Breaking News

कोशीका चिकित्सकको आन्दोलनले बिरामीलाई सास्ती

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार १५:५७

विराटनगर २७ चैत । कोशी अञ्चल अस्पताल विराटनगरमा लगातार तीन दिनदेखि चिकित्सकले ओपीडी (बहिरंग विभाग) सेवा बन्द गरेर आन्दालन गरिरहेका कारण बिरामीलाई सास्ती भएको छ ।

उपचारका लागि अस्पताल पुग्ने बिरामी दैनिक उपचार नपाएर घर फर्कनु परिरहेको छ । अस्पताललाई संघीय सरकार मातहतमा लगिएको र विशेषज्ञ चिकित्सकलाई भने प्रदेशमा समायोजन गरिएको भन्दै चिकित्सक आन्दोलित बनेका हुन् ।

स्वास्थ्य सेवा नै ठप्प पारेर चिकित्सकले आन्दोलन थालेपछि बिरामी मार्कामा परेको उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुँगेलले बताए । गत सोमबारबाट अस्पतालको ओपीडी सेवा बन्द छ ।

उपचार र स्वास्थ्य परीक्षणका लागि पूर्जा काट्न गएका बिरामी चिकित्सकको आन्दोलनका कारण त्यत्तिकै घर फर्कनु परिरहेको छ । अस्पतालबाट दैनिक एक हजार पाँच सय बढीले ओपीडी सेवा लिंदै आएको आन्दोलनका कारण स्वास्थ्य परीक्षण र उपचारका लागि आएका बिरामी मार्कामा परेका छन् ।

यस सरकारी अस्पतालमा आर्थिक अवस्था कमजोर भएका र असहाय बिरामी उपचारका लागि बढी आउँछन् । त्यस्ता बिरामीलाई सरकारले विशेष छुटको व्यवस्था गरेको छ ।

अस्पताललाई संघीय सरकार मातहतमा लैजाने निर्णय फागुन ३ गते भए पनि अधिकांश विशेषज्ञ चिकित्सकको समायोजन भने प्रदेशमा हुँदा यस्तो अवस्था आएको हो ।

प्रदेशकै ठूलो सरकारी अस्पतालका रुपमा सेवा दिइरहेको कोसी समायोजनका कारण विशेषज्ञ चिकित्सकविहीन हुने अवस्थामा पुगेको छ । पाँच जना बाहेक अन्य सरकारी विशेषज्ञ चिकित्सकको समायोजन भने प्रदेशमा भएको छ । अस्पताल र सीमित विशेषज्ञ चिकित्सकलाई संघ तथा अधिकांश विशेषज्ञ चिकित्सकलाई प्रदेशमा पारिंदा अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवा प्रभावकारी बन्न नसक्ने ढुँगेलले बताउनुभयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन एवं बरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रोशन पोखरेल, बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. मुकुन्द दाहाल, यज्ञराज खरेल, बरिष्ठ कन्सलटेन्ट सर्जन सुनिलचन्द्र अधिकारी, नाक कान एवं घाँटी रोग विशेषज्ञ अनिता जिसी, बरिष्ठ बाल रोग विशेषज्ञ रामनारायण चौधरी, प्रकाश राना, महिला रोग विशेषज्ञ अन्जु देव, फिजिसियन दिनेश न्यौपाने, मनोज ठाकुर लगायतका अधिकांश चिकित्सक समायोजनका क्रममा प्रदेशमा परेका छन् ।

नवौं तहमाथिका सरकारी विशेषज्ञ चिकित्सकको ठूलो समूहलाई प्रदेशमा समायोजन गरेर अस्पताललाई भने संघ अन्तर्गत लैजानु व्यवहारिक नभएको भन्दै आलोचना हुन थालेको छ ।

फिजिसियन डा. दिपक सिग्देल, लक्ष्मीनारायण यादव, बरिष्ठ महिला रोग विशेषज्ञ डा. संगीता मिश्र, कन्सलटेन्ट सर्जन रविनराज सिंह, रवि वस्ताकोटी समेतका सीमित चिकित्सक भने समायोजनका क्रममा संघमै परेका छन् ।

अस्पतालमा ८५ जना सरकारी चिकित्सकको दरबन्दी छ । जसमा करारका मेडिकल अफिसरसहित ६० जना कार्यरत छन् । ती मध्ये ९ औं तह माथिका ३० जना विशेषज्ञ चिकित्सक छन् । अस्पताल विकास समितिबाट २५ जना चिकित्सकलाई नियुक्ती दिएर काममा लगाइएको छ ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका उप–सचिव गोपी घिमिरेले समायोजनका क्रममा विशेषज्ञ चिकित्सक जति प्रदेशमा पठाएर अस्पताललाई चैं संघमा लैजाँदा भोलीका दिनमा अस्पतालबाट प्रवाह हुने सेवा सञ्चालनमा अप्ठेरो पर्ने बताउनुभयो ।

घिमिरेले त्यसै पनि प्रभावकारी सेवा प्रवाह गर्न नसकेको भनेर सरकारी अस्पतालका बारेमा अनेक टिका टिप्पणी भइरहेको अवस्थामा विशेषज्ञ चिकित्सकलाई प्रदेशमा समायोजन गरिंदा थप जटिलता आउन सक्ने बताउनुभयो ।

पहिले अस्पताल प्रदेश मातहतमै रहेको र संघमा लैजानु अघिको समायोजन भएका कारण पनि अधिकांश विशेषज्ञहरु प्रदेशमै परेको हुन सक्ने उहाँले बताउनुभयो । वर्षौदेखि काम गरिरहेका विशेषज्ञ चिकित्सक भने समायोजनपछि प्रदेशमै जाने कि राजीनामा दिने भन्ने दोधारमा परेका छन् ।

अस्पतालको नाक, कान एवं घाटी रोग विशेषज्ञ अनिता जिसीले संघीय सरकारले विशेषज्ञ चिकित्सकले वर्षौदेखि दिएको सेवाको कदर गर्नु पर्ने ठाउँमा हतारमा सहमतिविपरीत निर्णय गरेको बताउनुभयो । उहाँले आफूहरुको आन्दोलनमा सहयोग गर्न र मुद्दालाई सबैको साझा समस्याका रुपमा अघि बढाउन अन्य चिकित्सकलाई पनि आग्रह गर्नुभयो । बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. यज्ञराज खरेलले जनताको विश्वास जितेका डाक्टरलाई संघले नै चलाउनु पर्ने बताउनुभयो ।

दरबन्दीअनुसार डाक्टर नपाइरहेका बेला भएका विशेषज्ञ चिकित्सक पनि समायोजनमा अन्यत्र परेपछि अस्पताल लथालिंग हुने देखिएको अस्पतालका एक कर्मचारीले बताउनुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३