Breaking News

फाइनलमा नेपाल पराजित

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार १८:२७

विराटनगर, ८ चैत । पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा भारतसँग नेपाल पराजित भएको छ ।

विराटनगरस्थित सहिद रंगशालामा आज भएको अन्तिम प्रतिस्पर्धामा ३–१ गोल अन्तरले नेपाललाई स्तब्ध बनाउँदै भारत पाँचौं पटक साफ च्याम्पियन बनेको हो । सन् २०१० बाट सुरु भएको प्रतियोगिता पाँचौं पटक भारतले उचाल्दा कुनै पनि टिमले रोक्न सकेनन् । पहिलो, दोस्रो, तेस्रो र पाँचौं संस्करणमा नेपाल उपविजेतामा खुम्चियो ।

चौथो संस्करणको उपविजेता बंगलादेश पनि सेमिफाइनलबाटै बाहिरियो । चिरप्रतिद्धन्द्धी भारत सधैं नेपालको च्याम्पियन हुने सपनामा बाधक बनिरहयो । आजको खेलमा २६ औं मिनेटमा डालिमा छिब्बरको लगभग ३५ यार्ड टाढाको फ्रिकिक प्रहारले पोष्टको दिशा लिंदा भारत अघि बढेको थियो ।

त्यसको ७ मिनेटमै नेपालले जवाफी गोल फर्कायो । ३३ औं मिनेटमा सावित्रा भण्डारीको हेडर बलले जाली चुम्दा नेपाल खेलमा फर्किएको थियो । १–१ गोलको बराबरी अवस्थामा पहिलो हाफ सकिएको थियो । भारतको तुलनामा मध्यान्तरपछि फिक्का प्रदर्शन गरेको नेपालको अन्तत उपाधि उचाल्ने योजनामा फेरी भारत बाधक बन्यो ।

६२ औं मिनेटमा अनमार्क रहेकी भारतकी ग्रेस दाङ्मेले गोल गर्दै खेललाई २–१ को अवस्थामा पुर्याइन । सन्ध्या रंगननाथनलाई विस्थापन गर्दै ६३ औं मिनेटमा मैदान छिरेकी अन्जु तामाङले गोल गर्दै भारतको जित ३–१ गोल अन्तरले निश्चित गरिन् । भारतसँग फाइनलमा चौथो हार बेहोरेको नेपालले फाइनलमा गरेको प्रदर्शन विर्सन लायक बन्यो ।

घरेलु मैदान र दर्शकको राम्रो समर्थन पाए पनि विपक्षी खेलाडीलाई मार्क गर्न नसक्दा नेपाल चुकचुकाउन पर्यो । भारतका स्ट्राईकरमाथि कुनै पनि दबाब सिर्जना गर्न नसक्दा र उनीहरुलाई रोक्ने प्रयास नहुँदा नेपाल उपाधिबाट बिमुख बनेको हो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३