Breaking News

नेपालद्धारा बंगलादेश ३–० गोल अन्तरले पराजित

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार १८:०८

विराटनगर, २ चैत । विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले बंगलादेशलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

सहिद रंगशालामा आज भएको खेलमा समूह ‘ए’ मा रहेको नेपाल घरेलु मैदानमा उही समूहको बंगलादेशलाई पराजित गर्दै समूह विजेता बनेको हो । नेपालले आगामी चैत ६ गते बुधबार विहान ११ बजे समूह ‘बी’ मा रहेको भारत र श्रीलंका बीचको उपविजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नु पर्ने छ ।

बंगलादेशले त्यही दिन दिउँसो ३ बजे भारत र श्रीलंकाबीचको विजेताको सामना गर्नु पर्ने छ । भारत र श्रीलंकाबीच भोली हुने खेलले समूह ‘बी’ बाट समूह विजेताको टुँगो लगाउने छ । नेपाल र बंगलादेश भुटानलाई पराजित गर्दै एक खेल अघि नै सेमिफाइन प्रवेश गरेका टिम हुन् । बंगलादेशमाथिको जितसँगै नेपालको फाइनल यात्रा सहज बनेको छ ।

नेपालले तीनवटै गोल मध्यान्तर अघि नै गरेको हो । त्यसपछि नेपाल बंगलादेशको प्रहार बचाउनेतर्फ केन्द्रीत भयो । नेपालको जितमा सावित्रा भण्डारी र अञ्जलीकुमारी योञ्जनले एक/एक गोल गरे ।

सुरुवाती गोल भने नेपालले आत्माघाती उपहार पाएको थियो । खेलको ६ औं मिनेटमै आत्माघाती गोलको उपहार पाएपछि नेपालले बंगलादेशलाई दबाबमा राख्न सक्यो । नेपालकी मनमाया लिम्बूको लामो प्रहारलाई क्लियर गर्न खोज्दा बंगलादेशकी मसुरा प्रभिनको टाउकोमा ठोक्किंदै बलले जाली चुम्दा नेपालले खेलमा सुरुवाती अग्रता लिएको थियो । स्ट्राईकर सावित्रा भण्डारी एक्लै अघि बढे पनि सफल हुन नसक्दा घम्साघम्सीका बीचबाट मनमायाले बंगलादेशको पोष्टतर्फ लङ प्रहारको अवसर पाएकी थिइन । त्यही बल टाउकोले क्लियर गर्न खोज्नु बंगलादेशका लागि घातक बन्यो ।

त्यसपछि बंगलादेशलाई निरन्तर दबाबमा राखेको नेपालले २३ औं मिनेटमा दोस्रो गोल गर्यो । हिराकुमारी भुजेलको क्रस पासमा स्ट्राईकर सावित्रा भण्डारीले वान भर्सेस वानको स्थितिमा गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाइन ।

९० मिनेटको खेलमा २८ औं मिनेटमै नेपालले जित निश्चित गर्यो । सावित्राको पासमा अञ्जलीकुमारी योञ्जनले दिएको फिनिसिङ टचसँगै नेपाल ३–० गोल अन्तरले विजयी बन्दा बंगलादेश समूहको उपविजेतामा खुम्चियो ।

खेल अवधिभर नेपालले धेरै राम्रा अवसरको सदुपयोग गर्न सकेन । गोल गर्ने तीनवटा सुन्दर अवसरमा स्ट्राईकर सावित्रा भण्डारी चुकिन् । दोस्रो हाफपछि सुधारिएको प्रदर्शन गरेको बंगलादेशले पनि नेपालको पोष्टमा जवाफी गोल फर्काउन सकेन ।

खेलपछि बंगलादेशका प्रशिक्षक गुलाम रब्बानी चोटोनले नेपाल शक्तिसाली टिम भएकाले पनि पराजित गर्न मुस्किल परेको बताए । ‘नेपाल अनुभवी खेलाडीले भरिएको टिम हो,’ उनले भने, ‘त्यहींमाथि उसले घरेलु मैदानको फाइदा उठाउन सक्यो ।’ खेलाडीले शतप्रतिशत खेले पनि स्कोर निकाल्न नसक्दा पराजय बेहोर्नु परेको उनले बताए ।

गोलरक्षक र रक्तापंक्तीका खेलाडीको कमजोरी आफ्नो हारको मुख्य कारण बनेको उनले बताए । ‘हाम्रा कमजोरीलाई मार्क गरिरहेका नेपाली खेलाडीले त्यही कमजोरीलाई टेक्दै प्रदर्शन गर्न सके,’ उनले भने, ‘दोस्रो हाफमा राम्रो प्रदर्शन गरे पनि खेलमा फर्कने सम्भावनै न्यून बनेर गएको थियो ।’

जितपछि नेपालका मुख्य प्रशिक्षक हरि खड्काले रणनीति अनुसार खेलाडीले प्रदर्शन गर्न सकेका कारण बंगलादेशमाथि जित सम्भव भएको बताए । उनले १५ मिनेट भित्रमै गोल गरेर डोमिनेट गर्ने रणनीति सफल हुँदा नेपालको जित सम्भव भएको बताए । खड्काले अब भारतसँगको प्रतिस्पर्धाका लागि रणनीति तयार गरेर अघि बढ्ने पनि बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३