प्रकाशित : ४ बैशाख २०७६, बुधबार १९:०७

विराटनगर ४ बैशाख । जिल्ला प्रहरी कार्यालय मोरङले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई लक्षित गरेर बुधबारदेखि सेवा प्रवाह कार्ड सिस्टम लागू गरेको छ ।

यस सिस्टम लागू भएसँगै प्रहरीबाट प्रदान गरिने सेवा प्रभावकारी हुने दावी गरिएको छ । प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजालले जिल्ला प्रहरी कार्यालय मोरङमा जनप्रतिनिधि, नागरिक अगुवा एवं बुद्धिजिवी समेतको उपस्थिति रहेको कार्यक्रममा यसको शुभारम्भ गरे । मोरङमा नमूना र अभ्यासको रुपमा लागू गरिएको सेवा प्रभाव कार्ड प्रदेशका १४ वटै जिल्लामा लागू गरिने उहाँले बताउनुभयो ।

यसले प्रहरी र नागरिकबीचको सम्बन्ध थप प्रगाढ बनाएर समाजमा हुने अपराध नियन्त्रण र अनुसन्धानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको रिजालको भनाइ छ ।

विगतका दिनहरूमा प्रहरी कार्यालयहरुमा बिचौलिया हावी भएको भन्दै उनले शुन्य सहनशीलता अपनाएर प्रहरी कार्यालयबाट त्यस्ता बिचौलियालाई पूर्ण रूपमा नियन्त्रण गर्न पनि सेवा प्रवाह कार्डले सहयोग गर्ने बताउनुभयो ।

मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार यो नियम लागू भएसँगै सेवा लिन प्रहरी कार्यालयमा आउने सेवाग्राहीले आफ्नो समस्या अनुसारको कार्डको प्रयोग गर्न सक्ने छन् ।

सेवा कार्ड वितरण गर्न मोरङ प्रहरीको प्रवेशद्धार नजिकै सम्पर्क कार्यालय स्थापना गरिएको छ । ‘सेवा प्रवाह कार्ड पाँच प्रकारका छन्,’ केसीले भन्नुभयोे, ‘सेवा लिन आउने सेवाग्राहीले आफ्नो समस्या अनुसारको कार्ड रोजेर सेवा लिन पाउने छन् ।’ कार्डका कारण अरु कोही कसैको सहयोग र सहारा बिनै सेवाग्राहीले कार्यालयमा आएर सेवा लिन सक्ने जानकारी उहाँले दिनुभयो ।

सेवाग्राहीले प्रहरी हिरासतमा रहेका थुनवाहरूलाई भेट्नका लागि रातो कार्ड प्रयोग गर्नु पर्ने छ । त्यस्तै कार्य शाखामा सेवा लिन पहेंलो, महिला तथा बालवालिका शाखामा सेवा लिन सेतो, उजुरी छानविन शाखाका सेवा लिन निलो र अपराध अनुसन्धान शाखाको सेवा लिन हरियो रंगको कार्ड तयार पारेर प्रयोगमा ल्याइएको जानकारी एसपी केसीले दिनुभयो ।

‘सेवाग्राहीले आफूले चाहेको कुन सेवा हो त्यो रोजेर प्रहरी कार्यालय भित्र गएर सहज रूपमा सेवा लिन पाउनेछन्,’ उहाँले भन्नुभयोे, ‘कार्ड अनुसारको कुन शाखामा के सेवा लिने त्यो पनि प्रहरी कार्यालयको ढोकामा लेखिने छ र नबुझ्नेलाई प्रहरीले सहयोग गर्ने छ ।’

कार्डमा विभिन्न रंगको प्रयोग गरिएका कारण पढ्न नजान्ने सेवाग्राहीले पनि त्यही कार्डको सहयोगमा सेवा लिन सक्ने उहाँको भनाइ छ । एसपी केसीले प्रहरी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको अभिलेखिकरण गर्न पनि यो सेवा सूचारु गरिएको बताउनुभयो ।

जनप्रतिनिधिले पनि प्रहरीले नयाँ कार्यक्रमको सुरुवात गरेको भन्दै स्वागत गरेका छन् । विराटनगर महानगरपालिका–५ का वडा अध्यक्ष मीनकुमार आचार्यले यो सेवाका कारण जनप्रतिनिधि र प्रहरीबीचको सम्बन्ध विस्तारमा पनि सहयोग पुग्ने बताउनुभयो ।

‘विगतमा सेवा लिन प्रहरी कार्यालयमा पुग्ने सर्वसाधारणले सहज ढंगले सेवा लिन सकिरहेका थिएनन्,’ उहाँले भन्नुभयोे, ‘अब त्यो असहजता हटेर सर्वसाधारण लाभान्वित हुने छन् ।’ सेवाग्राही मैत्री प्रहरीको यो सेवा नेपालमै नौलो र विशेष भएको आचार्यको भनाइ छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३