प्रकाशित : १९ फाल्गुन २०७५, आईतवार १८:४४

विराटनगर, १९ फागुन । पूर्व उपप्रधान एवं अर्थ मन्त्री भरतमोहन अधिकारीलाई मोरङले तीन पटकसम्म चुनाव जितायो । कुशल नेत्रृत्व र पदमा रहँदा ल्याएका महत्वपूर्ण कार्यक्रम नै पछिका दिनमा उनको चुनाव जित्ने मुख्य आधार पनि बने ।

जनताकै मतबाट विक्रम संवत २०४८, २०५१ र २०५६ गरी तीनपटक मोरङको तत्कालिन क्षेत्र नम्बर २ उनले चुनाव जिते ।

एमालेबाट माले फुटेर अलग भएको अवस्थामा पनि उनले २०५६ सालमा तत्कालिन एमालेबाट सहज रुपमा निर्वाचनमा विजय हाँसिल गरेका थिए । उनी समानुपातिक कोटाबाट संविधानसभा सदस्य समेत भएका थिए । अर्थ मन्त्री भएका बेला २०५१ सालमा ल्याएको ‘वृद्ध भत्ता’ र ‘आफ्नो गाउँ, आफै बनाउँ’ कार्यक्रम अहिले पनि लोकप्रिय छन् ।

यही कार्यक्रमलाई तत्कालिन एमालेले भोट माग्ने भाँडो बनाउने गर्दथ्यो । अहिले पनि नेकपाले उनले ल्याएका महत्वपूर्ण र सफल कार्यक्रमलाई अंगिकार गर्ने गरेको छ ।

नेकपाका नेता कार्यकर्ता मुलुकको विकास र समृृद्धिका लागि भरतमोहन एउटा सफल नेत्रृत्वकर्ता भएको बताउँछन् । कुशल नेत्रृत्व क्षमता भएका उनै अधिकारीको निधनले मोरङलाई मात्रै हैन सिंगो राष्ट्रलाई अपूरणीय क्षति पुगेको भन्दै राजनैतिक अगुवाहरुले दुःख पनि व्यक्त गरेका छन् । उनीहरु भन्छन्, ‘अधिकारीले मोरङलाई कार्य क्षेत्र बनाएर पटक–पटक चुनाव जिते ।

तर सिंगो मुलुकलाई नै गुन लगाएर गए ।’ मोरङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद घनश्याम खतिवडा अधिकारीलाई सिंगो नेपालका कुशल र सक्षम नेताका रुपमा लिन्छन् । उनको निधनले मोरङ मात्रै नभएर सिंगो राष्ट्र स्तब्ध बनेको खतिवडाले बताए ।
‘मोरङ त उहाँको निर्वाचन क्षेत्र मात्रै हो ।

लामो समय यहींका जनताका पीडामा विताउनु पनि भएको छ,’ उनले भने, ‘अर्थ मन्त्री भएका बेला मुलुकको हितमा ल्याएका महत्वपूर्ण कार्यक्रम अहिले पनि जनताका जीउने आधार बनेका छन् ।

उहाँको निधनले सक्षम नेता गुमाएको महसुस मुलुकले गरेको छ ।’ खतिवडाले भरतमोहनले लगाएको गुनको ऋणि सिंगो मुलुक र नेपाली जनता भएको बताए । ‘युगले जन्माउने सच्चा नेताका रुपमा उहाँलाई लिने गरिएको छ,’ उनले भने, ‘यस्ता नेताको जन्म नेपालमा विरलै हुन्छ ।’

नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीका सहोदार भाई हुन् भरतमोहन । मनमोहन प्रधानमन्त्री हुँदा उनी अर्थमन्त्री थिए ।

मनमोहनले राजनीतिमा नआउनका लागि भरतमोहनलाई पटक–पटक आग्रह गरेको भतिजा विजय अधिकारीको भनाइ छ । भरतमोहनले घर व्यवहार सम्हालेदेखि आफू राजनीतिमा सक्रिय भएर लाग्ने सोंच मनमोहनको थियो । तर त्यसलाई भरतमोहनले अस्वीकार गर्दै राजनीतिमार्फत समाजसेवामा सक्रिय रुपमा लागेको विनयको भनाइ छ । पछि दाजु भाई नै राजनीतिमा सक्रिय भएर लागे ।

स्व.मनमोहनलाई पनि निरविवादित नेताका रुपमा लिइन्छ । सालिन र भद्र नेताको छवि बनाएका भरतमोहन पनि अब सम्झनामा मात्रै रहेका छन् ।

मोरङको उर्लाबारीस्थित नेकपाका स्थानीय नेता मानबहादुर श्रेष्ठ भारतमोहनसँग पटक–पटकको चुनावी कार्यक्रमदेखि लिएर पार्टीका धेरै गतिविधीमा सँगसँगै हुन्थे ।

‘राष्ट्रले महान विचार भएका नेतालाई गुमायो,’ श्रेष्ठले भने, ‘उहाँ नेपाल र नेपालीका लागि सँधै अमर रहनु हुने छ ।’ उनले भरतमोहनले नेपाली राजनीतिका क्रममा विवादित छवि कहिल्यै पनि प्रदर्शन नगरेको सुनाए । श्रेष्ठका अनुसार वेरोजगार बनेर दैनिक जसो वैदेशिक रोजगारीका लागि विदेशिने युवाहरुलाई कसरी नेपालमै रोकेर राख्न सकिन्छ र उनीहरुलाई स्वरोजगार र उद्यमशील बनाउन सकिन्छ भन्ने चिन्ता सँधै भरतमोहनले लिइरहन्थे ।

अर्थतन्त्रका सवालमा सबै राज्यले गर्नुपर्छ र सबै बजारलाई छाड्नुपर्छ भन्ने दुवै अतिवादी चिन्तनको बीचबाट राज्य, सहकारी र नीजि क्षेत्रको तीन खम्बे अर्थ नीति अंगिकार गर्दै त्यसको नेतृत्व गरेका कारण पनि नेपाली राजनीतिमा भरतमोहनको उचाई बढेको थियो । बजेटमार्फत सामाजिक कार्यक्रमहरु घोषणा गर्ने श्रेय पनि उनैलाई जान्छ ।

राजनैतिक तथा सामाजिक योद्धा अधिकारीको गत मंसिर १ गते विराटनगरमा भव्य नागरिक अभिनन्दन पनि गरिएको थियो । मुलुकको राजनैतिक, आर्थिक र सामाजिक आन्दोलनका अग्रणी व्यक्तित्वमा रुपमा नागरिक स्तरबाट पूर्व उपप्रधान तथा अर्थमन्त्री अधिकारीलाई अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर अभिनन्दन गरिएको हो ।

अभिनन्दीत हुन उनी पत्नी ओमकुमारी आचार्य (अधिकारी) लाई साथमै लिएर उपस्थित भएका थिए । उनी एलिट क्लबका पूर्व महासचिव पनि हुन् ।

प्रदेश १ का प्रमुख डा. गोविन्दबहादुर तुम्वाहाङ अधिकारीको राजनैतिक र सामाजिक योगदानका बारेमा चर्चा गर्दै भन्छन्, ‘राजनैतिक जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको र मुलुकको अर्थतन्त्रका लागि महत्वपूर्ण योगदान पुर्याएकै कारण संधै सबैको सम्झनामा आइरहने नेताका रुपमा उहाँलाई हामीले चिन्ने गरेका छौं ।’

महोत्तरीको भ्रमणपूरा भन्ने ठाउँमा १९९३ साल बैशाख २२ गते जन्मिएका अधिकारीले विराटनगरलाई कार्यक्षेत्र बनाएर लामो समय राजनीति गरेका थिए ।

२०४६ सालको राजनीतिक आन्दोलन अघि विराटनगरमा ‘ल’ फर्म चलाएर बसेका अधिकारी २०४६ सालपछि पूर्णकालीन राजनीतिमा लागेका थिए ।

२०४६ सालको जनआन्दोलनअघि विराटनगरमा राजनीतिक जागरण ल्याउन भूमिका खेलेको भन्दै तुम्बाहाङले उनको प्रशंसा गरे । राजनैतिक जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेका अधिकारीले विराटनगरमा कानुन व्यवसायीको काम गरेर त्यतिबेला धेरैलाई निःशुल्क कानुनी सेवा पनि प्रदान गरेको नेकपा मोरङका नेता ऋषिकेश पोख्रेलले बताए ।

खास गरेर पंचायती व्यवस्थाको विरुद्धमा लाग्नेहरुलाई त्यतिबेला राज्य पक्षले मुद्धा लगाउँदा उनले आफ्नो ‘ल’ फर्म मार्फत पंचायत विरोधी आन्दोलनमा होमिएका राजनीतिकर्मीलाई निःशुल्क कानुनी सेवा दिएर बहुदलिय व्यवस्थाको पक्षमा महत्वपूर्ण भूमिका खेलेको पोख्रेलको भनाइ छ ।

पोख्रेलले नेपालको राजनैतिक, सामाजिक र आर्थिक क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदान अमूल्य र कदरयोग्य रहेको बताए । उनले भने, ‘यस्ता कुशल र निष्ठावान राजनीतिज्ञ हामी माझ रहनु भएन । अब उहाँ संधै नेपालीको मन मुटुमा सम्झनामा मात्रै रहनु हुने छ ।’ १६ वर्षको उमेरदेखि नै नेपाली कम्युनिष्ट आन्दोलनमा होमिएका अधिकारी ६० वर्षभन्दा बढी राजनीतिमा सक्रिय रहे ।

पहिलादेखि नै राजनीतिमा विशेष चासो राख्ने भरतमोहनले विराटनगरको महेन्द्र आदर्श बहुमुखी क्याम्पसमा प्राध्यापन समेत गराएका कारण शिक्षा क्षेत्रमा समेत उनको विशिष्ठ योगदान रहेको नागरिक अगुवा रामबाबु दाहालले बताए ।

तीन वर्ष अघि भरतमोहनकै संयोजकत्वमा ज्येष्ठ नागरिक महोत्वस पनि सम्पन्न भएको थियो । एउटा राजनीति कर्मी भएर मुलुकका लागि निर्वाह गर्नु पर्ने भूमिकामा अब्बल देखिएका अधिकारी भने आफू मन्त्री भएर काम गरिसके पनि मुलुकका लागि भने धेरै काम गर्न नसकेकोमा चिन्तित रहने गरेको दाहालले बताए । अहिलेका राजनीतिकर्मीले ईमान्दारीता पूर्वक काम गरेर मुलुकको विकास र समृद्धिमा केन्द्रीत हुनु पर्ने तथा अधिकारीको राजनीतिकर्मलाई अनुसरण गरेर अघि बढ्नु पर्ने उनको सुझाव छ ।

विराटनगरबाट बनेका छ जना प्रधानमन्त्री र तीन जना उपप्रधानमन्त्रीले पनि विराटनगरको मुहार फेर्न नसकेकामा भने भरतमोहनले सँधै चिन्ता व्यक्त गरिरहन्थे । प्रदेश १ का मुख्य मन्त्री शेरधन राई भरतमोहन नेपाली राजनीतिमा इमान्दार र निष्ठावान नेता भएको बताउँछन् । सानैदेखि राजनीति र अध्ययनमा अब्बल भएकै कारण अधिकारीले मुलुकका लागि धेरै काम गर्न सकेको उनको बुझाई छ ।

‘नेपाली राजनीतिलाई ठिक ढंगले दिशा निर्देश गर्ने क्षमता भरतमोहन अधिकारीमा थियो,’ उनले भने, ‘राजनीतिका लागि उहाँ मेरो गुरु हुनु हुन्थ्यो ।’ भरतमोहनकै राजनीतिक संस्कारबाट हुर्किएको र आफ्नो राजनीतिको प्रेरणाको श्रोत पनि भरतमोहननै भएको बताउँदै मुख्य मन्त्री राईले त्यसैलाई अनुसार गरेर अघि बढ्ने लक्ष्य आफ्नो रहेको बताए ।

उनले नेपालको मुहार फेर्ने राजनीतिक दिशा र कार्यक्रम ल्याउन सफल नेता अधिकारी मुलुकका लागि संधै अमर रहने बताए । असल संस्कार र संस्कृतिको थालनी गरेर नेपालीको मनमनमा बस्न सफल नेताहरुमध्येका एक अधिकारी राजनीतिक प्रेरणाको अभिभावक भएको मोरङ सुन्दरहरैंचाका नेकपा कार्यकर्ता भक्तकिरण राईको भनाइ छ ।

उनले मुलुकले एक इमान्दार नेता गुमाएको बताए । ‘उहाँको निधनले हामी सबै नेपाली स्तब्ध छौं,’ राईले भने, ‘राजनीतिकर्मीले उहाँबाट पाठ सिकेर अघि बढे मुलुकमा चाँडै समृद्धि सम्भव छ ।’

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३