प्रकाशित : १५ फाल्गुन २०७५, बुधबार १०:५१

विराटनगर, १५ फागुन । चालु आर्थिक बर्ष २०७५/०७६ को सात महिनामा प्रदेश नं १ सरकारको पुँजीगत तर्र्फ एक अर्व २३ करोड ८७ लाख मात्र खर्च भएको छ ।

प्रदेश नं १ कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पुँजीगत तर्फ विनियोजित कुल रकमको ६.६५ प्रतिशतमा खर्च भएको हो । चालु आ.व.मा प्रदेश सरकारले पुँजीगत तर्फ १८ अर्व ८७ करोड ८४ लाख विनियोजन गरेको थियो ।

तर गत फागुन २ मा प्रदेश सरकारले आयोजना गरेको एक कार्यक्रममा भने माघ मसान्त सम्ममा पुँजीगत खर्च १० प्रतिशत भएको जानकारी गराइएको थियो ।

सरकारले गर्ने पुँजीगत खर्च न्यून भएपछि स्वयं सरकारका मन्त्रीहरु नै असन्तुष्टी व्यक्त गर्न थालेका छन् । प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले अहिलेसम्म प्रदेश सरकारले गरेको पुँजीगत खर्चको अवस्था निराशजनक रहेको बताउनुभयो । उहाँले अहिलेसम्म ४० प्रतिशत भन्दा बढी पुँजीगत खर्च हुनु पर्नेथियो तर एकदमै निराशाजनक रहेको बताउनुभयो ।

सरकारी खर्च कम भएपछि त्यसको प्रत्यक्ष असर बजारमा पनि परेको व्यवसायी बताउँछन् । खास गरेर निर्माण सामाग्रीमा डण्डी र सिमेन्टको बजार अहिले एकदमै मन्दिको अवस्थामा रहेको छ । गत बर्षको मंसीरमै तीन पटक सम्म तेजी आएको सिमेन्टमा अहिले स्थिर अवस्था रहेको बुलन्द सिमेन्टका प्रोपाईटर मनिष मारु बताउनुहुन्छ ।

गत बर्षको फागुन महिनाको तुलानामा अहिले प्रति बोरा सिमेन्टमा दुई सय गिरावट आएको व्यवसायी बताउँछन् । ‘बजारमा कुनै माग छ्र्रैन, पुरै मन्दी छ’– उद्योगी मारुले भन्नुभयो ।

त्यस्तै अवस्था डण्डी उद्योगको पनि रहेको छ । डण्डी उद्योगमा अहिलेको जस्तो नराम्रो अवस्था कहिले नआएको पशुपति आईरन एण्ड स्टीलका सञ्चालक अशोक मुरारका बताउनु हुन्छ । गत बर्षको तुलनामा बजारमा ५० प्रतिशतले डण्डीको माग कम भएको उहाँको भनाई छ ।

‘दुई महिना देखि बाहिराबाट कच्चा पदार्थ मगाएर डण्डी तयार गरिएको छ, तर माग ठप्प छ । यसले बैंकको व्याज बढेर उद्योगले धान्नै नसक्ने अवस्था आइसक्यो’– मुरारकाले भन्नुभयो ।

बजारमा माग आउन छाडेपछि १५ दिन देखि उद्योगमा उत्पादन नै कटौति गरिएको उहाँले बताउनुभयो ।

पुँजीगत खर्च नभएसम्म विकास निर्माणको काम नहुने र विकासको काम नभएसम्म बजारको गतिविधि नहुने व्यवसायी बताउँछन् । बजारको अवस्थामा सुधा नआए उद्योगबाट मजदुर कटौती गर्नुपर्ने अवस्था आउन सक्ने उद्योगीको भनाई छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३