Breaking News

उपाधिका लागि नेपाल र भारत भिड्ने

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १८:४६

विराटनगर, ६ चैत । विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ ।

आगामी शुक्रबार साफको फाइनलमा चौथो पटक घरेलु मैदानमा नेपालले भारतको सामना गर्दै छ । आज भएको पहिलो सेमिफाइनल खेलमा श्रीलंकालाई ४–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइलमा पुगेको हो ।

दिउँसो भएको दोस्रो सेमिफाइनल खेलमा साविक उपविजेता बंगलादेशलाई ४–० गोल अन्तरले निराश बनाउँदै चारै पटकको साफ विजेता भारतले पनि उपाधिका लागि नेपालसँगको भेट पक्का गरेको हो । श्रीलंकामाथि पहिलो हाफमा एक गोल र दोश्रो हाफमा तीन गोल गर्दै नेपाल उपाधि नजिक पुगेको छ ।

नेपालको जितमा पुनम जर्गा मगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले समान एक/एक गोल गरेका छन् । एकपक्षीय खेलको ४२ औं मिनेटमा डिबक्स भित्र अनमार्क रहेकी पुनम जर्गा मगरले पहिलो गोल गरिन् ।

कप्तान निरु थापाको बाइसाइकिल किकलाई सावित्रा भण्डारीले फ्लिक हेड गर्दा मिलेको पासमा मगरले बललाई पोष्टको दिशा दिएकी थिइन । त्यसपछि पनि पटक पटक नेपाली टोलीले श्रीलंकामाथि दबाव बनाउने क्रम जारी राखेको थियो । पहिलोहाफ सकिँदा नेपाली टोली १–० ले अग्रता बनाउन सफल भएको थियो । जित हात पारेको नेपालका लागि बाँकी तीन गोल दोश्रो हाफमा सम्भव भयो ।

त्यस्तै दोस्रो सेमिफाइनल खेलमा अहिलेसम्मकै शक्तिशाली मानिएको टिम भारतले बंगलादेशलाई पराजित गर्यो । सन्तुलित खेल पस्किए पनि चौथो संस्करणमा भारतसँग हार बेहोरेर उपविजेतामा चित्त बुझाएको बंगलादेशको उपाधि यात्रामा पाँचौं संस्करणमा पनि भारत बाधक बन्यो । भारतको जितमा इन्दुमाती काथिरसानले दुई तथा डालिमा छिब्बर र मनिषाले एक÷एक गोल गरे । भारतले डालिमा छिब्बरको गोलमार्फत १६ औं मिनेटमै खेलमा अग्रता लिएको थियो । सन्जु यादवको कर्नर प्रहारलाई बंगलादेशकी गोलरक्षक रुप्ना चक्माले क्लियर गर्न नसक्दा छिब्बरले मौका पाएकी थिइन ।

२२ औं मिनेटमा इन्दुमती काथिरसानले गोल गर्दै अग्रता दोब्बर बनाइन । सन्जुको वान टु वान पासमा विपक्षी गोलरक्षकलाई विट गर्दै काथिरसानले आफ्नो टिमका लागि दोस्रो गोल गरिन् । ३७ औं मिनेटमा उनैले वान भर्सेस वानको स्थितिमा बललाई पोष्टको दिशा दिंदै मध्यान्तर अघि भारतलाई ३–० को अग्रता दिलाइन ।

मध्यान्तरपछि भारतलाई धेरै बेर रोक्न सकेको बंगलादेशले इन्जुरी समयमा चौथो गोल भेट्यो । ६७ औं मिनेटमा ग्रेस दाङ्मेलाई विस्थापन गर्दै मैदान छिरेकी मनिषाले चौथो गोल गर्दै भारतलाई ४–० को फराकिलो जित दिलाइन । ९ वर्ष अघिबाट सुरु भएको साफ च्याम्पियनसिपमा नेपाल लगातार तेस्रो संस्करणसम्म उपविजेता बन्यो ।

पहिलो, दोस्रो र तेस्रो संस्करणमा भारतसँग नै नेपालको उपाधि भिडन्त भएको थियो । चौथो संस्करणमा भने भारत र बंगलादेशबीच उपाधि भिडन्त भएको थियो ।

चौथो संस्करणमा उपाधि नजिक पुग्नबाट चुकेको नेपालको पाँचौं भने भारतसँगै भेट भएको छ । आगामी शुक्रबार नेपाल र भारतबीच सहिद रंगशालामा पाँचौं साफको अन्तिम प्रतिस्पर्धा हुने छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३