प्रकाशित : १५ फाल्गुन २०७५, बुधबार १८:४४

विराटनगर, १५ फागुन । विराटनगरमा हिजोदेखि बसेको राष्ट्रिय जनता पार्टी (राजपा) को प्रदेश १ स्तरीय बैठक कुनै पनि ठोस निर्णय नगरिकन आज सकिएको छ ।

बैठक सकिए लगत्तै केन्द्रीय नेताहरु काठमाडौं लागेका छन् । बैठकमा प्रदेशका नेता कार्यकर्ताले विभिन्न समस्याहरु राखे पनि त्यसलाई सुन्ने मात्रै काम भएको स्रोतले बतायो ।

विभिन्न जिल्लाहरुमा चक्रिय प्रणाली अनुसार अध्यक्ष मण्डलमा कायम रहेको विवाद र प्रदेशमा संगठन विस्तारलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा बैठक केन्द्रीत भएको राजपा प्रवक्ता दिनेश मेहताले बताउनु भयो । उहाँका अनुसार आगामी केन्द्रीय महाधिवेशनका विषयमा बैठक केन्द्रीत भए पनि बैठकमा कुनै निर्णय भने भएन । पार्टीको गुट उपगुका विषयमा बैठकमा कुरा उठे पनि केन्द्रीय नेता यस विषयमा मौन रहेको स्रोतले बतायो ।

मेहताले बैठकमा पार्टीको भावि रणनीति र प्रदेश १ सरकारले गरेका काम कारवाहीका विषयमा पनि छलफल भएको बताउनु भयो । पार्टी भित्रको आपसी मतभेद अन्त्य गरेर जाने विषयमा भने सबै नेता एकमत देखिएका थिए ।

बैठकमा राजपाका केन्द्रीय अध्यक्ष मण्डलका ६ जना अध्यक्षसहित जिल्लाका अध्यक्ष मण्डलका सदस्यहरु, पार्टीका केन्द्रीय सदस्य र पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

बैठकमा सहभागी हुन आउनु भएका केन्द्रीय अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, महेन्द्रराय यादव, राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झा, शरदसिहं भण्डारीले आफू निकटका केन्द्रीय तथा जिल्ला नेता तथा कार्यकर्तासँग अलगअलग भेटघाट गरेको स्रोतले बतायो । प्रदेशका झापा, सुनसरी, मोरङ, उदयपुर र धनकुटा बाहेकका जिल्लामा राजपाको कुनै संगठन छैन ।

संगठन भएका जिल्लामा पनि पार्टी चलाउनमान हुन नसकेको र अन्य जिल्लामा संगठन विस्तार गर्न नसकेको भन्दै बैठकमा केन्द्रीय नेताहरुको तीव्र आलोचना भएको स्रोतले बतायो ।

आगामी केन्द्रीय महाधिवेशन लक्षित प्रदेश स्तरीय बैठक सकेर केन्द्रीय नेताहरु आज नै काठमाडौं फर्किएका छन् । राजपा गठन भएपछि पहिलो महाधिवेशन आगामी बैशाख ७, ८ र ९ गते गरिने पार्टीले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३