प्रकाशित : २६ माघ २०७५, शनिबार १८:५२


विराटनगर, २६ माघ । चेतना संरक्षण प्रतिष्ठान विराटनगरले विभिन्न क्षेत्रमा योगदान पु¥याउने आधा दर्जन व्यक्तिलाई आज विराटनगरमा आयोजित विशेष समारोहमा पुरस्कृत गरेको छ ।
प्रतिष्ठानले साहित्य, पत्रकारिता, संस्कृति, समाजसेवा, ललितकलालगायतका क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई नगद राशिसहित पुरस्कृति गरेको हो । एक दशकभन्दा लामो समयदेखि भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा लागेको प्रतिष्ठानले धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कारबाट साहित्यकार प्रा.डा. कपिल लामिछानेलाई पुरस्कृत गरेको छ । पुरस्कारको संस्थापक समाजसेवी हरिभक्त सिटौला हुन् । सिटौलाले मातापिताको स्मृतिमा पुरस्कार स्थापना गरेका हुन् ।
१ लाख १ हजार नगद राशिसहित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति प्राज्ञ के.के. कर्माचार्य, प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदी र पुरस्कारका संस्थापक सिटौलाले संयुक्त रुपमा दोसल्ला ओढाएर टीका, माला लगाएर सम्मानपत्र प्रदान गरे ।
त्यस्तै संस्कृतिविद् प्रा.डा. सोमप्रसाद खतिवडालाई देवकिशन मुन्दडाद्वारा स्थापित बालकिशन–नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्म–संस्कृति चेतना पुरस्कार, वरिष्ठ पत्रकार युवराज घिमिरेलाई दिनेश सुवेदीद्वारा भाइका नाममा स्थापित नरेश सुवेदी पत्रकारिता चेतना पुरस्कार, वरिष्ठ कलाकार मिथिला शर्मालाई गंगा सुवेदीद्वारा स्थापित भूपेन्द्र–शोभा रिजाल ललितकला चेतना पुरस्कार र समाजसेवी रमेशप्रसाद नेपाललाई उद्योगी एवं समाजसेवी दीनबन्धु गोयलद्वारा स्थापित ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार प्रदान गरियो ।
कुलपति कर्माचार्य लगायतले जनही ५१ हजार नगद राशिसहित माला, टीका लगाएर सम्मानपत्र हस्तान्तरण गर्नुभयोे । काठमाडौं बाहिर एउटै संस्थाले एउटै मञ्चमा सबैभन्दा बढी राशिको पुरस्कार वितरण गर्ने चेतना संरक्षण प्रतिष्ठान भएको संस्थाकी अध्यक्ष सुवेदीले दाबी गर्नुभयो ।