Breaking News

विराटनगर, २० माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश संसदको प्रदेश–१ संसदको हिउँदे अधिवेशनको मुख्य मुद्दा प्रदेशको स्थायी राजधानी र नामाकरण हुने बताउनु भएको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा आज विहान पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै राईले यस अधिवेशनबाट जुनसुकै हालतमा पनि राजधानी र नामाकरणको विषय टुँगो लगाइने जानकारी दिनुभयो । ‘यो हिउँदे अधिवेशनले जसरी भए पनि नाम र राजधानीको विषय टुँगो लगाउँछ । भरिसक सहमतिको प्रयास हुनेछ,’ उहाँले भन्नुभयोे, ‘सहमति नभए प्रक्रियामा गएर भए पनि टुँग्याइने छ । नाम र राजधानीको अन्तिम टुँगो लगाउने अधिकार प्रदेशसभालाई हुन्छ ।’

राईले प्रदेश १ को राजधानी विराटनगर र नाम कोसी हुने कुरामा शीर्ष नेताहरुबीच सहमति भइसकेको प्रसंग आफूलाई जानकारी नभएको बताउनुभयो । यसका लागि राजनीतिक दललाई प्रस्ताव ल्याउने गरी काम थाल्न सरकारले समेत तयारी गरेको बताइएको छ ।

उहाँले यही अधिवेशनमा विचाराधिन अवस्थाका छ वटा विधेयकमा पनि छलफल हुने जानकारी दिनुभयो । ‘दुईवटा विधेयक यस अघि नै संसदमा दर्ता भएर छलफलको प्रक्रियामा गइसकेका छन्,’ उहाँले भन्नुभयोे, ‘चारवटा छलफलका लागि संसदमा दर्ता भएका छन् ।’ उहाँले विजनेसका रुपमा रहेका विधेयक संसदबाट पारित हुने जानकारी पनि दिनुभयो । संसद सचिवालयमा दर्तामा रहेका, विषयगत समितिमा

छलफलमा गएका र नयाँ दर्ता हुनेसमेत विधेयमाथि छलफल भई पारित हुने मुख्यमन्त्री राईको भनाइ छ ।
उहाँले संसदका विभिन्न समितिका सभापतिहरु टुँगो लगाउन बाँकी रहेको भन्दै यस अधिवेशनले समितिका सभापति पनि टुँगो लगाउने जानकारी दिनुभयो । राईले भन्नुभयोे, ‘हिउँदे अधिवेशनबाट स्थानीय राजधानी, नाम तथा संसदबाट पारित हुने विधेयक र समिति सभापतिको विषय टुँगो लगाइने छ ।’

उहाँले प्रदेशको समृद्धि र विकासमा केन्द्रीत हुन सबैलाई आग्रह पनि गर्नुभयोे । राष्ट्रिय राजनीतिमा दलहरुबीचमा केही समस्या देखिए पनि प्रदेशमा यो समस्या नहोस भनेर सबै दलहरुबीचमा छलफल गर्दै उच्चस्तरिय सहमति गरेर अघि बढिने मुख्य मन्त्री राईको भनाइ छ । उनले सबै दलहरुलाई समझदारीमा आउन पनि आग्रह गर्नुभयोे ।

‘संसदमा प्रस्तुत हुने कुनै पनि विषयलाई छरपस्ट बनाउँदै असामान्य ढंगबाट लगिने छैन,’ उनले भने, ‘सबै दलहरुबीचमा सहमति र समझदारी गरेर नै अगाडि बढिने भएका कारण अन्य दलले पनि जिम्मेवार भएरै प्रस्तुत हुन आवश्यक छ ।’ कुनै कुरालाई असामान्य हिसावले प्रस्तुत गर्दा त्यसले सिंगो प्रदेशको विकास र समृद्धिमा बाध पुग्ने उनको ठम्याई छ ।

राईले सबै दलको चाहना प्रदेशको समृद्धि र विकास नै भएका कारण त्यही हिसावले सबैले सहयोग गर्नु पर्ने बताउनुभयो । उहाँले बजेट कार्यान्वयको चरणमा प्रदेश अघि बढिसकेको जानकारी दिंदै संघीय सरकारबाट हस्तान्तरण हुने संरचना र बजेटको अख्तियारी पठाउन ढिलाई हुँदा भने काममा केही बाधा परिरहेको बताउनुभयो ।

राईले प्रदेश सरकारले कृषिलाई प्राथमिकता दिएको बताउँदै कृषिलाई आधुनिकीकरण गरेर सिंगो प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने खालका योजना ल्याइने जानकारी दिनुभयो । उहाँले कृषि, वन, वातावरण र पर्यावरणको विकासका लागि माघ २६ गतेबाट नयाँ र महत्वपूर्ण अभियान सुरु गरिने बताउनुभयो ।

मुख्यमन्त्री राईले आगामी फागुन ३ गते पत्रकार सम्मेलनको आयोजना गरेर सरकारले एक वर्ष भरीमा गरेर कारवाही र हाँसिल गरेका उपलब्धीका बारेमा जानकारी दिने पनि बताउनुभयो ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३