Breaking News

विराटनगर, २३ माघ । मोरङको सुन्दरहरैँचा नगरपालिकामा सडक डिभिजन कार्यालयको अनुमतिबिनै पूर्वपश्चिम राजमार्गको रूख कटान गरिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ ।

रूख काट्न मिल्ने वा नमिल्ने र काट्नुपर्ने अवस्थामा कस्तो प्रक्रिया पूरा गर्नुपर्ने हो भन्ने प्रतिवेदन तत्काल बुझाउन सडक डिभिजन कार्यालय र वन कार्यालयलाई अख्तियारले निर्देशन दिइसकेको छ ।

डिभिजन सडक विराटनगरका प्रमुख शुभराज न्यौपानेले सडक सम्पत्तिको विषयमा डिभिजन सडक र कार्यान्वयन गर्ने इकाई समेत रहेको डिभिजन वन कार्यालय मोरङसँग प्रतिवेदन माग गर्दै अख्तियारले पत्राचार गरेको जानकारी दिनुभयो । नगर प्रमुख शिवप्रसाद ढकालको निर्देशनमा नियम मिचेर जथाभावी रुख कटान हुन थालेको पाइएपछि छानविन थालिएको अख्तियार स्रोतले बतायो ।

सुन्दरहरैँचा नगरपालिकाले संघीय सरकारको मातहत रहेको सडकको क्षेत्रभित्रका रूख कटान गरेर बिक्री गरेको विषयमा जिल्ला प्रशासन कार्यालय मोरङले नगरपालिकासँग जानकारी मागेको छ । नगरपालिका क्षेत्रमा पर्ने बुढी खोलादेखि खोर्सानेसम्मको सडक खण्डका ७५ थान रूख वन कार्यालय र सडक डिभिजनको अनुमतिविनै कटान गरेर बिक्री गरिएको छ । नगर प्रमुख शिवप्रसाद ढकालको निर्देशनमा रूख कटान गरी बिक्री गरिएको बताइएको छ ।

सडकका रूख कटान गर्नुपर्ने अवस्थामा डिभिजन सडक कार्यालयले विभागमा जानकारी पठाउने र विभागले स्वीकृति प्रदान गरेपछि डिभिजन वन कार्यालयले छपान गर्नुपर्ने हुन्छ । छपान गरिसकेका रूख कटान गरेर बिक्री गरी राजश्व बाँध्नुपर्ने प्राब्धान छ तर नगरपालिकाले रातारात रूख काटेर बिक्री गरेको छ । प्रदेश १ सरकारको सडक सुशासन कार्यक्रमअन्तर्गत सडक विस्तार गर्नका लागि भन्दै नगरपालिकाले प्रक्रिया नै पूरा नगरी जजरजस्ती रूख कटान गरेको हो ।

सडक वरिपरिका वर, पीपल, सिसौ, कदमलगायतका प्रजातिका रूख काटिएको छ । नगरपालिकाले सरोकारवाला निकायसँगको छलफलपछि रूख कटान गरेको बताउँदै आएको छ । तर सडक छेउको रूख कति काट्नु पर्ने हुन्छ त्यसको तथ्यांक संकलन गरेर सडक डिभिजन कार्यालय विराटनगरमा जानकारी गराउनुपर्ने छलफल भएको थियो ।

सडक सुशासनका बारेमा यसअघि भएको छलफलमा प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व, सेक्टर वन कार्यालय सलकपुरका सहायक वन अधिकृत लालबहादुर माझी र सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख शुभराज न्यौपानेको पनि उपस्थिति थियो ।

तर उक्त छलफलले काट्नुपर्ने रूखको संख्या यकिन गरेर सडक डिभिजनलाई जानकारी दिने निर्णय गरेकामा त्यसविपरीत काम भएको सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख न्यौपानेले बताउनुभयो ।

नियम पूरा नगरी रूख कटान भइरहेको जानकारी पाएपछि नगरपालिकालाई सडकले रूख कटान रोक्न पत्राचार गरेको थियो तर नगरपालिकाले अटेर गरेको बताइएको छ । नियमविपरीत काम भएपछि रूख काट्नेलाई कानुनी कारबाहीमा ल्याउन र काठ बरामदका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा सडक डिभिजनले पनि पत्राचार गरेको छ ।

सडकको पत्रपछि प्रशासनले रूख कटानको विषयमा डिभिजन वन कार्यालय मोरङ र जिल्ला प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको छ । नगरपालिका क्षेत्रभित्र पूर्वपश्चिम राजमार्गलाई साढे ८५ फिट कायम गर्न रूख कटान गरिएको हो ।
सडक डिभिजन कार्यालयको अनुमती नै नलिई राजमार्गको रुख कटान गरी बिक्री गरिएको भन्दै सुन्दरहरैचाका स्थानीयले सो कार्यको विरोध गरेका छन् ।

सुन्दरहरैंचा नगरपालिकास्थित विराटचोकदेखि गोठगाउँ चोकसम्मको सडक छेउका रूख कटान गरिएपछि नियमविपरित अनुमति नै नलिई रुख काटिएको विषय बाहिर आएको हो । रूख कटान गरेर काठ बिक्री गरेपछि विवाद झन् बढेको छ । प्रदेश १ सरकारको सडक सुशासन कार्यक्रम अन्तर्गत सडक विस्तार गर्नका लागि सुन्दरहरैंचा नगरपालिकाले प्रक्रिया नै पूरा नगरी जवरजस्ती रूख कटान गरेको सरोकारवालाहरु बताउँछन ।

सडक आसपासमा रहेका ७५ बढी रूख कटान गरेर काठ समेत लगिसकेको स्थानीयको भनाइ छ । विराटचोक पश्चिम, सलकपुर चोक र गोठगाउँ चोकस्थित सडक वरिपरिको बर, पिपल, सिसौ, कदम लगायतका प्रजातिको रूख काटिएका हुन् ।
सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख शुभराज न्यौपानेले सुन्दरहरैंचा नगरपालिकाले आयोजना गरेको छलफलमा आफू पनि सहभागी भएको स्विकारेका छन । उनका अनुसार छलफलमा काट्नुपर्ने रूखको संख्या यकिन गरेर सडक डिभिजनलाई जानकारी दिनुपर्ने सहमति भएको थियो ।

नगरपालिकाले छलफलकै आधारमा रूख कटान गरेर सडक विस्तारको काम सुरु गरेपछि समस्या भएको उनी बताउँछन् । सडकको रूख कटान गर्नुअघि वन कार्यालयले छपान गर्नुपर्ने र त्यसपछि काटेर पुन मूल्यांकन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । माघ १० गते रूख कटान भइरहेको जानकारी पाएपछि सुन्दरहरैंचा नगरलाई रूख कटान रोक्न पत्राचार गरेको समेत न्यौपानेले बताए । त्यसपछि कटान भएको रूखको काठ घाटगद्दी गर्न पहल गरेको तर त्यो हालसम्म हुन सकेको छैन । रूख कटानपछि बिक्री गरिसकेको स्थानीय बताउँछन ।

न्यौपानेले कटान भएको रूखको काठ घाटगद्दी गरेर बिक्री गरी सरकारको राजस्व खातामा जम्मा गर्नुपर्ने बताए । उनले रूख काट्नेलाई कानुनी कारबाहीमा ल्याउन र काठ बरामदका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा पत्राचार गरेको बताए । प्रमुख जिल्ला अधिकारी केसीले रूख कटानको विषयमा डिभिजन वन कार्यालय मोरङ र जिल्ला प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको बताउनुभयो ।

सबै सरोकारवाला निकायकै मिलेमतोमा रूख कटान भएको तर स्थानीयले विरोध गरेपछि विवाद बढेको हो । सुन्दरहैंचा नगर प्रमुख शिवप्रसाद ढकालले प्रदेश सरकारको सडक सुशासन कार्यक्रम अन्तर्गत आफ्नो नगरपालिका क्षेत्रभित्र पूर्व–पश्चिम राजमार्गलाई साढे ८५ फिट कायम गर्ने रूख कटान भएको बताए ।

उनले वडा कार्यालयहरूले उपभोक्ता समिति बनाएर सडक विस्तारको काम अघि बढाएको र त्यसै क्रममा रूख कटान भएको जानकारी पाएको बताएका छन् ।

अख्तियारले वन कार्यालय सलकपुरका सहायक वन अधिकृत माझीलाई छानबिनका लागि पत्राचार गरेको छ । पत्रमा कति परिमाणको रूख कटान गरिएको र त्यसमा वन कार्यालयको स्वीकृति आवश्यक भए नभएको छानविन गरी आवश्यक कागजातसहितको प्रतिवेदन तीन दिनभित्र बुझाउन निर्देशन दिइएको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार १७:३९

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३