प्रकाशित : ४ बैशाख २०७६, बुधबार १९:०१


विराटनगर, ४ वैशाख । मोरंगका दुई वटा स्थानीय तहमा आज विपद्का समयमा खोज तथा उद्धारका लागि प्रयोग हुने सामाग्री हस्तान्तरण गरिएको छ ।
नेपाल विपद् पुर्व तयारी परियोजना र वल्र्ड भिजनको सहयोगमा नारी विकास संघ विराटनगरले बुढीगंगा र कटहरी गाउँपालिकामा सो सामाग्री वितरण गरेको हो ।
गाउँपालिकालाई एयर सिलिण्डर, रेगुलेटर, रेगुलेटर पाईप, नियन्त्रण वाकस, एयर व्याग, एयर व्याग पाईप लगायत गरि करिव १ लाख २२ हजार बराबरको सामाग्री वितरण गरिएको नारी विकास संघ विराटनगरकी कार्यक्रम संयोजक सरिता अधिकारीले जानकारी दिनुभयो ।
खोज तथा उद्धारका लागि प्रयोग हुने सामाग्री विराटनगर महानगरपालिका र ग्रामथान गाउँपालिकामा हस्तान्तरण गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।
सामाग्री हस्तान्तरण गर्नुपुर्व जनप्रतिनिधि तथा विपद् फोकल पर्सनलाई प्रयोग गर्ने तरिका बारे वल्र्ड भिजनका विपद् जोखीम न्युनीकरण कार्यक्रम संयोजक विवेक कार्कीले जानकारी गराउनु भएको थियो ।
सामाग्री ग्रहण गर्दै बुढीगंगा गाउँपालिका प्रमुख बालचन्द्र माझी र कटहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकरण गणेश कार्कीले विपद्को समयमा धेरै सहयोग पुग्ने बताउनु भयो ।