Breaking News

अहोरात्रको खटाईले आकर्षक बन्यो सहिद रंगशाला

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार १६:४१

विराटनगर , १८ फागुन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पाँचौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजनाको जिम्मेवारी प्रदेश १ को अस्थायी राजधानी विराटनगरलाई सुम्पियो ।

जिम्मेवारीलाई विराटनगरले सहज ढंगले ग्रहण पनि ग¥यो । विराटनगर अहिले त्यसकै अन्तिम तयारीमा जुटेको छ । सहिद रंगशाला तयार हुँदैछ । विराटनगर महानगरपालिकाको आर्थिक र एन्फाको प्राविधिक सहयोगमा रंगशालाको मुख्य भाग आकर्षक बन्दै छ ।

जहाँ फागुन २८ गतेदेखि सार्क राष्ट्रमा आवद्ध ६ देशको सहभागितामा पाँचौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदै छ । ‘विराटनगरमा अब अन्तर्राष्ट्रिस्तरको फुटबल गराउन मैदान तयार भयो,’ मैदान विशेषज्ञ ५२ वर्षीय दीपक रजक भन्छन्, ‘सोचे भन्दा धेरै आकर्षक भयो ।’ २० वर्ष अघि मलेसियाबाट फिफा रेफ्री कोर्ष सकेका उनी एन्फाका लागि मैदानको जाँचपरख गर्छन ।

नेपाली फुटबलमा आर्टिफिसियल तथा न्याचुरल मैदानका लागि फिफाबाट मान्यताप्राप्त ५२ वर्षिय रजक एकमात्र मैदान विशेषज्ञ हुन् । साफका लागि मैदानको रेखदेख र निरीक्षणका क्रममा तीन पटक विराटनगर आइसकेका उहाँले रंगशालाको काम उत्कृष्ट ढंगले भइरहेको बताए ।

मैदान हेर्ने र परख गर्नेसँगै मैदानभित्र आवश्यक खेलाडी कोठा, व्यवस्थापक कोठा, सञ्चार क्षेत्र लगायतको व्यवस्थापनको जिम्मेवारी पाएका रजक कम समयमा मैदानको प्रगतिबाट पूर्ण रुपमा सन्तुष्ट छन् ।

‘जसले मैदानका लागि अहोरात्र मेहतन ग¥यो । उसलाई धेरै धन्यवाद दिन चाहन्छु,’ मैदान विशेषज्ञ रजक भन्छन्, ‘छोटो समयमा यति राम्रो र आकर्षक मैदान तयार होला भन्ने लागेकै थिएन । इच्छाशक्ति र जाँगर भयो भने सम्भव हुँदो रहेछ भन्ने कुरा प्रमाणित भएको छ ।’ उनी मधूसुदन खनाल, मदन काफ्ले र अरुण लामा मैदानका नायक रहेको बताउँछन् । तीन जनाले अहोरात्र गरेको मेहनतका कारण रंगशालाले स्वरुप बदल्न सकेको र अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सक्षम बनेको रजकको भनाइ छ ।

विराटनगर पोखरियाका ६१ वर्षीय खनाल दुई दशक बढी नेपाली फुटलब क्षेत्रमा सहायक रेफ्रीको भूमिकामा रहे । साफ च्याम्पियनसिन विराटनगरमा हुने भएपछि उनी दैनिक १२ घण्टा मैदानमा खटिनेमा पर्छन । फुटबल सम्हालेदेखि नै मैदानको अनुभव बटुल्न पाएका उनी मैदानसँग भने परिचित छन् ।

साफ तयारी समितिले खनालसहित तीन जनालाई मैदान व्यवस्थापनको जिम्मेवारी दियो । ‘हामीलाई एकदमनै समय कम थियो । मैदान व्यवस्थापनको अनुभव पनि कम थियो,’ उनले भने, ‘तर पनि जिम्मेवारीलाई सहज रुपमा ग्रहण गरियो । अहिले मैदान तयार भइसकेको छ ।’

केही वर्षअघिसम्म मैदानको अवस्था एकदमनै राम्रो रहेको बताउँदै उनले भने, ‘जथाभावी प्रयोगले मैदान विग्रिएको थियो । डेढ महिना अघिदेखि निरन्तर खटिएर अहिले एउटा स्वरुप प्रदान गर्न सकियो ।’ खनालले देशले अन्तर्राष्ट्रिय प्रतियोगिता गराउनका लागि मैदानलाई कायम राख्न सक्नु पर्ने बताउँछन् ।

उनी विहान ७ बजेदेखि प्रत्येक साँझ ७ बजेसम्म मैदानका लागि समय दिन्थे । मैदानमा माटो, मल र घाँससँग पैठाजोरी खेल्थे । पुस दोस्रो साताबाट मैदान व्यवस्थापनको काम सम्हालेनका खनाल अहिले भने मैदान निरीक्षण गर्ने साफ प्रतिनिधिको पर्खाइमा छन् ।
मैदान व्यवस्थापनका लागि राष्ट्रिय रेफ्रीको भूमिका रहेका मदन काफ्ले खनालका सहयोगी बने ।

४० वर्षीय काफ्ले रेफ्री भएर मैदानमा खटिएको नै डेढ दशक भइसक्यो । ‘धेरै प्रतियोगिता गराउँदा यस मैदानसँग म परिचित भइसकेको छु,’ उनले भने, ‘त्यही भएर पनि मैदान व्यवस्थापनको जिम्मेवारीलाई सहज ढंगले निर्वाह गर्न सकियो ।’ सुरुवातमा मैदानमा पानी पटाउने काम गरेका उनी अहिले मैदानले रुप फेरेकोमा दंग छन् ।

दैनिक १८ देखि २० जना कर्मचारी खटिएको मैदानमा हालसम्म करिब ६५ ट्रयाक्टर माटो भर्ने काम भइसकेको उनी बताउँछन् । सुरुमा पानी भर्ने र त्यसपछि मैदान लेभलका लागि माटो भर्ने काम प्राथमिकतामा परेको बताउँदै काफ्ले भने, ‘हरेक दिन बिहानदेखि बेलुकीसम्म मैदानमा खटिएका कारण यत्तिको बनाउन सकिएको हो ।’

खनाल र काफ्लेसँगै थिए अरुण लामा पनि । वैदेशिक रोजगारीमा १० वर्ष मकाउ बसेर आएका लामा अहिले फुटबलकै विकासमा सक्रिय छन् । ४७ वर्षीय लामा अढाई दशकदेखि फुटबलको समृद्धिमा सक्रिय छन् ।

राष्ट्रिय खेलकुद परिषद्द्धारा सञ्चालित सान कार्यक्रममा प्रशिक्षकको भूमिकामा मैदानमा स–साना बालबालिकालाई फुटबल प्रशिक्षण गराउनदेखि हाल रंगशालाको मैदान स्तरोन्नतीका लागि उनी खटिएका छन् । ‘मैदानमा हामीले राम्रै परिश्रम पोख्यौं । यो परिश्रम समग्र फुटबलको विकासका लागि हो,’ उनले भने, ‘बिहान घरबाट हिंड्दा कोही उठेका हुँदैन थिए । बेलुका जाँदा सुतिसकेका हुन्थे ।

लामाले कुनै तलव र भत्ता बिना आफूहरु मैदान व्यवस्थापनमा खटिएको जानकारी दिए । ‘अन्तर्राष्ट्रिय मान्यतामा गोल पोष्टको उचाइ ८ फिटको हुनुपर्नेमा सुरुमा करिब ६ इन्च कम रहेको थियो,’ उनले भने, ‘पोष्टको उचाई पनि मिलाउने काम सकिसक्यौं ।’ त्यसपछि पोष्टको डि–बक्स क्षेत्रबाट माटो झिक्ने, लेभल गर्ने र पुर्ने काम गरिएको लामाको भनाइ छ ।

मैदान निर्माणका लागि हालसम्म ६५ ट्रयाक्टर माटो भरिसकिएको जानकारी मैदान व्यवस्थापन समितिले दिएको छ । मैदानको विभिन्न भागमा ७ ट्रयाक्टर घाँससहितको चपरी माटो राखिएको छ ।

मैदानमा घाँस उमार्नका लागि नियमित रुपमा यूरिया तथा जैविक मल प्रयोग गर्दै आएको मैदानका विशेषज्ञ रजकको भनाइ छ । मुख्यतः हिउँदमा पानी पटाउने र शीतबाट जोगाउनुपर्ने अवस्था हुने बताएका रजकका अनुसार वर्षामा घाँस केलाउने, काट्ने, पानी अधिक जम्न नदिने जस्ता कुरामा ध्यान दिनुपर्नेमा जोड दिन्छन् ।

खेलका क्रममा मैदानको मुख्य बीच भाग, कर्नर क्षेत्र र गोलपोष्टको १८ यार्ड बढी व्यस्त हुनेगरेको छ । त्यसैले पनि मैदान निर्माणमा सो क्षेत्रमा अलि बढी ध्यान दिएको पाइएको रजकको भनाइ छ ।

गएको एकसातादेखि मैदानको हेरचाहमा समयदिँदै आएका रजकले अन्तिम चरणमा अब माटो छर्दै २० टन र १० टनको रोलर मेसिन मैदानमा चलाउन बाँकी रहेको जानकारी दिए ।

हाल अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका लागि एन्फासँग काठमाडौंस्थित एन्फा एकेडेमीको मैदान र हलचौकस्थित सशस्त्र प्रहरी बलको मैदान रहेका छन् । जहाँ नियमित प्रतियोगिता हुने गरेका छन् ।

त्यसैगरि एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशाला निर्माणाधीन अवस्थामा छ । दशरथ रंगशालाको तुलनामा विराटनगरको सहिद मैदान ठूलो रहेको रजकले बताए । शहिद रंगशालाको कुल लम्बाई १ सय ३ मिटर र चौडाई ७३ मिटरको छ । यसको तुलनामा निर्माणाधीन दशरथ रंगशालाको लम्बाई १ सय ३ मिटर भए पनि चौडाई ६८ मिटरको मात्र रहेको जानकारी उनले दिए ।

त्यसैगरि, सातदोबाटोस्थित एन्फा एकेडेमी मैदानको लम्बाई १ सय ५ मिटरको रहेको छ भने चौडाई ६८ मिटर । फुटबल मैदानको तेश्रो विकल्पको रुपमा रहेको हलचौक मैदान भने १ सय २ मिटर लम्बाई र ६८ मिटर चौडाईको रहेको छ ।

यसैकारण पनि करिब साढे १० हजार क्षमताको विराटनगरको सहिद रंगशालामा उमेर समूहदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालनका लागि उपयोगी सिद्ध मैदानका रुपमा रहनसक्ने एन्फाका सहायक महासचिव बसन्त अर्याल बताउँछन् ।

यसका लागि विराटनगर महानगरपालिकाको सहयोग र जिम्मेवारीपनि उत्तिकै रहेको अर्यालको भनाइ छ । उनी अन्य कार्यक्रमका लागि यस मैदान प्रयोग गर्न नहुने बताउँछन् ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३