प्रकाशित : १२ फाल्गुन २०७५, आईतवार १५:३५

विराटनगर, १२ फागुन । भाषाशास्त्री एवं बरिष्ठ साहित्यकार प्रा. बालकृष्ण पोखरेलको विराटनगरस्थित परोपकार घाटमा अन्त्येष्टी गरिएको छ ।

उहाँको शवलाई श्रद्धाञ्जली दिनका लागि कुनै सार्वजनिक स्थानमा भने राखिएन । उहाँलाई छोरा मुनाल पोखरेलले दागबत्ती दिनुभयो । पोखरेलको पार्थिक शरीरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले नेपालको राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली दिनु भयो ।

भाषाशास्त्री पोखरेलको सम्मानका लागि विराटनगर महानगरपालिकाबाट एक दिन सार्वजनिक विदा दिने तयारी गरिएको प्रमुख भीम पराजुलीले बताउनु भयो ।

पोखरेललाई अन्तिम श्रद्धाञ्जली दिनका लागि विभिन्न दलका नेता, कार्यकर्ता, समालोचक साहित्यकार, शुभचिन्तक परोपकार घाट पुगेका थिए । नेपाली भाषा र साहित्यको संरक्षण एवं सम्वद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउनु भएका नेपालका प्रथम भाषाशास्त्री ८६ वर्षीय पोखरेलको आज विहान साढे १ बजे विराटनगर–१० स्थित निवासमा निधन भएको थियो । साहित्यिक विद्धानहरुले पोखरेललाई भाषा र साहित्यका शिखर युग पुरुष भन्ने गर्छन ।

भाषाविद् पोखरेललाई भारतको सिक्किमस्थित गान्तोकमा छोरीको घर गएको बेला गत माघ ६ गते मस्तिष्कघात भएपछि उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल लगिएको थियो । उपचारपछि विराटनगर ल्याइएका उनको स्वास्थ्य बिग्रदै गएपछि थप उपचारका लागि विराटनगरकै श्री अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा ५ दिनको उपचारपछि उहाँ घरमै आराम गरिरहनु भएको थियो । विगतदेखि नै उच्च रक्तचाप र मधुमेहको समस्या रहेपछि नेपाली भाषाका विज्ञ पोखरेलले नियमित औषधि सेवन गर्दै आउनु भएको थियो ।

‘बहुआयामिक भाषिक युग पुरुषको निधनले नेपाली भाषा र साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको छ,’ बरिष्ठ साहित्यकार दधिराज सुवेदीले भन्नु भयो, ‘हामीले नेत्रृत्वदायी भूमिका निर्वाह गर्ने अभिभावक गुमाउन पुग्यौं ।’ उहाँले राष्ट्रको भाषा र साहित्यको गहनाका रुपमा लिइने पोखरेल जस्ता मुर्धन्य स्रष्टाको जन्म नेपालमा विरलै हुने गरेको बताउनु भयो ।

रूपावासी, वसन्त, वत्सल, ईसावापुर, लक्ष्मीविलास पाध्या, केकेमनुक्च्यो पोखरेल, गढतिरे साँहिलो, हिमालपाने बराल लगायतका दर्जनौं उपनामबाट भाषा विज्ञ पोखरेललाई नेपाली साहित्यमा चिन्ने गरिन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य पोखरेलका एक सय १५ वटा प्रकासित र अप्रकासित कृतिहरु रहेको बरिष्ठ साहित्यकार सुवेदीले बताउनु भयो ।

उहाँका अनुसार पोखरेलका ‘बृहत नेपाली–अँग्रेजी–नेपाली’ शब्दकोष, ‘खस जातिको इतिहाँस’, पाँच सय वर्ष आदि महत्वपूर्ण कृतिहरु हुन् । प्राज्ञ विवश पोखरेलले नेपाली भाषाको झर्रोवादी आन्दोलनका अगुवाका रुपमा सबैले बालकृष्ण पोखरेललाई चिन्ने गरेको बताउनु भयो । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले प्रकासित गरेको बृहत नेपाली शब्दकोषको सम्पादन पोखरेलले नै गर्नु भएको थियो ।

प्राज्ञ पोखरेलले राज्यले र समाजले कहिल्यै पनि बिर्सन नहुने र कदरयोग्य छाप छाडेर बालकृष्ण पोखरेल विदा हुनु भएको बताउनु भयो ।

कथा, कविता, उपन्यास, काव्य, शब्दकोश, समालोचना, निबन्ध, अनुसन्धान– सबै क्षेत्रमा पोखरेलको हस्तक्षेप प्रभावकारी र सम्प्रेषणीय रहने गरेको थियो ।

उहाँको ७५ प्रतिशत काम सकिएको ‘रुपारानी’ महाकाब्य प्रकासित गर्ने सपना भने अधुरै रहयो ।

पोखरेलको जन्म बिक्रम संवत १९९० मा मकवानपुरको चिसापानी गढीमा बुवा सुब्बा शारदा पोखरेल र आमा कृष्णछायाँदेवीका सुपुत्रका रुपमा भएको हो ।

पोखरेलका एक छोरा र दुई छोरी हुनु हुन्छ । श्रीमती शान्तादेवी पोखरेलको चार वर्ष अघि निधन भइसकेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३