Breaking News

नेकपा नेताले गरे महिलाको हत्या

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आईतवार १७:२१

विराटनगर २६ फागुन । सत्तारुढ दल नेकपा बेलबारीका नेता योगेन्द्र गुरुङले एक महिलाको हत्या गरेर शव सप्तकोसी नदीमा फ्यालिदिएको खुलेको छ ।

फागुन १७ गते शुक्रबार रातिदेखि हराइरहेकी मोरङको बेलबारी नगरपालिका–४ की २६ वर्षीय रमिला राईको हत्या गरेर शव गायव बनाउन कोसी व्यारेजको पुलबाट नदीमा फ्यालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न एमाले बेलबारीका पूर्व अध्यक्ष समेत रहेका गुरुङ तीन दिन अघि इलामबाट पक्राउ परेका हुन् ।

गुरुङले दिएको बयानका आधारमा दुईदिनदेखि लगातार प्रहरीले कोसी नदी आसपासमा खोजतलासलाई व्यापक बनाए पनि शव भने फेला पार्न नसकिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिनुभयो ।

‘हत्या हुँदा शव फेला पर्नु पर्ने हुन्छ । कोसी नदीमा फ्यालेको बताएका कारण खोजीलाई निरन्तरता दिने काम भइरहेको छ,’ केसीले भन्नुभयोे, ‘घटनामा अरु प्रमाण पनि जुट्नु पर्छ । सबै प्रमाण संकलन गरेर घटनासँग जोड्दै अनुसन्धान गर्ने काम भइरहेको छ ।’ नदीले बगाइसकेका कारण पनि शव नभेटिएको हुन सक्ने उहाँले बताउनुभयो ।

महिला हराएको केही दिनमै गुरुङ समेत बेलबारी छाडेर बेपत्ता बनेपछि प्रहरीले उनीमाथि अनुसन्धान केन्द्रीत गरेको थियो । त्यसै क्रममा भागेर इलाम पुगेका बेला गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले गुरुङले प्रयोग गर्दै आएको बा १५ च ७९१६ नम्बरको कार भने घरैबाट नियन्त्रणमा लिएको छ । हत्यापछि यही गाडीमा शव राखेर नदीसम्म पुर्याएको प्रहरी दावी छ ।

बेपत्ता भएकै राति हत्या गरेर शव गायव बनाउन कोसी नदीमा फ्यालिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । महिला हराएको राति दुवै जना सँगै रहेको र महिला घर नफर्किएपछि परिवारले खोजीका लागि प्रहरीलाई गुहारेका थिए ।

महिला बेपत्ता भएपछि गुरुङले समेत इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईलाई फोन गरेर आफ्नी ‘गर्लफ्रेन्ड’ हराएकाले तनाव भएको बताएका थिए । हत्या गरिएकी महिला आफ्ना पहिलेका श्रीमानसँग सम्बन्ध विच्छेद गरेर माइतीमै बस्दै आएको खुलेको छ । उनकी एक छोरी छन् । गुरुङका भने श्रीमती र दुई छोराहरु काठमाडौंमा बस्दै आएका छन् ।

नेकपा नेता गुरुङ एमाले बेलबारीका पूर्व अध्यक्ष हुन् भने नोबेल अस्पताल बेलबारी एवं एक साझेदारी वनका अध्यक्ष पनि हुन् । हत्यानै गर्नु पर्ने कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना भएको साँझ योगेन्द्र रमिलासँगै उनकी एक जना साथी र अर्का एकजना युवक समेतलाई लिएर घरबाट दोहोरीमा जाने भन्दै निस्किएका थिए ।

सो दिन उनीहरु सुन्दरहरैंचास्थित विराटचौक स्थित हवाना रेष्टुरेण्टमा गएको खुलेको छ । शुक्रबार राति ११ बजेतिर योगेन्द्रले सबैलाई लिएर घर फर्किएका थिए । उनले रमिलाकै घर छेउमा रहेकी महिला र सोही टोलका युवकलाई छोडीदिए तर रमिलालाई भने गाडीमै लिएर गएको खुलेको प्रहरीले जनाएको छ ।

रमिला नभेटिएपछि आफन्तले दिएको जानकारीका आधारमा स्थानीय बासिन्दा, परिवारका सदस्य र प्रहरी मिलेर विभिन्न ठाउँमा रमिलाको खोजी गरेका थिए । रमिलाको खोजी गर्ने काम भइरहँदा योगेन्द्र पनि सँगै महिलाको खोजीमा लागेका थिए । त्यसपछि भने उनी बेलबारीबाट भागेका थिए । पहिलेको श्रीमानसँग सम्बन्ध विच्छेद गरेर बसेकी महिला र योगेन्द्रबीचमा केही समयदेखि सम्बन्ध रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

त्यही सम्बन्धमा दरार उत्पन्न भएपछि हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ ।
हत्या गरेर कोसी नदीमा फ्यालिदिएपछि अन्य चार जना सहयोगीलाई लिएर शव नदी आसपासमा छ कि छैन भनेर हेर्न गुरुङ भोलीपल्ट विहान घटनास्थलसम्म पुगेको पनि प्रहरीले जनाएको छ ।

शवका बारेमा बुझ्न कोसी नदीसम्म पुगेका दुई युवतीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य दुई युवाको खोजी भइरहेको जनाइएको छ ।

प्रहरीका अनुसार रमिला हराएपछि उनकी बहिनीले योगेन्द्रलाई पनि फोन गरेर रमिलाका बारेमा सोधेकि थिइन । तर योगेन्द्रले राति ११ बजे घर नजिकै ल्याएर छाडिदिएको बताएका थिए ।

रमिला भने घर नफर्किएपछि अनेक आशंकामा आफन्तले खोजी थालेका थिए । रमिला घर नफर्किएको भनेर फोन आएपछि योगेन्द्र पनि उनी बस्दै आएको माइती घरमा घटना भएको भोलीपल्ट शनिबार पुगेका थिए । उनलै प्रहरीमा हुलिया दिन र बेपत्ता भएको कुरा प्रहरीलाई जानकारी गराउन रमिलाका माइती पक्षलाई सुझाव दिएका थिए ।

‘बेलबारी–४ स्थित घरमै बन्धक बनाएर राखेको आशंकामा फागुन २० गते योगेन्द्रको घरमा पनि खानतलासी गर्ने काम भयो । तर घरमा केही पनि फेला पार्न सकिएन,’ एक प्रहरीले भने, ‘अनुसन्धान आफूमाथि केन्द्रीत हुन थालेको चाल पाएर पाएर भागेका योगेन्द्रलाई इलामबाट पक्राउ गरियो ।

मंगलबार रमिलाका माइती पक्ष र योगेन्द्र पक्षबीच बेलबारी प्रहरीमा भएको छलफलमा दुवै पक्ष मिलेर खोजतलास गर्ने सहमति भएको थियो ।’

प्रहरीले समेत आफन्न र स्थानीयसँग समन्वय गरेर बेलबारीको बेतना, सुन्दरहरैंचा नगरपालिकाको गछिया, गोठगाउँ आसपासमा खोजी गरिरहेको थियो । विभिन्न खोला र जंगलहरुमा पनि खोजी गर्ने काम भएको थियो ।

प्रहरीका अुनसार बुधबार दिउँसो मात्रै श्रीमतीलाई विराटनगर विमानस्थल हुँदै जहाजमार्फत काठमाडौैं पठाएका योगेन्द्र त्यसपछि आफ्नो मोवाइल स्वीचअफ गरेर गायव बनेका थिए । यस विषयमा हल्ला भएपछि काठमाडौंमा बस्दै आएकी योगेन्द्रकि श्रीमती पनि बेलबारी आएकी थिइन ।

‘श्रीमतीलाई काठमाडौं पठाएर योगेन्द्र फरार बनेपछि थप शंका बढेको थियो,’ एक प्रहरीले भने, ‘पछि पक्राउ गरेर अनुसन्धान थाल्दा उनैले हत्या गरेर शव नदीमा फ्यालेको पत्ता लाग्यो ।’

हत्या एक्लैले गरेकी कोही कसैको सहयोगमा गरे भन्ने चैं खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ । एसपी केसीले योगेन्द्रलाई नियन्त्रणमा लिएर हत्या गरेको भनेर स्वीकार गरेकी महिलाको शव खोज्ने काम तीब्र बनाइएका कारण बाँकी अनुसन्धानमा प्रहरी केन्द्रीत हुन नसकिरहेको जानकारी लिए । अहिले पनि स्थानीय बासिन्दा र आफन्तको सहयोगमा सप्तकोसी नदी आसपासमा प्रहरी शवको खोजीमा खटिएको छ ।

गुरुङले महिलालाई फागुन १७ गते राति ११ बजे उनकै घरमा छाडिदिएको दावी गर्दै आएका थिए । तर ‘सिसी टिभी फुटेज’ मा योगेन्द्रले प्रयोग गर्दै आएको गाडी रातको साढे १२ बजे सुनसरीको इटहरीबाट पश्चिम लागेको र शनिबार विहान साढे ४ बजे सुन्दरहरैंचाको गोठगाउँबाट पूर्व लागेको देखिएको प्रहरी स्रोतले बताएको छ ।

योगेन्द्रले भनेको कुरा र सिसी टिभी फुटेजको कुरा नमिलेपछि प्रहरीले उनीमाथि अनुसन्धान केन्द्रीत गरेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३