प्रकाशित : १२ फाल्गुन २०७५, आईतवार ०७:५८

विराटनगर १२ फागुन । वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको आज विहान निधन भएको छ । ८६ बर्षीय पोखरेलको विहान साढे १ वजे घरमै निधन भएको हो ।

८६ बर्षीय प्राध्यापक पोखरेललाई भारतको सिक्किम स्थित गान्टोकमा छोरीको घर गएको बेला मस्तिष्कघात भएको थियो । गान्टोकबाट काठमाण्डौं लगेर नर्भीक अस्पतालमा उपचार गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि विराटनगरमा ल्याएर उपचार गरिएको थियो । विराटनगर आएपछि स्वास्थ्य विग्रीएपछि उहाँलाई श्री अस्पतालमा भर्ना गरिएको थियो ।

लामो समयदेखि उच्च रक्तचाप र मधुमेहको औषधि सेवन गरिरहनु भएका प्राध्यापक पोखरेललाई भारतको सिक्किममा गत माघ ६ गते मस्तिष्काघात भएको थियो ।

पोखरेलको जन्म वि.स. १९९० मा चिसापानीगढी, मकवानपुरमा भएको हो । उहाँ रूपावासी, वसन्त, वत्सल, ईसावापुर, लक्ष्मीविलास पाध्या, केकेमनुक्च्यो पोखरेल, गढतिरे साहिलो, हिमालपाने बराल आदि उपनामबाट पनि नेपाली साहित्यका क्षेत्रमा चिनिनुहुन्छ । उहाँ कलकत्ता विश्वविद्यालयबाट ऐतिहासिक भाषाशास्त्रमा स्नातकोत्तर उपाधि प्रप्त गरी २०१९ देखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन कार्यमा संलग्न रहनु भएको थियो ।

२०२७ सालदेखि २०३६ सालसम्म महेन्द्र मोरङ क्याम्पसमा र स्नातकोत्तर क्याम्पस खुलेपछि सोही क्याम्पसमा भाषाविज्ञान प्राध्यापन गर्ने पोखरेलले २०४६ मा अवकास लिएर स्वतन्त्र रूपमा अध्ययन गर्नु भएको थियो ।

उहाँ २०३६ देखि २०४१ सम्म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य हुनु भएको थियो । सो समयमा उहाँले बृहत् नेपाली शब्दकोशको सम्पादनमा गहनतम योगदान पुर्याउनु भएको थियो । पोखरेलका अनेक भाषिक तथा साहित्यिक संस्थाहरूमा आबद्ध हुनुहुन्थ्यो । प्राध्यापक पोखरेलका ३ दर्जनबढी कृतिहरु प्रकाशित छन् ।

उहाँले नेपाली भाषा र साहित्य नामक ग्रन्थका लागि गद्य विधामा मदन पुरस्कार २०२१ प्राप्त गर्नु भएको थियो । यसबाहेक उहाँले प्रतिभा पुरस्कार, गोपाल पाण्डे असीम पुरस्कार, झपट पुरस्कार (२०५५), उदयानन्द पुरस्कार (२०५६), पृथ्वी प्रज्ञा पुरस्कार आदिबाट सम्मानित हुनु भएको थियो ।

पोखरेलका १ छोरा र २ छोरी छन् । पोखरेलकी श्रीमतीको ४ बर्ष अघि नै निधन भएको थियो ।

उहाँको अन्तष्टी आजै परोपकारघाटमा गरिने पारिवारीक श्रोतले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३