प्रकाशित : २७ फाल्गुन २०७५, सोमबार १७:१७


विराटनगर, २७ फागुन । विराटनगरमा भोलीबाट सुरु हुने पाँचौं संस्करणको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको ट्रफी आज सार्वजनिक गरिएको छ ।
प्रतियोगितामा सहभागी टिमहरु नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्सका कप्तानहरुले संयुक्त रुपमा उचालेर ट्रफी सार्वजनिक गरे ।
विराटनगरमा अखिल नेपाल फुटबल संघ (एन्फा)द्धारा आयोजित प्रि म्याच प्रेस कन्फरेन्समा ट्रफी सार्वजनिक गरिएको हो । प्रेस कन्फरेन्समा सबै देशका प्रशिक्षक र टिमका कप्तानहरुले उच्च मनोबलका साथ प्रतियोगितामा सहभागिता जनाइएको बताए ।
महिला साफमा अहिलेसम्मकै शक्तिसाली मानिएको भारतले पनि उपाधि रक्षा गर्ने हिसावमा आफ्नो तयारी रहेको जनाएको छ । भोली प्रतियोगिताको उद्धघाटन पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने गर्ने तय भएको छ । उद्घाटन खेलमा आयोजक राष्ट्र नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता एवं केन्द्रीय सदस्य किरण राईले प्रतियोगिता आयोजना गर्न विराटनगर तयार भएको जानकारी दिनु भयो ।
निरु थापाको कप्तानीमा रहेको नेपाली महिला टोलीले मोफसलको घरेलु मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै छ । नेपालले समूह चरणमा भिड्ने भुटान र बंगलादेशसँग पछिल्लो समय ५ खेलमा हारको सामना गर्नुपरेको छैन ।
पछिल्लो ५ खेलमा बंगलादेशसँग ४ खेलमा जित र एकमा बराबरीको अवस्था रहेको छ भने भुटानविरुद्ध पछिल्लो ५ खेलमा जितको मीठो अनुभव नेपाली टोलीसँग रहेको र यस प्रतियोगिताका लागि उच्च तयारी गरिएको नेपाली टिमका मुख्य प्रशिक्षक हरि खड्काले बताउनु भयो ।
समूह ‘ए’ मा नेपाल, भुटान र बंगलादेश छन् । ‘बी’ मा श्रीलंका, मालदिभ्स र भारत छन् ।
च्याम्पियनसीप आगामी चैत ८ गतेसम्म सञ्चालन हुने छ । विराटनगरमा पहिलो पटक अन्तर्राष्ट्रिय खेलाडीको आगमनसँगै सुरक्षा व्यवस्था कडा पारिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताउनु भयो ।
उहाँका अनुसार सडक, प्रतियोगिता आयोजना स्थल, खेलाडीले अभ्यास गर्ने स्थान, खेलाडी आवतजावत गर्ने रुट, सार्वजनिक स्थल, खेलाडी तथा अफिसियल बस्ने होटलहरुमा सुरक्षाकर्मीको उपस्थिती बाक्लो बनाइएको छ ।