Breaking News

भारतसँग मालदिभ्स ६–० ले पराजित

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार १८:०८

विराटनगर, २९ फागुन । विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा साविक विजेता भारतसँग मालदिभ्स पराजित भएको छ ।

सहिद रंगशालामा आज भएको खेलमा सबै भन्दा शक्तिशाली मानिएको भारतले मालदिभ्सलाई ६–० गोल अन्तरले पराजित गर्यो । एक पक्षिय खेलको मध्यान्तर अघि भारतले मालदिभ्स विरुद्ध पाँच र मध्यान्तरपछि एक गोल गर्यो ।

भारतले सातौं मिनेटमा गोलको खाता खोलेको थियो । मालदिभ्सकी गोलरक्षक अमिनाथ लिजा अघि बढेको मौका छोप्दै भारतकी ग्रेस दाङमीनले गोल गरेर टिमलाई अग्रता दिलाएकी थिइन । १२ औ मिनेटमा स्वटीदेवी नाङवाङले दोस्रो गोल गरिन् । २२ औं मिनेटमा इन्दुमति खाथिरसानले भारतका लागि तेस्रो गोल गरिन् ।

२७ औं मिनेटमा सन्जुले मध्य भागबाट प्राप्त बललाई नियन्त्रणमा लिंदै पोष्टको दिशा दिएर भारतका लागि चौथो गोल गरिन् ।

पहिलो हाफको इन्जुरी समयमा रतनवालादेवी नङमाईथेनको फ्रिकिक गोलमा परिणत हुँदा मध्यान्तर अघि भारतले गोल अन्तर ५–० बनायो । मध्यान्तरपछि रक्षात्मक रुपमा उत्रिएको मालदिभ्सको बार भत्काउन भारतलाई निक्कै मुस्किल परेको थियो । खेलको अन्तिम समयमा भारतले मालदिभ्स विरुद्ध १ गोल थप्न सकेको थियो । ८९ औं मिनेटमा सन्जुले व्यक्तिगत दोस्रो गर्दै भारतलाई ६–० गोलअन्तरको जित दिलाइन ।

खेलभरी मालदिभ्सले एउटा पनि पोष्ट एट्याकको अवसर बनाउन सकेन । मालदिभ्स विरुद्ध गोल गर्नका लागि पाएका अरु धेरै अवसर भारतले सदुपयोग गर्न सकेन ।

खेलपछि मालदिभ्सका प्रशिक्षक मोहम्मद आतिफले आफ्ना मुख्य तीन खेलाडी घाइते भएका कारण उनीहरुले राम्रोसँग आराम नगरिकन मैदान उत्रनु पर्दा हातको नतिजा बेहोर्नु परेको बताए ।

आफ्नो टिमले पहिलो हाफमा राम्रो प्रदर्शन गर्न नसकेको भन्दै उनले दोस्रो हाफको प्रदर्शन भने चित्त बुझ्ने गरेको बताए । आगामी खेलका लागि राम्रो तयारी गरेर मैदानमा उत्रने आतिफले बताए ।

भारतकी प्रशिक्षक मेमोल रोकीले खेलाडीको उत्कृष्ट प्रदर्शन नै जितको मुख्य कारण भएको बताइन । प्रत्येक खेलबाट सिक्दै आफूहरु अघि बढ्ने क्रममा रहेका कारण आगामी खेलमा झन् उत्कृष्ट प्रदर्शन गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३