प्रकाशित : २५ फाल्गुन २०७५, शनिबार १८:५१


विराटनगर, २५ फागुन । वरिष्ठ भाषाशास्त्री प्राज्ञ बालकृष्ण पोखरेलको नाममा सडकको नामाकरण गरिने भएको छ ।
विराटनगर महानगरपालिकाले ट्राफिक चोकदेखि पोखरेलको निवास निलसदनसम्मको सडकलाई बालकृष्ण मार्ग नामाकरण गर्ने प्रक्रिया अगाडि बढाइएको पमुख भीम पराजुलीले जानकारी दिनुभयो ।
पोखरेलको १३ औं पुण्यतिथिका अवसरमा महानगरले शनिबार आयोजना गरेको श्रद्धाञ्जलीसभामा प्रमुख पराजुलीले भने, “उहाँ विराटनगरका मात्रै नभएर मुलुकै गहना हुनुहुन्थ्यो । उहाँले नेपाली भाषा, साहित्य र अनुसन्धानमा पुर्याएको योगदानको उच्च कदर गर्दै बालकृष्ण मार्ग नामाकरण गर्ने तयारी भइरहेको छ ।” मार्ग नामाकरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको उहाँले जनाउनुभयो ।
प्रमुख पराजुलीले छिट्टै स्मृद्धिग्रन्थ प्रकाशनका लागि पहल गर्ने बताउनुभयो । श्रद्धाञ्जलीसभामा प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्वाहाङले पोखरेलको निधनले मुलुकलाई नै अपुरणीय क्षति पुगेको टिप्पणी गर्नुभयोे । पोखरेल बहुमुखी प्रतिभाको धनी भएको चित्रण गर्दै तुम्वाहाङले भने, “उहाँ धेरै भाषाका ज्ञाता मात्रै होइन विज्ञ हुनुहुन्थ्यो ।
उहाँको योगदानको मापन गर्ने कुनै आधार नै छैन ।” प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले पोखरेलले देखाएको बाटोमा हिंड्न सके मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने विचार राख्नुभयोे ।
नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले भाषाशास्त्री पोखरेलले नेपाली भाषा साहित्यमा पुर्याएको योगदान तुलना नै हुन नसक्ने दाबी गर्नूभयोे ।
प्रा.डा. टंक न्यौपाने, प्रा.डा. बद्रीविशाल पोखरेल, वरिष्ठ समालोचक दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, समाजसेवी इन्दिरा रिजाल, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले भाषाशास्त्री पोखरेलको योगदानको कदर गर्दै प्रतिष्ठान गठन गर्नुपर्नेमा जोड दिनुभयो ।
उनीहरूले भाषाका क्षेत्रमा पोखरेल दक्षिण एसियाकै मूर्धन्य स्रष्टा भएको विचार राखे ।