Breaking News

नागरिकता नपाएका युवाद्धारा विराटनगरमा रिले अनशन शुरु

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार १३:३७

विराटनगर २९ फागुन । उमेर पुगेर पनि लामो समयदेखि नागरिकता पाउन नसक्दा अनेकन समस्या झेल्नु परेको भन्दै विराटनगरमा नागरिकता नपाएका युवाहरुले बुधबारबाट रिले अनशन सुरु गरेका छन् ।

जन्मसिद्ध नागरिकका सन्तान भएकै कारण नागरिकता पाउन नसकिएको भन्दै नागरिकता पीडित संघर्ष समिति गठन गरेर युवाहरुले विराटनगर महानगरपालिकाको ‘बी’ प्लटमा अनशन थालेका हुन् ।

अनशनमा बसेका युवाहरुले आमाको नामबाट नागरिकता र जन्मसिद्धका सन्तानलाई वंशजको आधारमा नागरिकता दिइनु पर्ने, महिला र पुरुषबीचको विभेदको अन्त्य हुनु पर्ने, सर्वोच्च र उच्च अदालतको परमादेशको पालना हुनु पर्ने लगायतका माग अघि सारेका छन् ।

जन्मका आधारमा नागरिकता लिएका अभिभावकका धेरै सन्तान नागरिकता विहीन बन्नु परेको र राज्य यस विषयमा संवेदनशील नभएको भन्दै युवाहरुले तीनदिने अनशन थालेका छन् ।

नागरिकता पीडित संघर्ष समितिका संयोजक विराटनगर–६ का इशान खान, मोहम्मद तौसिफ, विराटनगर–९ का इम्तियाज अन्सारी, विराटनगर–१५ का आकाशकुमार हुलुवाई र गुड्डु सिंह अनशनमा बसेका छन् ।

समितिका संयोजक खानले शुक्रबारसम्ममा पनि आफूहरुको मागको कुनै सुनुवाई नभए आमरण अनशनसहितको थप संघर्ष थाल्ने बताउनुभयो । उहाँका अनुसार मोरङमा एक हजार भन्दा बढी जन्मसिद्ध नागरिकका सन्तानले उमेर पुगेर पनि नागरिकता पाउन सकेका छैनन् । जन्मसिद्धका आधारमा २०६३ सालमा नागरिकता पाएका अभिभावकका धेरै सन्तान उमेर पुगेर पनि लामो समयदेखि नागरिकता विहीन बन्नु परेको खानले बताउनुभयो ।

उहाँले नागरिकताकै कारण उच्च शिक्षा र रोजगारीको अवसरबाट बन्चित भई धेरै युवाको भविष्य नै अन्धकारमा परिरहेको गुनासो गर्नुभयोे । विभिन्न समयमा उच्च र सर्वोच्च अदालतले समेत जन्मसिद्ध नागरिकको सन्तानहरुलाई वंशजका आधारमा नागरिकता दिनका लागि आदेश दिइसक्दा पनि नागरिकलाई आफ्नौ नैसर्गिक अधिकारबाट बन्चित गराउने काम भइरहेको संघर्ष समितिका सचिव मोहम्मद तौसिफले बताउनुभयो ।

नागरिकताका लागि आन्दोलन गर्नु परेकोमा दुःख व्यक्त गर्दै उहाँले नागरिकता विहीन युवा युवतीको समस्याको सम्बोधन तत्काल गर्न माग गर्नुभयोे ।

२०४६ साल अघि जन्मिएका जुनसुकै नेपाली नागरिकलाई २०६३ सालमा जन्मका आधारमा नागरिकता दिइएको थियो । २०६३ मा जन्मसिद्ध नागरिकता लिएकाका सन्तानले भने अहिले वंशजको नागरिकता पाउन नसकेको सचिव तौसिफले बताउनुभयो ।

जन्मका आधारमा एक पटक मात्रै नागरिकता दिने व्यवस्था उपयुक्त हुने र अन्य व्यवस्था कानुन बनाएर मात्रै दिनु भन्ने फैसला २०७० सालमा सर्वोच्च अदालतले गरेको पनि छ । त्यही फैसलाका आधारमा गृह मन्त्रालयले २०७० चैत २० गते जन्मका सन्तानलाई अहिले नागरिकता नदिनु भन्दै परिपत्र गरेको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले गृहको त्यतिबेलाको परिपत्रका कारण अहिलेसम्म जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन नसकिएको बताए ।

नागरिकका विधेयक २०७५ संसदमा पेश भइसकेका कारण पारित भएर आएपछि नागरिकता सम्बन्धी सबै समस्याको हल हुन सक्ने उनको भनाइ छ । ऐन नबनेसम्म नागरिकता सम्बन्धी जटिलताको समाधान हुन गाह्रो पर्ने प्रजिअ केसीले बताउनुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३