Breaking News

भारतसँग श्रीलंका ५–० ले पराजित

प्रकाशित मिति : ३ चैत्र २०७५, आईतवार १८:४०

विराटनगर, ३ चैत । विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा चार पटकको विजेता टोली भारतसँग श्रीलंका पराजित भएको छ ।

विराटनगरस्थित सहिद रंगशालामा आज भएको खेलमा समूह ‘बी’ मा रहेको श्रीलंकालाई ५–० गोल अन्तरले निराश बनाउँदै उही समूहको भारत समूह विजेता बनेको हो ।

९ वर्ष अघिदेखि सुरु भएको साफमा अहिलेसम्म जितको मिठो अनुभव मात्रै संगाल्दै आएको समूह ‘बी’ मै रहेको भारतले त्यसलाई कायम राख्दै श्रीलंकालाई उपविजेतामा खुम्च्याउन सक्यो । भारत र श्रीलंका दुवै टिम समूह ‘बी’ मै रहेको माल्दिभ्सलाई पराजित गर्दै एक खेल अघि नै सेमिफाइनलमा पुगेका थिए । आक्रामक रुपमा मैदानमा उत्रिएको भारतसामु श्रीलंका जम्न सकेन । भारतले आफ्ना पोष्टमा ५ गोल वर्षाउँदा श्रीलंकाले भारतको पोष्टमा एउटा पनि काउन्टर एट्याक गर्न सकेन ।

भारतले पहिलो हाफमा ४ र दोस्रो हाफपछि १ गोल गर्यो । भारतको जितमा ग्रेस दाङमे, सन्ध्या रङ्गनाथन, इन्दुमति काथिरसान, संगीता वासफोरे र रतनवालादेवी नङ्माइथेनले एक/एक गोल गरे । एकपक्षिय खेलको ४ औं मिनेटमै ग्रेस दाङमेको गोलबाट भारतले खेलमा अग्रता लिएको थियो । सुन्जुको प्रहार क्रस बारमा लागेर फर्किएपछि दाङ्मेले प्रहार गरेको हेडर बलले जाली चुम्दा खेलको सुरुवातमै श्रीलंका दबाबमा परेको थियो । भारतले त्यसको ३ मिनेट पनि वित्न नपाउँदै अग्रता दोब्बर बनायो ।

सन्जुको क्रस पासमा सन्ध्या रङ्गनाथनले ७ औं मिनेटमा बलाई फिनिसिङ टच दिंदै जाली चुमाएर भारतलाई २–० को अग्रता दिलाइन । ३६ औं मिनेटमा इन्दुमति काथिरसानले भारतका लागि तेस्रो गोल गरिन् । सुन्जुको प्रहारलाई श्रीलंकाकी गोलरक्षक आयोमी विजेरथनाले क्लियर गर्ने क्रममा रिवाण्ड भएपछि काथिरसानले सदुपयोग गरेकी हुन् ।

४५ औं मिनेटमा भारतले पेनाल्टी प्रहारको अवसर पाउँदा गोल अन्तर ४–० पुर्यायो । भारतकी सन्जुले पोष्टतर्फ प्रहार गरेको बलमा डिबक्स भित्र श्रीलंकाकी रुसानी गुनावर्दनाको हातमा लागेपछि भारतकी संगीता वासफोरेले पेनाल्टीमार्फत चौथो गोल गरेकी हुन् । दोस्रो हाफको सुरुवातमै भारतले श्रीलंकामाथि ५–० अन्तरको जित निकाल्यो ।

४६ औं मिनेटमा रतनवालादेवी नङ्माइथेनले प्रहारले जाली चुम्दा श्रीलंकामाथि फराकिलो गोल अन्तरको जित निकाल्दै भारत समूह ‘बी’ को विजेता बनेको हो । खेलको अन्तिम सयमसम्म एउटै लयमा देखिएको भारतका खेलाडीमाथि मार्क गरेर पछ्याउन नसक्नु श्रीलंकाको ठूलो कमजोरी रहयो । भारतले गोल गर्नका लागि पाएका अन्य आधा दर्जन बढी अवसरलाई सदुपयोग गर्न सकेन । आज भएको खेलबाट समूह विजेताको अन्तिम टुँगो लगाएसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ ।

श्रीलंकाको भेट बंगलादेशलाई हिजो भएको खेलमा ३–० गोल अन्तरले उपविजेतामा सीमित बनाएको समूह ‘ए’ मा रहेको नेपालसँग आगामी बुधबार विहान ११ बजे सेमिफाइनलमा हुने छ । समूह ‘ए’ बाट उपविजेता बनेको बंगलादेशले त्यही दिन दिउँसो ३ बजे भारतसँग फाइनल प्रवेशका लागि भिडन्त गर्नु पर्ने छ ।

खेलपछि श्रीलंकाका प्रशिक्षक रोहन थिलाक अल्पोन्सुले भारत शक्तिशाली टिम भएकाले धेरै गोल अन्तरको पराजय भोग्नु परेको बताए । ‘यस अघि मेहनत गरेकै कारण हामी सेमिफाइलनसम्म पुग्न सकेका थियौं,’ उनले भने, ‘भारत विरुद्धको खेलमा सुरुदेखिनै रक्षात्मक रुपमा उत्रने हाम्रो रणनीति सफल हुन सकेन ।’

प्रशिक्षक अल्पोन्सुले सन् २०१६ पछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका कारण पनि श्रीलंकाको टोलीसँग अनुभवको कमी रहेको स्वीकार गरे ।

‘आजको नतिजा हामीसँग अनुभव कम हुनुको कारक हो,’ उनले भने, ‘अब सेमिफाइनलमा भने नेपाल विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने छौं ।’ जितपछि खुसी हुँदै भारतकी प्रशिक्षक मेमोल रोकीले ५ मिनेट भित्रमा गोल गरेर श्रीलंकालाई डोमिनेट गर्ने रणनीति सफल हुँदा फराकिलो अन्तरको जित निकाल्न सकिएको बताइन । ‘

रणनीति सफल हुँदा प्राप्त भएको नतिजाबाट म धेरै खुसी छु,’ उनले भनिन्, ‘अब बंगलादेशसँग सेमिफाइनलमा प्रतिस्पर्धाको लागि तयारीमा लाग्छौं ।’ बंगलादेश बलियो टोली भएकाले पनि त्यो विरुद्धको योजना र तयारीमा लागेर सुखद् नतिजा निकाल्ने दावी उनले गरिन् ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३