Breaking News

लागुऔषध अफिमको खेती विरुद्ध प्रहरीको ‘स्टिङ अप्रेशन’

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलवार ०८:०९

विराटनगर, १४ फागुन । कानुनले पूर्ण रुपमा प्रतिबन्ध लगाएको लागुऔषध अफिमको खेती विरुद्ध प्रहरीले मोरङमा सोमबारबाट ‘स्टिङ अप्रेशन’ सुरु गरेको छ ।

जताततै अफिमको व्यवसायिक खेती हुने गरे पनि कानुन कार्यान्वयन गर्ने निकाय मौन बसेको जनगुनासो आइरहँदा अफिम विरुद्ध प्रहरी कडा रुपमा प्रस्तुत भएको हो ।

प्रहरीले सोमबार मात्रै मोरङको सुनवर्षी र पथरीशनिश्चरे नगरपालिकामा एक कट्ठा १४ धूर जग्गामा लगाइएको तीन हजार ३४ बोट अफिम कानुनी प्रक्रिया पूरा गरेर नष्ट गर्दै यसको व्यवसायिक खेतीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

अहिले अफिमको फुल खेल्ने र दाना लाग्ने समय हो । अफिमको दानाबाट निस्किने चोपलाई लागुऔषधका रुपमा प्रयोग गर्ने गरिएको प्रहरीले जनाएको छ । अन्य वस्तुहरुमा मिसाएर पनि यसको प्रयोग गरिन्छ । तरकारी, अचार तथा आलुबाट बन्ने चप लगायतका परिकार र ब्रेडहरुमा पनि प्रयोग गरेर यसको सेवन गर्ने गरिएको प्रहरीले जानकारी दिएको छ ।

यस अघि प्रहरीले यसको खेती गर्नेलाई पक्राउ गर्दैन थियो । धेरै ठाउँमा लगाइएका अफिम खेती नष्ट गरे पनि प्रहरीले व्यवसायिक खेतीमा संलग्नलाई भने उन्मुक्ती दिंदै आएको थियो ।

अफिको खेतीमा संलग्न सुनवर्षी नगरपालिका–२ का ५२ वर्षीय बुर्ज गनगाई र पथरीशनिश्चरे–५ का चमरु भनिने ५० वर्षीय चन्द्रप्रसाद सिंह गनगाईलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेका दुबै जना लामो समयदेखि व्यवसायिक रुपमा लागुऔषध अफिमको खेतीमा संलग्न व्यक्तिहरु भएको खुलेको छ ।

प्रहरीले बुर्जले आफ्नो ४ धूर जमिनमा लगाएको दुई सय ५७ बोट र चन्द्रप्रसादले आफ्नो ७ धूर जमिनमा एक हजार चार सय ४७ बोट अफिम नष्ट गर्दै उनीहरुलाई पक्राउ गरेको हो ।

अफिम खेती नष्ट गर्न र यसको खेती गर्ने कार्यमा संलग्नलाई पक्राउ गर्नका लागि इलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी निरीक्षक कमल बजगाई र इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षक कवीन्द्र कार्की नेत्रृत्वको भिन्दा भिन्दै टोली परिचालित थियो । प्रहरीले सुनवर्षी–२ का बाशुदेव गनगाईले पनि एक कट्ठा क्षेत्रफलमा लगाएको एक हजार तीन सय ३० बोट अफिम नष्ट गरिदिएको छ ।

वर्षौदेखि व्यवसायिक खेती गर्ने बाशुदेव भने फरार भएका कारण पक्राउ गर्न नसकिएको र खोजी थालिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई पक्राउ परेकाहरुलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अफिम खेती अन्तर्गत कारवाही अघि बढाइने डीएसपी श्रेष्ठले बताउनुभयो ।

उहाँले प्रहरी अफिम खेती विरुद्ध कडा रुपमा प्रस्तुत भएको जानकारी दिंदै भन्नुभयोे, ‘मोरङका धेरै ठाउँमा अफिम खेती हुने गरेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको छ । यसको खेती गर्ने कोही कसैलाई पनि अब उन्मुक्ती मिल्दैन ।’

अफिमलाई कानुनले पूर्ण रुपमा प्रतिबन्ध लगाएका कारण पनि प्रहरीले यसको खेती र व्यापारमा निरुत्साहित गर्ने अभियान चलाएको जानकारी डीएसपी श्रेष्ठले दिनुभयो ।

यसको खेती २५ बोटसम्म गरिए १ देखि ३ वर्षसम्म कैद र पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । २५ बोट भन्दामाथि जतिसुकै भए पनि ३ देखि १० वर्षसम्म कैद र २५ हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवानाको सजाय हुने कानुनी व्यवस्था छ । विशेष गरेर नेपाल–भारत सीमावर्ती क्षेत्रमा यसको खेती व्यापक रुपमा हुने गरेको छ ।

नेपालमा उत्पादन गरेर अफिम भारततिर लैजाने गरिएको र केही नेपालमै पनि लागुऔषधका रुपमा प्रयोग गर्ने गरिएको प्रहरीको निस्कर्ष छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३