प्रकाशित : १३ चैत्र २०७५, बुधबार १७:५१

विराटनगर, १३ चैत । अनेरास्ववियु र नेविसंघबीच दोहोरो झडप हुँदा मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ स्थित सुकुना बहुमुखी क्याम्पसमा आज तनावग्रस्त बन्यो ।

विहान ८ बजेटबाट सुरु भएको झडपका कारण झन्डै दुई घण्टा क्याम्पस परिषर रणमैदान बन्न पुग्यो । प्रहरीले हस्तक्षेप गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो ।

झडपमा परेर नेविसंघका चार नेता घाइते भएका छन् । नेवि संघ ३ नम्बर क्षेत्रीय सभापति होमनाथ पोखरेल, नेविसंघ क्याम्पस इकाई सभापति विजय तोलाङ्गी, सचिव समीर सम्राट र सदस्य जीवन बस्नेत घाइते भएको क्याम्पस प्रशासनले जनाएको छ ।

नोबेल अस्पतालमा उपचारका लागि ल्याइएका घाइते मध्ये तोलाङ्गीको टाउकोमा ६ वटा टाँका लगाइएको छ । क्याम्पसका प्राध्यापकहरुले अन्यत्र पनि पठन पाठन गराएर दोहोरो सुविधा लिने गरेको भन्दै त्यसको विरोधमा गत फागुन २० गतेदेखि सुकुना क्याम्पसमा नेविसंघले आन्दोलन गरिरहेको छ ।

नेविसंघ सुकुना बहुमुखी क्याम्पसका पूर्व सभापति सुमन ढकालले क्याम्पसका प्राध्यापकहरुले लिइरहेको दोहोरो सुविधाको विरोधमा आन्दोलन गर्दा अखिल सम्बद्ध विद्यार्थीले अवरोध गरेपछि दोहोरो झडप भएको बताउनु भयो ।

उहाँका अनुसार सुकुना क्याम्पसमा प्राध्यापन गर्ने १५ जना प्राध्यापकले अन्यत्रका क्याम्पस र सरकारी विद्यालयमा पनि पढाएर दोहोरो सुविधा लिइरहेका छन् ।

उहाँले शिक्षकले लिंदै आएको दोहोरो सुविधा तत्काल बन्द गर्नु पर्ने आफूहरुको माग रहेको बताउनु भयो । अखिलका क्याम्पस कमिटी अध्यक्ष मिलन बस्नेतले नेविसंघले पठन पाठन अवरुद्ध गर्दै आन्दोलन थालेपछि त्यसो नगर्न आग्रह गर्दा झडपको स्थिति उत्पन्न भएको बताउनु भयो । क्याम्पस प्रमुख लक्ष्मीकुमार श्रेष्ठले नेविसंघले पूर्व जानकारी बिनानै क्याम्पसमा धर्ना दिएर पठन पाठन बन्द गराउँदै आन्दोलन थालेको बताउनु भयो ।

क्याम्पसका प्राध्यापकहरुले दोहोरो सुविधा नलिएको उहाँको भनाइ छ । सरकारको लगानी नै नभएको क्याम्पसमा पढाउँदा लिने सुविधा र अन्यत्र काम गर्दा लिने अतिरिक्त सेवा शुल्कलाई जोडेर दोहोरो सुविधाको नाम दिंदै शैक्षिक वातावरणमै असर गर्ने गरी लामो समयदेखि आन्दोलन भइरहेको श्रेष्ठको भनाइ छ ।

क्याम्पस प्रमुख श्रेष्ठले क्याम्पसमा भएको असामान्य गतिविधीको अन्त्यका लागि बिहीबार सर्वपक्षिय बैठक र छलफलको आब्हान गरिएको जानकारी दिनु भयो । सुुकुना क्याम्पस प्रशासनले भने घटनापछि नेविसंघका केन्द्रीय सदस्य किशोर कार्कीले क्याम्पस प्रमुख श्रेष्ठलाई फोन गरेर धम्क्याउने र गालीगलौज गर्ने काम गरेको बताएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३