प्रकाशित : ७ फाल्गुन २०७५, मंगलवार १८:४२


विराटनगर, ७ फागुन । ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा विराटनगरमा प्रभातफेरी निकालिएको छ ।
प्रदेशस्तरीय समारोह समितिको आयोजनामा निकालिएको प्रभातफेरीमा प्रदेश सरकारका मन्त्री, कर्मचारी, सुरक्षा निकायसहित सर्वसाधारण सहभागि भएका थिए ।
स्थानिय ट्राफिकचोकबाट प्रभातफेरी निकालिएको थियो । प्रहरीको ब्याण्डसहित निकालिएको प्रभातफेरीका सहभागिले संसारीमाई स्थान, रोडशेषचोकबाट जनआन्दोलनचोक हुँदै नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गरेका थिए ।
नगरक्षेत्रको अन्य भागको परिक्रमा गर्दै पुनः ट्राफिकचोकमै पुगेर प्रभातफेरी समापन भएको थियो । प्रभातफेरीमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे, वन तथा पर्यटनमन्त्री जगदीशप्रसाद कुसियत, प्रदेश एकका प्रहरी प्रमुख केदार रिजाल, मोरङका एसपी मनोजकुमार केसीलगायत सहभागि हुनुभयो ।
प्रजातन्त्र दिवसको अवसर पारेर विराटनगर–११ अल्का टोलले दुई जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
भद्रचोकमा आयोजित कार्यक्रममा अल्का टोल समितिले स्थानीय ९० वर्षीया नन्दकुमारी ढकाल र ८० वर्षीया जिप्सी कामतलाई सम्मान गरेको हो ।
वृद्धा ढकाल र कामतलाई वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने र संयुक्त नगर टोल समन्वय समितिका अध्यक्ष राजेश मास्के, आयोजक समितिका अध्यक्ष यादनरसिंह कर्कीलगायतले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो