Breaking News

सबैलाई स्वच्छ पिउने पानी

रामचन्द्र अधिकारी प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार १२:०३

कोही पनि स्वच्छ पिउने पानीबाट वञ्चित हुन नपरोस भन्ने मूल नारा लिएर यस वर्षको पानी दिवस विश्वभर आज अर्थात् मार्च २२ तारिखमा मनाइदै छ ।
सफा पिउने पानी मानिसको नैसर्गिक अधिकार हो । सबैले यो सुविधा पाउनुपर्छ । तर आज पनि करिब २७ प्रतिशत मानिस सफा पिउने पानीको सेवामा आउन सकेका छैनन् ।

खानेपानीको राम्रो प्रवन्ध भएकाहरुले पनि सफा तथा कीटाणुरहित पानी नपाएको परिस्थिति छ । सन् १९९२ मा रियो दि जेनेरियोमा भएको संयुक्त राष्ट्रसंघको वातावरण र विकाससम्बन्धी सम्मेलनले पानी दिवस मनाउनका लागि सिफारिस गरेको थियो । पछिल्लो साल अर्थात् १९९३ मा भएको संयुक्त राष्ट्रसंघको महासभाले पानी दिवस सोही सालदेखि मनाउने निर्णय गरेको हो । हाल विश्वभर पानी मनाइन्छ र यसपालि यो दिवसको २६ औँ संस्करण हो ।

पहिल्यैदेखि भनिएको थियो कि २१ औँ शताब्दीमा पानी पाउनका लागि संघर्ष गर्नुपर्ने हुन्छ । अधिकांश ठाउँमा पिउने पानीको अभाव हुने,उपलब्ध भएका ठाउँमा पनि शुद्ध नहुने,पानीका कारण लाग्ने रोगको संख्या र प्रकोपमा वृद्धि हुने जस्ता प्रसस्त समस्या आउने भविष्यवाणी विगतमै गरिएका थिए । सोहीअनुसारका परिणामहरु त देखिनै रहेका छन् । पानीका मुहानहरु सुक्ने हराउने गर्नाले वास्तवमा पानी संरक्षण ठूलो चुनौति बनेको छ ।

तिव्र जनसंख्या वृद्धि भएसँगै पानीमा चुनौति थपियो । आजको अवस्थामा विश्वका दुई अर्ब १० करोड मानिस सुरक्षित पिउने पानीबाट वञ्चित छन् । दिगो विकासको लक्ष्य–६ ले भन्छ– सन् २०३० पछि यस्तो समस्या रहँदैन । सबै मानिस पिउने पानीको सेवा क्षेत्रभित्र पर्छन् । तर, लक्ष्यमा पुग्न सजिलो भने देखिएको छैन ।

उद्योगधन्दा,घरबस्ती,खेतीपाती आदिबाट निस्कने ८० प्रतिशत पानी सोझै प्रकृतिमा फालिने गरेको छ जसले गर्दा प्रकृतिको गर्भमा रहेको पानी दूषित बनिरहन्छ । संसारका एक अर्ब ८० करोड मानिस फोहोर पानी त्यसमा पनि दिसाको अंशमिश्रित पानी पिउन बाध्य छन् । असुरक्षित पानी र फितलो सरसफाइका कारण हरेक वर्ष करिब आठ लाख ४२ हजार जना मान्छे मर्ने गरेका विश्व स्वास्थ्य संगठनको सन् २०१४ को तथ्यांक छ ।

संयुक्त राष्ट्रसंघका विभिन्न बैठकहरु,जनसंख्या र विकास सम्बन्धीका विभिन्न संस्थाहरुका सभाहरुले हिसाब निकालेका छन् कि सन् २०५० सम्ममा विश्व जनसंख्या दुई अर्ब बढ्नेछ तर पानीको माग हालभन्दा ३० प्रतिशतले बढ्नेछ । अहिलेकै अवस्थामा पनि करिब एक अर्ब ८० करोड मानिस मरुभूमिकरणको जोखिममा छन् । तिनीहरुलाई निकट भविष्यमा पानी संकट आइलाग्न सक्छ ।

पृथ्वीको ७५ प्रतिशत भाग पानीले ओगटेको भएपनि किन पानी अभाव हुने ? एउटा तर्क रहन्छ । जवाफ जटिल छैन– जति पानी छ त्यसको करिब ३ प्रतिशत मात्र खास प्रयोगमा आउनसक्छ ।

तीन प्रतिशत चाहिँ लवण कम भएको फ्रेस पानी हो जसलाई पिउन र अरु घरायसी,औद्योगिक र कृषि कर्ममा प्रयोग गर्न सकिन्छ । ९७ प्रतिशत पानी समुद्रमा छ त्यसलाई पिउनको लागि उपयोगी बनाउन धेरै खर्च लाग्छ । सिँचाइमा पनि उपयोगी मानिदैन । अनि जति फ्रेस पानी छ त्यसको पनि ३० प्रतिशत त भूमिगत नै छ ।

भूमिगत पानीलाई उपयोग गर्न उर्जाको आवश्यकता पर्छ । आज संसारको पानी प्रयोगको स्थिति हेर्ने हो भने सिँचाइमा ६९ प्रतिशत,उद्योगमा २० प्रतिशत,घरायसी प्रयोगमा १० र पिउनका लागि एक प्रतिशत भएको पाइन्छ । यति कम मात्रामा चाहिने भएपनि आज मानिस काकाकुल भन्ने अवस्थामा आइपुगेको छ ।

वातावरणमा पुर्याइएको क्षति,जलवायु परिवर्तन,विकास निर्माण, वन विनास,औद्योगिकरण,अव्यवस्थित बसोबासजस्ता कुराहरुले प्रकृतिलाई चुनौति दिइरहेका छन् ।

जब प्रकृतिमा दोहन गरिन्छ तब पानीका स्रोत हराउने हुन् अनि पानी चक्रमा समेत उथलपुथल आइदिन्छ । विकासोन्मुख देशहरुमा तिब्र गतिमा विकासका कामहरु भइरहेका छन् । विकास छिटो र छरितो अनि कम बजेटमा गर्ने उद्देश्य लिएर काम गर्दा वातावरण विनास भएको मानिसले थाहा पाएका छैनन् ।

एकैचोटि नकारात्मक परिणाम देखिएपछि चेत खुल्छ÷खुल्दैछ । सडक निर्माणको कामले संसारमै धेरै वन विनास भएको छ र पानीका मुलहरु सुकेका छन् ।

घर घरमा पानी पुर्याउने कार्यले एकातिर विकासको प्रत्याभूति त दिएको छ नेपालकै सन्दर्भमा पनि, तर एउटा मूलको पानी थुनेर घरतिर सोझ्याउँदा त्यसको तल्लो क्षेत्रमा पर्ने कतिवटा मूल सुक्छन् भन्ने कुराको हेक्का कमैलाई होला । प्राकृतिक रुपमा रहेको सो मुहानबाट उत्सर्जित पानीले कति जग्गालाई सिँचित गरेर,सिमसार बनाएर वातावरण शुद्धिकरणमा भूमिका निर्वाह गरेको हुन्थ्यो । त्यसले कति मात्रामा भूमिगत पानीको आयतनमा वृद्धि गराइदिन्थ्यो ।

त्यो मुलको पानीबाट प्राकृतिक रुपमा पानी छानिएर अरु धेरै मुलहरु तल्लो भागमा उम्रिएका हुन्थे । ती पनि सुकेको अवस्था छ । यस्तो समस्या नेपालजस्तो देशमा धेरै देखिएको छ । संसारमा जति सिमसार क्षेत्र थिए त्यसको करिब ७० प्रतिशत सन् १९०० देखि यता नै मासिएका हुन् ।

जति मासिए अधिकांश चाहिँ मानवीय गतिविधिकै कारण भन्ने निष्कर्ष छ । यसर्थ विकासले जलस्रोतलाई विनास गरिरहेको स्थिति हो ।
वायु प्रदूषणका कारण अम्लीय वर्षाले स्थान पाएको छ । अम्लीय वर्षाले गर्दा जलभण्डार समेत अम्लीय बन्न पुगेको छ जसले पानीलाई पिउन नहुने वा हानिकारक बनाएको छ ।

भूउष्णिकरण वा पृथ्वीका तापमानमा वृद्धिले गर्दा जलभण्डारको रुपमा रहेको हिमालको हिउँ पग्लिने क्रम तिब्र्र छ । पहाडका टुप्पामा रहेको ठोस पानी विस्तारै रसिएर मधेशका मैदानमा बस्ने मानिसलाई समेत पिउने पानीको स्रोत बन्न सकेको थियो । तर हिउँ पर्ने क्रम घट्दै आएको र भएको हिउँ पनि छिटै पग्लिनाले समस्या आएको छ । जलवायु परिवर्तनका कारण आजकाल जलचक्र नराम्ररी प्रभावित बनेको छ । समयमा पानी नपर्ने,लामो खडेरी लाग्ने,एकै दिन धेरै पानी पर्ने,मनसुनमा गडबडी आउने जस्ता समस्या देखिएका छन् । भूमिगत पानीको प्रमुख स्रोत आकाशको पानी नै ।

अधिकांश मानिसको पिउने पानीको स्रोत भूमिगत पानी नै हो । तसर्थ वर्षा नियमित भइदिएन भने भूमिगत पानी बन्न सक्दैन । अनि त आजकाल नेपालकै तराई क्षेत्रमा हिउँदमा ट्यूववेलमा पानी सुकेका खबरहरु आइरहेका छन् । जब एकैदिन धेरै पानी पर्छ भने सो पानी सोसिँदैन, बगेर अनि उडेर जान्छ ।

हिमालमा हिउँ जम्न नपाएपछि पूरै जलाधार क्षेत्रमा बाह्रमासे मुलहरु सुक्छन्, साना नदीहरु सुख्खा बनिदिन्छन्,भूमिगत पानी पनि प्रसस्त बन्न सक्दैन अनि त पिउने पानीको हाहाकार हुन्छ ।

यसको सुरुआत भइसकेको स्थिति हो । तराईमा विद्युतिकरणसँगै सिँचाइका लागि भूमगित पानी मोटर लगाएर तान्ने प्रवृति औधी बढेको छ । यसबाट कृषिमा र किसानको आर्थिक स्थितिमा केही सुधार भएको अवस्था हो तर भूमिगत पानीको नाश पनि हो । यो क्रमलाई रोक्न सरकारले पिउने पानीबाहेक अरु प्रयोजनमा बोरिङ गर्नुपरे सरकारसँग अनुमति लिनुपर्ने नियम बनाएको छ ।

तथापि यो निष्प्रभावी जस्तो भएको छ । प्रकृतिमाथिको दोहनको कारणले गर्दा पानीमा असर परेको छ भन्ने विश्वका वैज्ञानिकहरुको ठहर हो ।
सबै मानिसलाई पिउने पानीको प्रवन्ध मिलाउन का लागि सरकार तथा गैह्रसरकारका संस्थाहरुले लाग्नुपर्ने देखिन्छ । स्वच्छ पानी नभएमा जीवन रहन सक्दैन भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।

ramchandra.adhikari@gmail.com

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३