Breaking News

विराटनगर, १४ माघ । स्थानीय प्रशासनले मोरङको विराटनगर–विराटचौक सडक खण्ड अन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको विराटचौकदेखि बेलेपुरसम्मको लगभग साढे तीन किलोमिटर निषेधाज्ञा जारी गरेको छ ।

टिपरको ठक्करबाट बालिकाको मृत्यु भएको घटनाले उग्ररुप लिएपछि साढे तीन किलोमिटर क्षेत्रलाई लक्षित गरेर निषेधाज्ञा जारी गर्नु परेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिनुभयो ।

उहाँले विराटचौक, सिसौघारी, बेलेपुर र आसपासका क्षेत्रलाई लक्षित गरेर सोमबार विहान सवा ११ बजेबाट निषेधाज्ञा जारी गरिएको हो । यही विषयलाई लिएर जिल्ला सुरक्षा समिति मोरङको आपतकालिन बैठक पनि विराटनगरमा बसेको छ । प्रजिअ केसीले बैठककै निर्णय अनुसार अर्को आदेश नभएसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिनुभयो ।

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बारेमा प्रहरीले माईकिङ गरेर जानकारी गराई रहे पनि आक्रोसित स्थानीय बासिन्दाले सो क्षेत्र छाडन् मानिरहेका छैनन् । उनीहरुले निरन्तर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा टिपर आतंक रोक्नु पर्ने र टिपरलाई स्थानीय प्रशासन र प्रहरीकै मिलेमतोमा संरक्षण गरिएको आरोप लगाइएको छ ।

प्रजिअ केसीले निषेधित क्षेत्रमा कुनै पनि क्रियाकलाप गर्न नपाइने जानकारी दिनुभयो । मोरङको सुन्दरहरैंचा नगरपालिका ९ सिसौघारीमा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको हो । विराटचौकबाट हरैंचातर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिंदा सोमबार विहान सुन्दरहरैंचा ९ की ११ वर्षीया बालिका लक्ष्मी ढकालको मृत्यु भएको थियो । प्रहरीका अनुसार तीव्र गतिमा रहेको टिपरले बाटो काट्दै गरेकी बालिकालाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट विराटचौकले जनाएको छ ।

बालिकालाई ठक्कर दिए लगत्तै आक्रोसित बनेका स्थानीय बासिन्दाले सो टिपरमा आगजनी गरेका छन् । आगजनीबाट टिपरमा पूर्ण रुपमा क्षति पुगेको छ । दुर्घटनापछि आक्रोसित बनेका स्थानीय बासिन्दाबाट छल्लिन भाग्दै गरेको सोही टिपर बेलेपुर चौक नजिकै पुगेर सडक छेउको एउटा रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परे लगत्तै स्थानीयले टिपरमा मट्टीतेल र पेट्रोल छर्किएर आगो लगाएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामप्रसाद राईले जानकारी दिए । दुर्घटनापछि स्थानीय बासिन्दाले सडकमा गुडिरहेका अन्य ६ वटा टिपरमा पनि तोडफोड र आगजनी गरेका छन् ।। अगजनी गरिएका मध्ये को १ ख ५८३३ नम्बरको टिपरको मात्रै नम्बर खुलेको छ । प्रहरीले आगजनी गरिएका टिपरको संख्या बढ्न सक्ने जनाएको छ । आगजनी गरिएका सबै टिपर जलेर पूर्ण रुपमा ध्वस्त भएका छन् । आगजनी गर्ने क्रम नरोकिएपछि र आक्रोसित बनेका स्थानीयको आन्दोलन थप उग्रबनेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

दुर्घटना लगत्तै विराटचौक –विराटनगर सडक खण्डको बेलेपुर र सिसौघारीमा स्थानीय बासिन्दाले नाराजुलुस र प्रदर्शन गरिरहेका छन् । प्रहरीले निषेधाज्ञाको माईकिङ गरे पनि स्थानीय पछि हट्न मानेका छैनन् । सडकमा टायर बालेर गरिएको प्रदर्शनका कारण त्यहाँको स्थिती तनावग्रस्त बनेको छ ।

लापरवाहीका कारण टिपर आतंक बढेको भन्दै स्थानीय बासिन्दाले प्रहरी र प्रशासन विरुद्ध अहिले पनि चर्का नारावाजी गरिरहेका छन् ।घटनास्थलमा पुगेका एक/दुई जना प्रहरीलाई समेत स्थानीय बासिन्दाले लखेटेका थिए ।

विराटनगरमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय बेलबारी, पथरी, उर्लाबारी लगायतका स्थानबाट खटाइएको ठूलो संख्याको प्रहरी टोली समेत लामो समय सम्म घटनास्थलमा पुग्न सकेको थिएन ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठ नेत्रृत्वमा ठूलो संख्यामा प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको भए पनि स्थिती प्रहरीको नियन्त्रण बाहिर रहेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३