प्रकाशित : १५ माघ २०७५, मंगलवार ०६:४६

विराटनगर, १५ माघ । मोरङको सुन्दरहरैंचा –९ सिसौघारीमा ११ वर्षीय बालिका लक्ष्मी ढकालको टिपरको ठक्करबाट मृत्यु भएपछि तनावग्रस्त बनेको त्यहाँको अवस्था हिजो साँझबाट सामान्य बनेको छ ।

विहान सवा११ बजे जारी गरिएको निषेधाज्ञ राती ८ बजेबाट हटाइएको छ । घटनापछि आक्रोसित बनेका स्थानीयले सडकमै शव राखेर दिनभर प्रदर्शन गरेका थिए ।

दुर्घटना गराउने चालकलाई कडा भन्दा कडा कारवाहीको र उक्त सडकमा टिपर चल्न प्रतिबन्ध लगाइनु पर्ने माग राख्दै आन्दोलित बनेका स्थानीयले सडकमा गुडिरहेका अन्य टिपरमा पनि आगजनी गरेपछि दिनभर त्यहाँको वातावरण असान्त बनेको थियो । दुर्घटनापछि दिनभर विराटनगर– विराटचौक सडकखण्ड स्थानीय बासिन्दाले दिनभर अवरुद्ध बनाए ।

यस अघि पनि विभिन्न समयमा ट्रिपरले ज्यादती गरेको भन्दै साँघुरो बाटोमा टिपरलाई प्रतिबन्ध लगाइनु पर्ने माग स्थानीयले राख्दै आएका थिए । तर, प्रशासनले कुनै सुनुवाई नगरेको भन्दै स्थानीय प्रहरी प्रशासन विरुद्ध रुष्ट बनेका थिए । विराटचौकको मुख्य सडकमासमेत प्रदर्शन गर्दै पूर्वपश्चिम राजमार्ग समेत केही बेर अवरुद्ध पारिएको थियो ।

साँझ सुन्दरहरैँचा नगरपालिकाको कार्यालयमा सर्वपक्षिय बैठक बसेर सहमति भएपछि स्थिती सामान्य बनेको कोसीहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज चापागाईले बताउनु भयो । बैठकपछि दुर्घटना भएको सडकमा टिपर चलाउन प्रतिबन्ध लगाइएको छ ।

नागरिक समाज, पीडित पक्ष, स्थानीय जनप्रतिनिधि र प्रशासनबीच संयुक्त बैठक भएको थियो । बैठकले टिपर चलाउन रोक लगाएको हो । बैठकमा बालिकाको शवलाई सामूहिक श्रदान्जली दिने, चालकलाई हदै सम्मको कारवाही गर्ने, मृतक पक्षलाई क्षतिपूर्ति दिने लगायतका सहमति भएको जानकारी चापागाईले दिनु भयो ।

स्थानीय स्तरमा भएको सर्वपक्षिय छलफलपछि सहमति जुटेका कारण बालिकाका आफन्त शव बुझ्न राजी भएका छन् । शवलाई पोष्टमार्टमका लागि मोरङकै उर्लाबारीस्थित मंगलबारे अस्पतालमा लगिएको छ । तीव्र गतिमा रहेकोको ना ३ ख ३३५५ नम्बरको टिपरले हिजो विहान ८ः४५ बजे बाटो काट्दै गरेकी बालिकालाई ठक्कर दिएर घाइते बनाएको थियो ।

टिपर व्याक गरेर बालिकालाई मारेको दावी गर्दै स्थानीय बासिन्दा टिपर विरुद्ध आन्दोलित बनेका थिए । दुर्घटनापछि स्थानीय बासिन्दाले सडकमा गुडिरहेका टिपरमा पनि आगजनी गरेका थिए । स्थानीयले को १ ख ५५८४, को १ ख ५८३३, को १ ख ५४०७, को १ ख ६५६३ र ना ३ ख ४५८७ तथा एउटा अनटेष्ट लेखेको टिपर जलाइदिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिनु भयो । निषेधाज्ञा जारी गरे पनि स्थानीयले अवज्ञा गरेर शव बुझ्न अस्वीकार गर्दै दिनभर प्रदर्शन, नारावाजी र अगजनीलाई भने जारी राखेका थिए ।

सुन्दरहरैंचा नगरपालिकाको सिसौघारी र बेलेपुरमा प्रदर्शन गरिरहेको एउटा समूहले विराटचौक पुगेर दिउँसो बजार र पसल बन्द गराउँदै पूर्वपश्चिम राजमार्ग अन्तर्गत विराटचौक सडक खण्डमा समेत एम्बुलेन्स बाहेक कुनै पनि यातायतका साधन सञ्चालन हुन दिएन । दुई घण्टाको प्रयासपछि प्रहरीले पूर्वपश्चिम राजमार्ग भने सूचारु गरेको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले सोमबार साँझबाट असामान्य स्थिती सामान्य बनेर गएको जानकारी दिनु भयो । उहाँले स्थिती सामान्य बनेपछि जारी गरिएको निषेधाज्ञा राती ८ बजेबाट हटाइएको बताउनु भयो । प्रदर्शन, आगजनी र तोडफोड रोकिएका कारण तत्कालका लागि निषेधाज्ञा हटाइएको केसीको भनाइ छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३