Breaking News

पोखरिया माविमा ५ गुणा बढीले प्रवेश परीक्षा दिए

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार १६:०८

विराटनगर, २७ चैत । कतिपय सामुदायिक विद्यालयहरु विद्यार्थी अभावमा मर्ज भईरहेका बेला विराटनगरको पोखरीया माविमा भने विद्यालयले निर्धारण गरेको कोटा भन्दा पाँच गुणा बढी विद्यार्थीले प्रवेश परीक्षाका लागि आवेदन फारम भरेका छन् ।

४ सय ३ नयाँ विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षामा दुई हजार ७७ विद्यार्थीले फारम भरेका छन् । भर्नाका लागि आवेदन फारम भरेका मध्ये कक्षा ६–९ सम्मको प्रवेश परीक्षा आज भएको छ ।

कक्षा ३–५ सम्मको र प्राविधिक धार तर्फको प्रवेश परीक्षा भोली हुनेछ । नेपाली माध्यममा पठन पाठन हुँदै आएको उक्त विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदै गएपछि शैक्षिक गुणस्तर सुधार गर्ने भन्दै २०७० साल देखि अँग्रेजी माध्यमबाट पनि पठन पाठन सुरु गरिएको हो ।

अँग्रेजी माध्यमको पठन पाठनसँगै विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएको विद्यालयका शिक्षक महेश गौतमले बताउनुभयो ।

सुरुमा कक्षा ६ र ७ बाट अँग्रेजी माध्यमको पठन पाठन सुरु गरेको उक्त विद्यालयले अहिले कक्षा १–१० सम्ममै अँग्रेजी माध्यममा कक्षा सञ्चालन गर्दै आएको छ ।

सुरुका केही बर्ष विद्यालयले अँगे्रजी माध्यमको कार्यक्रमबारे सञ्चार माध्यममार्फत विज्ञापन गरेपनि यो बर्ष देखि त्यस्तो केही गर्न नपरेको अर्का एक शिक्षकले बताए । विद्यालयले कक्षा ९–१२ सम्म कम्प्युटर इन्जिनियरिङको अतिरिक्त प्लस टु तर्फ व्यवस्थापन र शिक्षा बिषयको कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यस बर्ष देखि प्लस टु तर्फ विज्ञान विषयको पनि पठन पाठन सञ्चालन गर्ने तयारी भईरहेको विद्यालयले जनाएको छ । हाल एक हजार ७ सय ९५ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा यस बर्ष ३ सय १२ जना विद्यार्थी एसइइ परीक्षामा सहभागि भएका थिए ।

पोखरीयासँगै विराटनगर महानगरपालिका भित्रका आदर्श, सत्यनारायण, गोग्राह, जनपथ, सरस्वती, राधाकृष्ण भूपालमान सिंह मावि लगायत माध्यमिक र आधारभुत तहका झण्डै तीन दर्जन विद्यालयहरुले अँगे्रजी माध्यममा पठन पाठन सुरु गरेका छन् । विराटनगर महानगरपालिका शिक्षा महाशाखा प्रमुख रुद्र दुलालका अनुसार अँग्रेजी माध्यममा कक्षा सञ्चालन भएका अधिकांस विद्यालयमा विद्यार्थीको चाप पनि बढ्दै गएको छ ।

विराटनगर स्थित आदर्श र सत्यनारायण माविले पनि केही दिन नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा सम्पन्न गरेका छन् । जसमध्ये आदर्श उच्च माविले ३ सय २६ जना नयाँ विद्यार्थी भर्नाका लागि लिएको प्रवेश परीक्षामा एक हजार ८५ जना विद्यार्थी सहभागि भएका थिए । हाल उक्त विद्यालयमा प्राविधिक धार, प्लस टु समेत गरेर दुई हजार दुई सय विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रअ तुलसी दुलालले बताउनुभयो ।

आदर्श माविले पलस टु तर्फ विज्ञान, शिक्षा र व्यवस्थापन विषयको पठन पाठन गराउँदै आएको छ । यस बर्ष उक्त विद्यालयबाट २ सय २ जना विद्यार्थी एसइइमा सहभागि भएका थिए ।

त्यस्तै सत्यनारायण माविले पनि केही दिन अघि १ सय ५० नयाँ विद्यार्थी भर्नाका लागि लिएको प्रवेश परीक्षामा ५ सय विद्यार्थी सहभागि भएका थिए । उक्त विद्यालयमा प्राविधिक धार र प्लस टु तर्फ समेत गरेर हाल एक हजार पाँचसय विद्यार्थी अध्ययनरत रहेका छन् । उक्त विद्यालयबाट यस बर्ष २ सय ८ विद्यार्थी एसइइमा सहभागि भएको विद्यालय प्रअ धर्मानन्द खरेलले बताउनुभयो ।

यसरी अधिकांस सामुदायिक विद्यालयले अँग्रेजी माध्यमयमा पठन पाठन सुरु गरेपछि साना लगानीका निजी विद्यालयहरु भने संकटमा पर्ने निजी विद्यालय सञ्चालकहरु बताउँछन् ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३