प्रकाशित : १९ चैत्र २०७५, मंगलवार १८:४५


विराटनगर, १९ चैत । १ नम्बर प्रदेश सरकारले आउदो हप्ताभित्र सबै कर्मचारीको समायोजन प्रक्रिया पूरा गर्ने जनाएको छ ।
प्रदेशका प्रमुख सचिव केदार न्यौपानेले हालसम्म प्रशासन सेवा लेखा समूहको समायोजन प्रक्रिया सकिएको र सामान्य प्रशासन समूह, राजस्व समूहको पनि प्रक्रिया अगाडि बढेको बताउनु भयो ।
कर्मचारी समायोजन प्राथमिकताका साथ भइरहेको बताउँदै न्यौपानेले संघीय सरकारबाट सम्पूर्ण सेवा समूह, उपसमूहको कर्मचारीको एकीकृत विवरण नपठाएको कारण समायोजनको काममा ढिलाइ भएको पनि बताउनु भयो । प्रदेशले कृषि समूह, वन सेवा, शिक्षा सेवा तथा प्राविधिक सेवाका कर्मचारी समायोजनको काम भने अझै सुरु गर्न सकेको छैन ।
प्रदेशमा संघीय सरकारबाट ३ हजार ५ सय कर्मचारीको प्राप्त हुने अपेक्षा गरेको बताउँदै न्यौपानेले अपुग कर्मचारी र प्रदेश सरकारले स्थापना गर्ने कार्यालयको विषयमा सर्भेको काम सुरु भएको बताउनु भयो ।
सर्भेपछि प्राप्त विवरण अनुसार संघीय लोकसेवा आयोग तथा प्रदेश लोकसेवा आयोग मार्फत छिटो बाटोबाट कर्मचारी भर्ना गरिने न्यौपानेको भनाइ छ ।
न्यौपानेले प्रदेशको नीति योजना र कार्यक्रम लागू गर्ने काम समायोजन सकिएलगत्तै द्रुततर गतिमा अगाडि बढ्ने पनि बताउनु भयो ।