Breaking News

चालकको हत्यामा संलग्न शिक्षक १० वर्षपछि पक्राउ

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार १७:४१

विराटनगर १० फागुन । मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा मारुती भ्यान चालक २७ वर्षीय दिपक पाण्डेको हत्या बौद्धिक व्यक्तिले गरेको खुलेपछि प्रहरी नै अचम्ममा परेको छ ।

झापाको बिर्तामोड नगरपालिका–४ (साविकको अर्जुनधारा गाविस–२ ) घर भएका पाण्डेको हत्या १० वर्ष अघि भए पनि प्रहरीले घटनामा संलग्नलाई भने अहिले पक्राउ गर्न सकेको हो ।

उनको हत्या मोरङको साविकको डाँगीहाट गाविस–४ (हालको बेलबारी–१० भाउन्ने) चोकको दक्षिणतर्फको चउरमा २०६५ साल चैत ३१ गते राति ११ भएको हो । शव फेला परे पनि प्रहरीले हत्यामा संलग्नको पहिचान गर्न सकेको थिएन ।

प्रहरीले पाण्डेले चलाउँदै आएको को १ च ३८५० नम्बरको मारुती भ्यान लुट्नलाई चालकको हत्या शिक्षण पेशामा आवद्ध ४३ वर्षीय शरण भट्टराईले गरेको जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार हत्यामा संलग्न भट्राई पोखराको अन्नपूर्ण उच्च मावि र कसमस ईन्टरनेशनल कलेजका शिक्षक हुन् । उनले त्यहाँ २०६० सालदेखि अध्यापन गराउँदै आएका थिए ।

प्रहरी अनुसन्धानबाट शिक्षक भट्राई २०६५ चैत २९ गते नाईट बस चढेर झापा आएको र त्यसको पर्सीपल्ट चैत ३१ गते पाण्डेको हत्या गरेको खुलेको छ । पाण्डेसँग मोबाइलमा सम्पर्क गरेर बिर्तामोड बजारबाट भ्यान रिजर्व गरेर इटहरीतर्फ लागेका भट्राईले बीचमै चालकको घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको खुलेको एसपी केसीले बताए ।

उनका अनुसार लट्याउने औषधि कोकमा मिसाएर चालकलाई खान दिएर लट्याएर घाँटीमा दाउर प्रहार गरेर हत्या गरेपछि भ्यान लुटेर आफैले हाँक्दै भट्टराई पोखरातिर गएको खुलेको छ । हत्या गर्ने पूर्व योजनाका साथ दाउ भट्राई आफैले लिएर आएको खुलेको छ ।

भारतको पानीट्यांकी पुगेर लट्याउने औषधि किनेर ल्याएको र त्यही औषधि खुवाएर लट्याएपछि भट्टराईले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । चालक पाण्डेको हत्यापछि भ्यान आफै चलाएर पोखरा पुगेका भट्टराईले पोखरा उपमहानगरपालिका–९ का हीरा गिरीको घरमा उक्त भ्यान राखेका थिए ।

भट्टराईले पैसा आवश्यक परेको भनेर उक्त भ्यान राख्दै केही दिनका लागि भन्दै गिरीसँग ६५ हजार रुपैयाँ लिएर गएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्यापछि असुरक्षित महसुश गरेर कोठाको कुनै सामान नलिइकन श्रीमती र छोरालाई मात्रै लिई शिक्षक भट्राई भारतको तीनसुकिया पुगेको प्रहरीले पत्ता लगाएको छ ।

त्यसपछि उनी भारतको दार्जिलिङ जिल्लाको पानी ट्यांकीमा बस्दै आएको खुलेको छ । पानी ट्यांकीबाट झापाको काँकडभित्तामा आएको बेला भट्राईलाई यही फागुन ७ गते इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईको नेत्रृत्वमा खटिएको प्रहरी टोली उनलाई पक्राउ गर्न सफल भएको हो ।

उनी विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन शुक्रबार जिल्ला अदालत मोरङबाट म्याद थप गर्दै हिरासतमा राखेर अनुसन्धान थालिएको केसीको भनाइ छ ।

प्रहरीले उनलाई शुक्रबार पत्रकार सम्मेलन गरेर विराटनगरमा सार्वजनिक पनि गरेको छ । भ्यान जाकटी राखेर ६५ हजार लिएर गायव बनेका भट्राई लामो समयसम्म नआएपछि गिरीले उक्त भ्यानका पार्टपूर्जा कवाडीका रुपमा पोखराकै जग्गुनारायण साहलाई बिक्री गरेको खुलेको छ । कवाडीमा भ्यानका पार्टपूर्जा खरिद गरेका जग्गुनारायणको भने मृत्यु भइसकेको जानकारी एसपी केसीले दिनुभयो ।

भ्यानको पार्टपूर्जा फेला परिहाल्छ कि भनेर पोखरा पुगेको प्रहरीको एउटा टोली कुनै पनि सामान फेला नपरेपछि त्यत्तिकै फर्किएर आएको छ ।

भारतमा बस्दै आएका कारण भट्राईलाई पक्राउ गर्न नसकिएको र नेपाल आएको मौका छोपेर पक्राउ गर्दै अनुसन्धान थालेपछि घटनामा संलग्नता स्वीकार गरेको केसीको भनाइ छ । ‘सुरुमा त यति बौद्धिक व्यक्तिले हत्या गरे भनेको सुन्दा हामी नै अचम्मा प¥यौं,’ उहाँले भन्नुभयोे, ‘अनुसन्धान गर्दै जाँदा वास्तविकता पत्ता लगाउन सकियो ।’

शिक्षक भट्राईले केमेस्ट्रीमा स्नातकोत्तर गरेका छन् । प्रहरीले घटनाका बेला तयार पारेको ‘स्केच’ पनि घटनासँग मेल खाएको केसीले बताउनुभयो । ‘हत्याको अरु कुनै कारण नदेखिएको र पैसाको अभाव भएपछि चालकको हत्या गरेर भ्यान लुटेर बिक्री गर्ने योजना भट्टराईले बनाएको देखिन्छ,’ एसपी केसीले भने, ‘पछि पोखरा पु¥याएर भ्यान जाकटी राख्दै ६५ हजार लिएको विषयले पनि यसको पुष्टि गर्छ ।’

उनले लामो समयको अनुसन्धानबाट सफलता मिलेको बताउँदै विभत्स र ठूला खालको घटनालाई प्रमाणसँग जोड्दै जाँदा हत्यामा संलग्न लामै समयपछि भए पनि पक्राउ परेको जानकारी दिए ।

पुराना खालका र गम्भीर घटनालाई पछ्याउन सकेनौं भने प्रहरीको अपराध अनुसन्धानले सार्थकता प्राप्त गर्न नसक्ने बुझेर यस घटनालाई विभिन्न कोणबाट आफ्नै तरिकाले अनुसन्धान जारी राख्दा सफलता हात परेको केसीको भनाइ छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३