Breaking News

थारु समुदायमा दाईजो सकस बन्दै

महेन्द्र विष्ट प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलवार ०८:२३

विराटनगर, १४ फागुन । मोरंगको ग्रामथान–१ तेतरीयाका पल्टन माझी अहिले ६८ बर्षे बुढौली उमेर गुजार्दैछन् । झण्डै ५० बर्ष अघि थारु संस्कार अनुसार उनको विवाह भएको थियो ।

विवाह गर्दा उनका ससुरालीले उनलाई एउट थाल र लोटामा कन्यादान दिएका थिए ।
तर अहिले समय फेरीएको छ । उनका गाउँमा हिजो–आज मोटरसाईकल दाइजो नदिएसम्म छोरीको विवाह हुँदैन । विवाहमा दाईजो लिने कुरा थारु संस्कार भित्र पर्दैन ।

तर अन्य समुदायबाट संस्कृतिटाईजन हुँदै थारु समुदायमा पनि केटा पक्षले केटी पक्षसँग दाईजो लिने चलन बढ्दो अवस्थामा रहेको महेन्द्र मोरङ क्याम्पस विराटनगरका मानविकी संकायका प्रमुख डा शुशिल अधिकारी बताउनुहुन्छ ।

थारु संस्कृतिमै विद्यावारिधि गर्नु भएका डा.अधिकारीका अनुसार मोरङ–सुनसरीमा विभिन्न आठ प्रकारका थारु बसोबास गर्दै आएको छन् । जसमा खडेर, हेलजेलिया, रौतार, भडभमिया, सप्तरीया, राजघरैया र मोरङ्गीया रहेका छन् ।

यी दुई जिल्लामा मोरङीया थारुको सख्या उल्लेखनिय रहेको छ । तर यी कुनै पनि थारु जातिमा दाईजो लिने कुरा पुरानो संस्कार होइन ।
पछिल्ला दिनमा थारु जातिमा बढ्दो दाईजो प्रथाले यो समुदायका अगुवाहरुलाई निकै चिन्तित बनाएको छ ।

देखासेखीका कारण दाईजोको बढ्दो होडबाजीले सामन्य आर्थिक अबस्था भएका थारुहरु समस्यामा पर्न थालेको ग्रामथान गाउँपालिकाका प्रमुख शिवनारायण चौधरी बताउनु हुन्छ । बढ्दो देखासेखिले सुकमबासीले पनि मोटरसाईकल दिनुपर्ने अबस्था आएको उहाँको भनाई छ ।

‘जग्गा दिन्छु भन्दा पनि हुँदैन । मोटरसाईकल नै माग्छन् । जति धेरै पढेको केटा , त्यति नै धेरै दाईजो खोज्छ’– उहाँले भन्नुभयो । दाईजो दिन नसक्दा छोरीको विवाह नहुने समस्या बढ्दै गएको छ । दाईजोकै कारण विवाह नहुने र केटीको उमेर ढल्किदै जाँदा अझ बढी दाईजो खोज्ने चलन यो समुदायमा जटिल बन्दै गएको छ ।

वढ्दो दाईजो प्रथाले थारु समुदायलाई विस्तारै अप्ठ्यारो पर्दै गएको ग्रामथान–१ का वडाध्यक्ष नमोनारायण माझी बताउनु हुन्छ । बाजे बराजुदेखी चलेको परम्पपरालाई बाहिरी संस्कृतिले विगारेको उहाँको बुझाई छ । ‘दाईजो नदिएकै कारण धेरै थारु महिलाहरुले घरेलु हिँसाको सिकार हुनुपरेको छ । सबै कुरा बहिरा आउँदैनन् तर समस्या चर्को हुँदै गएको छ । सम्पति नहुनेका छोरीको बिबाह नै नहोला जस्तो भइसक्यो’–उहाँले भन्नुभयो ।

बढ्दो दाईजो प्रथालाई आफ्नो ठाउँबाट अन्त्य गर्न ग्रामथान गाउँपालिकाले ‘बेटी बचाओ’ अभियान सुरु गरेको छ । यस अन्तर्गत छोरी जन्माउने महिलालाई तीन हजार राशी दिईन्छ । गाउँपालिको यो अभियानले थारु समुदायलाई विस्तारै दाईजो विरुद्ध अघि बढ्न प्रेरणा मिलेको वडाध्यक्ष माझीको बुझाई छ ।

थारु समुदायमा केटा पक्षले दाईजो लिने भन्दा पनि केटी पक्षलाई सहयोग गरेर विवाह गर्ने पुरानो चलन रहेको अधिवक्ता नीरा भगत वताउनुहुन्छ । ‘नीराका बाबु छत्रु भगतले आमा फुलकीदेवीलाई विवाह गर्दा आठ मन धान दिएका थिएरे ’ आमा फुलकी देवीलाई उधृत गर्दै उहाँले भन्नुभयो । तर अहिले मोटरसाईकल नदिई छोरीको विवाह नै हुन छाडेकोछ ।

दाईजो प्रथा विहारबाट भित्रिएको धेरै थारु अगुवाहरुको बुझाई छ ।

‘पहिले हामीले बिहारीलाई नागरिकता दिएर भित्र्यायौ पछि उनिहरुले दाईजो प्रथा भित्र्याए’–अधिवक्ता भगत भन्नुहुन्छ । दाईजो नदिएकै कारण कतिपय थारु महिलाहरुको विवाह पछि सम्बन्ध विच्छेद नै हुने घटना पनि यो समुदायमा बढ्दै गएका छन् ।

विवाह पछि पनि केटा पक्षले नवदुलहीलाइ जग्गा, पैसा र विभिन्न भौतिक सामाग्री माग्न लगाएर मानसिक याताना दिने गरेको डंग्राहका स्थानीय शिक्षक भरतलाल भगतको अनुभव छ ।

बढ्दो दाईजो प्रथाका कारण थारु समुदायमा छोरी पढाउने कुरा पनि समस्या बन्दै गएको छ । ‘छोरीलाई पढाएपछि केटा पनि पढेकै खोज्नुप¥यो, पढेको केटाले दाईजो नलिई विवाह नै गर्दैन’ उहाँले भन्नुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३