प्रकाशित : १७ चैत्र २०७५, आईतवार १८:०२


विराटनगर, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजको वास्तविक हिरो मदन भण्डारी भएको बताउनुभएको छ ।
आफ्नो जिवन गएको २५ वर्षपछि पनि जननेता भण्डारीले लिएका सोच र विचार अनुसारै देशले नयाँ बाटो प्राप्त गरेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले उहाँको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्नुभयो ।
मोरङको उर्लाबारी नगरपालिका –३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनियरिङ कलेजको उद्घाटन, प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र साधारणसभाको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले जननेता भण्डारीको विचार अनुसारै अहिलेको शासन प्रणाली स्थापित भएको उल्लेख गर्नुभयो ।
कोही मानिसले नबुझेर र स्वार्थका कारण विरोध गरेपनि जननेता भण्डारीको विचार अनुसारै अब देशको सुशासन र विकाश हुने बताउनुभयो ।
मदन भण्डारी स्मृति प्रतिष्ठानको विकाशका लागि संघीय, प्रदेश र स्थानीय तह तीनवटै सरकार एकभएर लाग्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले यस संस्थाको विकाश नै समाजको विकाश हो भन्नुभयो ।
यस संस्थामा अध्ययन गर्ने भाईबहिनीहरु इञ्जिनियर र प्राविधिक भएर निष्कने भएकाले नै संस्थाको विकाश नै समाजको विकाश हो भन्नुभयो । शिक्षाको गुणस्तरमा कुनै सम्झौता गर्न नहुने बताउँदै प्रधानमन्त्री ओलीले शिक्षामा राजनीतिक रंग देखाउन नहुनेमा जोड दिनुभयो ।
अनुहार हेरेर काम गर्ने परिपाटी अन्तय गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले संस्थाको लेखाप्रणाली स्वच्छ र पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले सरकारले आयोजना गरेको लगानी सम्मेलनको सफलतापछि अब यही आर्थिक वर्षभित्रै युवाहरुलाई ध्यानमा राखेर युवाहरुको व्यापक सहभागितामा अन्र्तराष्ट्रिय खोज, अध्ययन एवम् अनुसन्धान सम्मेलन आयोजना गर्ने जानकारी दिनुभयो ।
सो क्रममा १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राई, प्रदेशका मन्त्रीहरु, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. १ का इन्चार्ज भिम आचार्य लगायतको पनि सहभागिता रहेको थियो । रासस