प्रकाशित : १० चैत्र २०७५, आईतवार १८:४४

विराटनगर, १० चैत । पूर्वाञ्चल विश्व विद्यालयमा सरकारले राजनैतिक हस्तक्षेप गरेको भन्दै कांग्रेसले आन्दोलन थालेको छ ।

पूर्वाञ्चल विश्वविद्यालय कार्यकारी परिषद्ले नियुक्त गरेका पदाधिकारी र सेवा आयोगले वैधानिक ढंगबाट लिन खोजेको परीक्षामाथि सरकारले ठाडो हस्तक्षेप गरेको भन्दै नेपाली कांग्रेस मोरङ आन्दोलित बनेको हो ।

विश्वविद्यालयको ऐन र नियम भित्र रहेर नियुक्ति प्रक्रियाहरु भइरहेको र सेवा आयोगले आफ्नो नियमित कार्य गरिरहेको अवस्थामा विश्व विद्यालयका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीको आदेशमा हुँदै आएको परीक्षा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्थगित गरेको भन्दै कांग्रेस विरोधमा उत्रिएको छ ।

प्रधानमन्त्रीको निर्देशनमा सहकुलपति समेत रहेका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेले गत चैत ५ गते पदाधिकारी नियुक्ति तथा परीक्षा स्थगित भएको परिपत्र विश्वविद्यालयलाई गर्नु भएको थियो ।

परिपत्रको विरोधमा उत्रिएको कांग्रेस मोरङले विश्व विद्यालयको प्राज्ञिक स्वतन्त्रता र स्वायत्ततामाथिको हस्तक्षेप भएको निष्कर्ष निकालेको छ । कांग्रेसले मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीमार्फत विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्णय तत्काल सच्याउन आग्रह गर्दै आज ज्ञापनपत्र बुझाएको छ ।

निर्णय नसच्याए चरणवद्ध आन्दोलन थाल्ने कांग्रेसले जनाएको छ । पार्टीका जिल्ला सभापति डिगबहादुर लिम्बूले बुझाएको ज्ञापन पत्रमा निर्णय तत्काल सच्याउन माग गरिएको छ ।

कांग्रेसका नेता कार्यकर्ता सरकार विरोधी नारावाजी गर्दै ज्ञापन पत्र बुझाउन गएका थिए । दुई सदस्यीय मात्रै कार्यकारी परिषद् रहेको विश्वविद्यालयमा गत पुस अन्तिम साता समन्वय महाशाखाका प्रमुख राजेश झालाई सह–रजिस्ट्रार एवं डिनमा गोपाल शर्मा र कोमल दुलाललाई नियुक्ति गरिएको थियो ।

त्यही विषयमा विवाद हुँदा कांग्रेस निकट प्राध्यापक संघ इकाई समितिले विश्वविद्यालयको केन्द्रीय कार्यालय, उपकुलपति प्राडा घनश्याम लालदास, रजिस्ट्रार प्रमिला थापा सह–रजिस्टार राजेशकुमार झासहित प्रशासन र लेखा शाखामा तालाबन्दी गरेको छ । तालाबन्दी यथाव छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३