कटहरी ५ की सुनिता सरदार २६ बर्षकी भईन । उनी ३ जना छोराछोरीकी आमा भइसकीन् । पहिलो सन्तान उनको १० वर्षको छ ।

दोश्रो सन्तान ३ बर्षको र तेश्रो अढाई बर्षको छ । १६ बर्षमा विवाह गरेकी उनले एक वर्षमै पहिलो सन्तान भएको बताईन । उनका श्रीमान राजमिस्त्री हुन् । बुवा आमाले सानैमा विवाह गरिदिए उनले भनिन् । कक्षा २ भन्दा बढी पढ्न नपाएको उनले बताईन । ‘उमेर छिप्पेपछि तँलाई कसैले विहे गर्दैन भनेर बाल विहे गरिदिए’ सरदारले भनिन् । अस्थाई साधनबारे प्रर्याप्त जानकारी नहुँदा पनि १० बर्षको अवधि भित्र तीन सन्तान हुन पुगेको उनले बताईन् ।

चौथो सन्तानबारे केही नसोचेको उनले बताईन । बाल विवाह कसैले गर्ने थाहा भए गर्नु हुँदैन भनेर आफु पनि सम्झाउने गरेको उनले बताईन ।
कटहरी ५ की रेखा सरदार २० बर्षकी भइन ।

उनले २ बर्षअघि नै विवाह गरिन । उनको साथमा अहिले एक वर्षको वच्चा छ । घरमा बुवा आमाले विवाह गर्ने उमेर भएको छैन भन्दा भन्दै मनपराएको केटासँग विहे गरेँ उनले भनिन् । केटाले पनि विवाह गर्न कर गरेपछि घरपरिवारको सहमतिमै विवाह गरेको उनले बताईन । उनको श्रीमान बुढीगंगा ५ मा विद्युतको मिटर रिडिङ गर्ने काम गर्दछन् ।

 

कटहरी ५ कै राधिका सरदार अहिले १८ बर्षकी भईन । उनको साथमा २ बर्षको वच्चा छ । विवाह भएको एक वर्षमै वच्चा जन्माएको उनले बताईन् । कक्षा १० मा फेल भएपछि घरबाट विवाह गर्न कर गर्नुभयो उनले भनिन् ‘पास गरेको भए विहे हुन्थेन ।’
कटहरी ५ की शुशिला सरदार १७ बर्षकी भईन । उनको साथमा अढाई बर्षको वच्चा छ । निरक्षर रहेकी उनले आफ्नो बालविवाह भएको नै थाहा नभएको बताईन ।

साविक भौंडाहा गाविस हाल कटहरी गाउँपालिकाको ५ नं. मा पर्दछ । यहाँका अधिकांशले सानैमा विवाह गरेका छन् । विवाह भएको एक बर्ष भित्रैमा उनीहरुले बच्चा जन्माईसकेका छन् । सोही स्थानकी एक बालिकाले भने वच्चा जन्माउन नसक्दा ज्यानै पनि गएको स्थानीय सुमन सरदारले बताए ।

छोरीको उमेर धेरै भयो भने विवाह हुँदैन होला भन्ने डरका कारण पनि बाल विवाह गर्ने गरेको स्थानीय लीला सरदारले बताईन । पहिले जे भएपनि अहिले सानैमा विवाह गर्नु हुँदैन भनेर आमा समूहरु पनि लागिपरेको उनले बताईन । शिक्षाको कमीका कारण बाल विवाह बढी हुने गरेको स्थानीय बुद्धिजीवि वीरेन्द्र सरदारले बताए । बालिकालाई शिक्षा दिए बाल विवाह आँफै घट्ने उनको तर्क छ । जनचेतनाको कमीका कारण बाल विवाह हुने गरेको उनले बताए ।

करिव ९० प्रतिशत दलित बसोबास रहेको कटहरी ५ मा अधिकांशले बाल विवाह गरेका छन् । पछिल्लो समय पनि लुकीछिपी रुपमा बाल विवाह भईरहेको छ । कटहरीमा विवाह हुन नसके भारतमा लगेर समेत विवाह हुने गरेको वडाध्यक्ष धनस्याम सिंहले बताए । उनका अनुसार विगतको तुलनामा बाल विवाह गर्नेको संख्यामा धेरै कमी आएको छ ।

वल्र्डभिजनको सहयोगमा नारी विकास संघले नियमित रुपमा बाल विवाह नियन्त्रण अभियान चलाएपछि बाल विवाह गर्ने क्रम घटेको वडाध्यक्ष सिंहले बताए । उनले भने,‘ हामी वडालाई बाल विवाहमुक्त बनाउन प्रतिबद्धता जनाएको छौं, केही समयपछि घोषणा गर्ने तयारीमा छौं ।’ स्काई क्लव र रुपान्तरण कक्षाका कारण पनि बाल विवाह गर्ने र गराउने क्रम घटेको वडाध्यक्ष सिंहले बताए ।

कटहरीमा विगतको तुलनामा बाल विवाह गर्ने तथा गराउने क्रम घटेको नारी विकास संघ विराटनगरकी फिल्ड अफिसर सिरिना रोक्काले बताईन । उनले भनिन्,‘ पहिले धेरै हुने गरेपनि अहिले त्यस्तो अवस्था छैन ।’

वल्र्ड भिजनको सहयोगमा शुरु गरिएको बाल विवाह नियन्त्रण अभियान निकै प्रभावकारी भएको नारी विकास संघकी कार्यक्रम संयोजक सरिता अधिकारीले बताइन । उनका अनुसार मोरंगका ५ वटा स्थानीय तहका ८ वटा वडामा बाल विवाहमुक्त बनाउने अभियान झण्डै एक बर्षदेखि जारी छ ।

निरन्तरको अभियान प्रभावकारी भएको उनले बताईन । एक वर्षको अभियानको सफलताका रुपमा वडाहरु बालविवाह मुक्त घोषणा हुन थालेका छन् । ग्रामथान १ र २ बाल विवाहमुक्त घोषण भएको कार्यक्रम संयोजक अधिकारीले बताईन । अन्य वडाहरु पनि घोषणाको तयारीमा रहेको उनको भनाई छ ।

विगतको तुलनामा अहिले बाल विवाहका घटना कम आउने गरेको प्रहरी चौकी थलाहाका प्रहरी जवान रमेश पन्तले बताए । पहिले धेरै आउने गरेपनि अहिले निकै कम भएको उनले बताए ।

बाल विवाह नियन्त्रणका लागि रुपान्तरण कक्षाले पनि प्रभावकारी भूमिका खेलेको कक्षाका लिडर अनिल सरदारले बताए । किशोर किशोरीको व्यक्तित्व विकासका लागि सञ्चालित रुपान्तरण कक्षाका कारण बाल विवाह हुने लागेको वा भएको कुरा अगाडी नै थाहा हुने उनको भनाई छ ।

विवाह पुर्वनै थाहा भएपछि यसको नियन्त्रणमा योजना बनाउन र संवन्धित निकायमा खवर गर्न सकिने उनले बताए ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३