प्रकाशित : २५ चैत्र २०७५, सोमबार २१:१९


विराटनगर, २५ चैत । विराटनगरमा जारी राष्ट्रिय अपाङ्ग महासंघको नयाँ नेतृत्व चयनका लागि भोली विहान मतदान हुने भएको छ ।
सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि भएको प्रयास सफल नभएपछि मतदानबाट नेतृत्व चयन गरिने भएको हो । ४३ सदस्यीय केन्द्रिय समितिका लागि ९३ जनाको उम्मेदवारी परेको छ ।
१० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । अध्यक्षमा नेकपामा राम कार्की र मित्रलाल शर्मा र नेपाली काँग्रेसका गणेशबहादुर केसीवीच प्रतिष्पर्धा हुने भएको छ । नेकपाका शर्मा शिक्षक पेशामा रहेको भन्दै उम्मेदवारी खारेजीका लागि निवेदन परेपनि निर्वाचन समितिले बदर गरिदिएको छ ।
लाभको पदमा नरहेकाले उम्मेदवारी बदर नगरिएको निर्वाचन समितिले जनाएको छ । शर्माको उम्मेदवारी कायमै रहेपछि अध्यक्षमा तीन जना वीच प्रतिष्पर्धा हुने भएका हो । उपाध्यक्ष (शारिरीक) तर्फ रमेश लामा र पदमबहादुर परियारले उम्मेदवारी दिएका छन् । उपाध्यक्ष महिलामा इन्द्रमायाँ गुरुङ र रमा ढकाले उम्मेदवारी दिनु भएको छ ।
उपाध्यक्ष महिलामा देवी आचार्यले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत सीता पौडेलले जानकारी दिनुभयो । विद्युतिय भोटिङ मेसिनबाट भोली विहान ८ वजेदेखि मतदानको कार्यक्रम राखिएको उहाँले बताउनुभयो ।
अधिकारवादी संस्थामा दलगत प्रतिष्पर्धा हुने देखिएपछि अपाङ्गता भएका व्यक्तिहरुले गुनासो गरेका छन् । उनीहरुले यसले राम्रो सन्देश नदिने बताएका छन् । राष्ट्रिय महाधिवेशनमा ७७ जिल्लाका ६ सय ३१ जना प्रतिनिधि सहभागि भएका छन् ।