प्रकाशित : १८ माघ २०७५, शुक्रबार ०७:१०


विराटनगर, १८ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा विराटनगरबाट विहिबार साँझ गोलीसहित पक्राउ परेका छन् ।
कालिकोट घर भएका २७ वर्षीय नरेन्द्र विश्वकर्मालाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका नरेन्द्रको साथबाट नाईन एमएम पेस्तोलमा लोड हुने तीनवटा गोली बरामद भएको स्रोतले बतायो ।
उनी यति एयरलायन्सको जहाजबाट साँझ ५ः५५ को फ्लाइटमा विराटनगर विमानस्थल हुँदै काठमाडौं जाने तयारीमा थिए ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले विमानस्थलमा सुरक्षा चेकजाँचका क्रममा गोली फेला परेपछि नरेन्द्रलाई पक्राउ गरिएको बताउनु भयो । उहाँले अनुसन्धानकै क्रममा रहेका कारण धेरै कुरा खुलाउन नमिल्ने बताउनु भयो ।