Breaking News

सुरक्षा व्यवस्था कडा, मदिरा बिक्री र सेवनमा कडाई

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार १८:४६

विराटनगर, २५ फागुन । पहिलो पटक विराटनगरमा आयोजना हुने अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिताका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतियोगिता मिति नजिकिंदै जाँदा सुरक्षा व्यवस्था मजवुत बनाइएको हो । एन्फाले पनि आन्तरिक हिसावको सुरक्षा व्यवस्था मिलाएको छ । ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी सुरक्षाका लागि खटाउने तयारी छ । खेलाडी र अफिसिय तथा पाहुनाहरुलाई बसेका होटलबाट खेल मैदानसम्म सुरक्षाका लागि स्कर्टिङको व्यवस्था गरिएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले अन्तर्राष्ट्रिय प्रतियोगिता भएका कारण अन्य बेलाको भन्दा विशेष सुरक्षा व्यवस्था अपनाइने बताउनुभयो । ‘प्रतियोगिताका लागि विशिष्ट खालको सुरक्षा रणनीति तयार पारिएको छ,’ उहाँले भन्नुभयोे, ‘सुरक्षामा कुनै कमजोरी आउन नदिन विराटनगर र आसपासका ठाउँमा निगरानी बढाइएको छ ।’

सुरक्षामा कुनै कमजोरी भएमा त्यसले नेपालकै छवि विगार्ने विषयमा पनि सुरक्षा निकाय संवेदनशील रहेको केसीको भनाइ छ । विशिष्ट र अत्याधुनिक प्रविधिको प्रयोग गरेर सुरक्षा व्यवस्था मिलाइने जानकारी उहाँले दिनुभयो ।

केसीले रुटको सुरक्षादेखि लिएर खेलाडी, अफिसियल, पाहुनाहरु बस्ने स्थान तथा खेलाडी टोलीले आवश्यक अभ्यास गर्ने स्थानसम्मको सुरक्षामा ख्याल पुर्याइएको जानकारी दिनुभयो । ‘विशेष गरेर प्रतियोगिता आयोजनास्थल र स्टेडियमको सुरक्षामा ध्यान दिएका छौं,’ उनले भन्नुभयोे,‘राजमार्ग र सहायक मार्गहरुमा सुरक्षाकर्मीको विशेष टोली खटाएर सुरक्षा निगरानी बढाइएको छ ।’

एसपी केसीले प्रतियोगितालाई लक्षित गरेर प्रतियोगिता उद्धघाटन स्थल र आसपासमा घरेलु मदिरा बिक्रीमा पूर्ण रुपमा रोक लगाइएको बताउनुभयो । प्रहरीले प्रतियोगिता अवधिभर खेलस्थल आसपास अवैध रुपमा घरमै उत्पादन गरिने मदिरा बिक्रीमा पूर्ण रुपमा प्रतिबन्ध लगाउँदै निगरानी बढाउन थालेको हो ।

घरेलु मदिरा विक्री र सेवनमा प्रतिबन्ध लगाउनकै लागि प्रहरीको विशेष टोली खटाइसकिएको केसीले बताए । घरेलु प्रकृतिको मदिराहरुको बिक्री हुने स्थानको पहिचान गरेर नियमन गर्ने काम थालिएको छ ।

सहिद रंगशाला आसपासका होटल, हाटखोला, देवकोटा चौक, घोघापुल चौक, तीनपैनी समेतका स्थानमा सञ्चालनमा रहेका होेलमा बिक्रीका लागि राखिने अवैध मदिरा नियन्त्रणमा लिन थालिने उहाँको भनाइ छ । ‘

अवैध रुपमा उत्पादन हुने विषाक्त घरेलु मदिराले मानव स्वास्थ्यमा पनि असर गर्छ,’ केसीले भन्नुभयोे, ‘प्रतियोगिता स्थल नजिकका ३० बढी होटलहरुलाई उच्च निगरानीमा राखिएको छ ।’ प्रहरीले प्रतियोगिता संचालन अवधिमा प्रतिबन्धित मदिरा बिक्री वितरण गर्नेलाई पनि नियन्त्रणमा लिएर कारवाही अघि बढाइने एसपी केसीको भनाइ छ ।

अवैध रुपमा बिक्रीका लागि राखिने घरेलु मदिरा नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको उनले बताए । उनका अनुसार प्रतियोगितामा भाग लिनका लागि विभिन्न देशबाट समेत खेलाडी र खेल हेर्नका लागि दर्शकहरु आउने भएका कारण मदिरा बिक्री र सेवन गर्नेहरुका कारण उनीहरुमा कुनै पनि असर नपरोस भन्ने उदेश्य हो ।

घरेलु मदिराले निम्त्याउने अपराधिक गतिविधी नियन्त्रण गर्दै सुरक्षित तवरबाट साफ महिला च्याम्पियनसीप सम्पन्न गराउन प्रहरीले सक्रियता बढाएको जानकारी केसीले दिनुभयो ।

‘खेलकुद, खेलाडी र दर्शकमा मदिरा विक्री र सेवनका कारण कुनै पनि असर नपरोस भनेर प्रहरी चनाखो भएको छ,’ उनले भने, ‘घरेलु मदिरा बिक्री गर्न कानुनले नै रोक लगाएको अवस्थामा त्यस्ता मदिराको प्रयोगले निम्त्याउने कुनै पनि अपराध नभईकन प्रतियोगिता सम्पन्न होस भन्ने चाहना सबैको छ ।’

एन्फाले समेत प्रहरीलाई आवश्यक सुरक्षाको व्यवस्था मिलाएर खेलस्थल वरपर सबै खालका अवान्छित र अपराधिक गतिविधी हुनबाट रोक लगाउन आग्रह गरिसकेको छ । एसपी केसीले ट्राफिक व्यवस्थापनको काम पनि भइरहेको बताउनुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३