प्रकाशित : ९ बैशाख २०७६, सोमबार १७:२२

विराटनगर, ९ बैशाख । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा बस्दै आएकी २९ वर्षीय रुपा भनिने रिना बस्नेतको मृत्यु प्रकरण थप पेचिलो बनेको छ ।

तेह्रथुम घर भई पथरी बजारमा डेरा गरेर बस्दै आएकी रिनाको हत्या नभई तीन तलामाथिबाट लडेर मृत्यु भएको प्रहरीको प्रारम्भिक निस्कर्ष छ ।

यद्यपी पोस्टमार्टम रिपोर्ट भने आइसकेको छैन । आफन्त, स्थानीय बासिन्दा र व्यवसायीले भने रिनाको हत्या नै भएको र घटना भएको तीन दिनसम्म पनि प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै आन्दोलन थालेका छन् । उनीहरुले तत्काल सत्यतथ्य पत्ता लगाई घटनामा संलग्नलाई पक्राउ गरेर कारवाही अघि बढाउन माग गरेका छन् । आन्दोलनका कारण पथरी बजार तनावग्रस्त बनेको छ ।

आज विहानैदेखि प्रहरी र प्रशासन विरुद्ध नारावाजी गर्दै आन्दोलन सुरु भएपछि अवस्था असामान्य बनेको हो । आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दाले पूर्व–पश्चिम राजमार्ग ठप्प पारेका छन् ।

१२ बजेबाट राजमार्गमा टायर बालेर प्रदर्शन सुरु गरिए पनि त्यसलाई नियन्त्रणमा लिन र राजमार्ग सूचारु गर्न प्रहरीले सकिरहेको छैन । आन्दोलनकारी र प्रहरीबीच सामान्य झडप समेत भएको छ । अवस्था थप तनावपूर्ण हुने देखिएपछि ठाउँ–ठाउँबाट प्रहरी परिचालन गरिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिनु भयो ।

घटनाका विषयमा गम्भीर रुपमा अनुसन्धान थालिएको र शवको पोस्टमार्टम रिपोर्ट आएपछि सबै यथार्थ पत्ता लाग्ने उहाँको भनाइ छ । घटनाको अनुसन्धान थालेको प्रहरीले रिनाले प्रयोग गर्ने मोबाइलका बारेमा पनि अनुसन्धान थालिसकिएको जनाएको छ । अहिलेसम्म हत्या नै हो भन्ने पुष्टि भइनसकेको र घटनामा कोही कसैको संलग्नता नदेखिएको एसपी केसीको भनाइ छ ।

मृतक रिनाका पति वैदेशिक रोजगारीमा छन् । कस्मेटिक पसल सञ्चालन गर्दै आएकी उनी १४ वर्षीय छोरासँगै पथरीमा डेरामा बस्थिन् । गत शुक्रबार साँझ छिमेकीको नानीको जन्मदिन मनाउन गएपछि छोरासँगै उनी पथरीमा आयोजित कन्सर्ट हेर्न पुगेको खुलेको छ । राति फर्किएपछि कोठामा मदिरा सेवन गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले उनको कोठाबाट वियरका बोतलसमेत फेला पारेको छ । वीरबहादुर बस्नेतको घरको तीन तलामाथि डेरा बस्ने उनको शव शनिबार विहान डेरा बसेकै घरको मुनी निर्वस्त्र र घोप्टो परेको अवस्थामा फेला परेको थियो ।

शवको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरिएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३