प्रकाशित : २० फाल्गुन २०७५, सोमबार १७:१८


विराटनगर २० फागुन । विराटनगरमा एक अर्ब लगानीमा सुविधा सम्पन्न अत्याधुनिक व्यापारिक मल निर्माण गरेर आजबाट सञ्चालमा ल्याइएको छ ।
तीनवटा व्यवसायिक समूह देवेनरा, हाईलाईफ र विशाल ग्रुपको संयुक्त लगानीमा सञ्चालनमा ल्याइएको व्यापारिक तीन तले मललाई सेन्ट्रल मल नाम दिइएको छ ।
५० वर्षसम्मको परिकल्पना गरेर नयाँ व्यवसायिक अवधारणा अनुसार सञ्चालन गरिएको वातानुकुलित मलको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्धघाटन गर्नुभयोे ।
यही भवन भित्र चलचित्र हल पनि छ । खानाका परिकार, लत्ता कपडा, बालबालिकाका लागि आवश्यक पर्ने वस्तुहरु, विभिन्न देशमा ब्राण्डेड कम्पनीका लुगा, जुत्ता चप्पल, कस्मेटिक, दैनिक उपभोग्य वस्तु, विलासिताका सामान लगायत एकै ठाउँबाट खरिद गर्न मिल्ने जनाइएको छ ।
मलका सञ्चालक प्रकाश मुन्दडाले विश्वका सात भन्दा बढी मुलुकले उत्पादन गर्ने सामानहरु खरिद गर्न पाइने जानकारी दिनुभयो । उहाँका अनुसार मल भित्रै बालबालिकाका लागि गेम जोन, कपाल काट्ने शैलुन र रेष्टुरेन्ट पनि सञ्चालनमा छ । मल १५ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको छ ।
२ वर्ष अघि निर्माण सुरु गरिएको मलमा १ सय ४ वटा कोठामा पसलहरु सञ्चालनमा रहेका छन् । उद्घाटनका दिन सम्म आइपुग्दा ७० प्रतिशत पसल भाडामा लागिसकेको सञ्चालक मुन्दडाले बताउनुभयो । उनका अनुसार पसलहरु ७० देखि १ सय ५० स्क्वायर फुटका दरमा भाडामा लगाइएका छन् ।
बैशाख सम्ममा सबै पसलहरु भाडामा लाग्ने मुन्दडाको भनाइ छ । उनका अनुसार सेन्ट्रल मलमा ६० वटा गाडी र २ सय ५० मोटरसाइकल पार्किङको क्षमता रहेको छ ।
मलको उद्धघाटन गर्दै मुख्यमन्त्री राईले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताउनुभयो । लगानी सम्मेलन गरेर निजी क्षेत्र र दातृ निकायसँग प्रस्तुत हुन चाहेको बताउनुभयो ।
प्रदेश सरकार विकास र सम्बृद्धिमा केन्द्रित भएकोले निजी क्षेत्रसँगको सहकार्यमा मात्रै त्यो सम्भव रहेको उहाँले बताउनुभयो । प्रदेशको विकासका लागि ठूलो आँट र साहसको आवश्यकता रहेको मुख्यमन्त्री राईको भनाइ छ ।